फ्रान्स, जर्मनी, ओमन र साउदी अरेबियाका नेपाली राजदूतावासमा ठूलो रकम भवनको भाडामा खर्च भएको फेला परेको छ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गत महिना पाँच वटा देशका दूतावासको अध्ययन भ्रमण गरेको थियो।
‘राजदूत बस्न घर किनिएको पाइयो,’ समितिका एक सदस्यले सेतोपाटीसँग भने, ‘तर, दूतावासका लागि भवन भाडामा लिइएको छ।’
संसदीय टोली युरोपका बेलायत, फ्रान्स र जर्मनी पुगेको थियो भने खाडी मुलुक साउदी अरेबिया र ओमनस्थित नेपाली दूतावासको सम्पत्तिको अवस्थाबारे अध्ययन गरेको थियो।
समितिले अहिले भ्रमण प्रतिवेदन तयार गरिरहेको छ।
‘पश्चिम जर्मनीको बोनमा नेपालको दूतावास भवन र राजदूत बस्ने घर छ,’ टोलीका सदस्यले भने, ‘तर राजधानी बर्लिनमा भाडामा भवन लिइएको छ।’
जर्मनीको पुरानो राजधानी बोन बर्लिनबाट ९ घन्टाको सडक यात्रामा पुगिन्छ।
‘श्रीलंका र इन्डोनेसियाले बोनको आफ्नो घरजग्गा बेचेका छन्,’ समितिका ती सदस्यले भने, ‘हाम्रो दूतावास र राजदूत बस्ने घर पुरानो हुँदै गएको छ।’
बोनमा राजदुत बस्ने चार तल्ले चिटिक्क परेको घरसमेत पुरानो हुँदै गएको ती सदस्यले बताए।
‘जति पूरानो भयो त्यति भाउ घट्ने हुँदा बेचेर बर्लिनमा सम्पत्ति जोड्नु उचित हुन्छ,’ लेखा समिति सदस्यले भने।
समितिले दूतावासको लेखासमेत दुरूस्त नराखिएको भेटेको छ। ‘लेखाका कर्मचारी छैनन्। तालिम दिएर काममा लगाउन सकिन्छ तर हिसाबकिताब बेहाल छ,’ समितिका अर्का एक सदस्यले सेतोपाटीसँग भने।
‘दूतावासका भवन डम्पिङ साइट जस्तो छन्। पूराना सामान र गाडीहरूको व्यवस्थापन भएको छैन,’ लेखा समितिका सदस्यले सेतोपाटीसँग भने, ‘भिसा स्टिकरबाट उठेको राजश्वसमेत पारदर्शी छैन।’
लेखा समितिले ‘भिजिट नेपाल २०२०’ का लागि नेपालबाट गएको बजेटसमेत आफूखुसी खर्च भइरहेको भेटेको छ।
‘कुनै आर्थिक कारोबारको स्टेटमेन्ट भेटिन्न,’ भ्रमणमा गएका एक सदस्यले भने, ‘आफू खुसी कुनै संस्थालाई दिएका छन्।’
लेखा समितिले दूतावासहरूको रिपोर्ट तयार पारेर छलफलका लागि परराष्ट्र र अर्थ मन्त्रालयलाई डाक्ने तयारी गरेको छ।
‘कतिपय दूतावासका कर्मचारीको पारिवारीक सदस्य गए नगएको विवरण समेत छैन,’ समितिले तयार पारेको रिपोर्टमा उल्लेख छ, ‘दूतावासहरूले हिसाबकिताब पारदर्शी राखेका छैनन्।’
समितिले साउदी अरेबियाको गर्मीमा जस्तापाताको टहरामा कामदार राखेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउने भएको छ।
‘५० देखि ५५ जना सेल्टरमा छन्। तर गर्मीमा एसी नभएको कोठामा थुनेर राखिएको छ। भाडामा लिइएको भवन प्रयोग गरिएको छैन,’ समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।
लेखा समितिका सभापति भरतकुमार शाहसहित प्रेम आले, अमनलाल मोदी, चन्दा चौधरी, राजेन्द्रकुमार केसी दूतावास अनुगमनका लागि गएका थिए।