विदेशी लगानीमा सञ्चालित टेलिकम कम्पनी एनसेल, भारतीय लगानीमा बन्न लागेका अरूण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाका कार्यालयमा आक्रमण गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय सरकारी कार्यालयलाई निशाना बनाएको छ।
त्यसमा पनि स्थानीय तहका वडा कार्यालयमा उसले धेरै आगजनी गर्न थालेको छ।
आफ्ना उपत्यका ब्युरो इञ्चार्ज माइला लामालाई पक्राउ गरी थुनामा राखेको विरोधमा विप्लव समूहले बुधबार गरेको बन्दमा पनि विभिन्न स्थानीय तहका वडा कार्यालयमा आगजनी गर्यो।
आगजनीपछि कागजात र फर्निचर जलेर नष्ट भएका छन्। धेरैजसो ठाउँमा बम विस्फोट गरी कार्यालयमा क्षति पुर्याएको छ।
बुधबार बिहानै विप्लव समूहले सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका १० को कार्यालयमा आगजनी गर्यो।
बिहान ४ बजेतिर वडा कार्यालयमा लागेको आगोले फर्निचर र कागजात नष्ट भएको छ।
नुवाकोट ककनी गाउँपालिका १ को कार्यालयमा पनि बम विस्फोट भएपछि फर्निचर र कागजात जलेर नष्ट भएको छ। घटनामा संलग्नको खोजी भइरहेको बताए पनि प्रहरीले आगजनी गर्नेहरूलाई नियन्त्रणमा लिन सकेको छैन।
बुधबार राति १ बजेतिर प्रदेश नम्बर २ स्थित रौतहट चन्द्रपुर नगरपालिका गैंडाटारमा रहेको वडा कार्यालयमा आजगनी भएको थियो। आगजनीबाट कागजात, फर्निचर, प्रिण्टर, कम्प्युटरलगायत सामान नष्ट भएको छ।
वडाध्यक्ष रवि देवकोटाले सेतोपाटीसँग भने, ‘आगजनीबाट कागजात र फर्निचरहरू नष्ट भयो। फर्निचरलगायत सामान त फेरि खरिद गर्न सकिएला तर वडाभित्रका मानिसहरूको कागजातको रेकर्ड कसरी खोज्ने? कम्प्युटरमा भएको डाटा पनि नष्ट भइगो।’
असार २४ गते बर्दियाको गेरुवा गाउँपालिका-६ को वडा कार्यालमा पनि विप्लव समूहले आगजनी गरेको थियो।
गत फागुनमा सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो।
त्यसपछि प्रहरीले विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिँदै आएको छ। एनसेल टावर आगजनीमा संलग्न, जनप्रतिनिधिलाई चन्दा मागेर धम्क्याउने र विप्लवका गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले जिल्ला जिल्लाबाट विप्लव कार्यकर्तालाई नियन्त्रणमा लिने गरेको छ।
प्रहरीले कार्यकर्ता पक्राउ गरेपछि विरोधमा विप्लव समूहले पटकपटक बन्द गर्दै आएको छ। बन्दका दिन यातायात, विद्यालय, क्याम्पसमा प्रभाव पर्छ। विप्लव समूहले पनि बन्द सफल बनाउने नाममा ठाउँ ठाउँमा बम पड्काएर त्रास फैलाउने गरेका छन्।
प्रतिबन्धपछि प्रहरी र विप्लव कार्यकर्ता र सर्वसाधारण गरी दस जनाको मृत्यु भइसकेको छ। काठमाडौंमा बम बनाउँदै गर्दा तीन जना र धनगढीमा बोकेको बम पड्किँदा एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको थियो।
‘प्रहरीसँग दोहोरो मुठभेडमा’ भोजपुरका तीर्थ घिमिरे र सर्लाही ईञ्चार्ज कुमार पौडेलको पनि मृत्यु भएको थियो।
विप्लव समूहले बन्दका दिन सवारी साधनमाथि पनि आगजनी गरेको छ। मकवानपुर फाखेल हुमाने भन्ञ्याङमा कार र मनहरि ज्यामिरे खरङ्गामा ट्रकमा उनीहरूले आगजनी गरेका हुन्। हेटौंडाकै थानाभञ्याङ, हुप्राचौर, चौकीटोलमा राखिएका विस्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको छ।
असार २२ गते पनि विप्लव समूहले अछामका १० वडा कार्यालयमा ताला लगाइदिए। विप्लव कार्यकर्ताले स्थानीय तहका जनप्रतिनिधिसँग चन्दा माग्ने नदिए भ्रष्टाचार गरेको आरोपमा कार्यालयमा ताला लगाउने क्रम बढेको छ।
कञ्चनपुर, डडेल्धुरा र अछामका स्थानीय तह (गाउँ/नगर) का ढोकामा पर्चा टाँसेर नै विप्लव समूहले ताला लगाएको थियो।
जिल्ला प्रशासनको निर्देशनमा ती कार्यालयका ढोकाका ताला खुलाइएको थियो। विप्लव भातृ विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदेश नम्बर ५ र ४ का विभिन्न जिल्लाका निजी विद्यालयमा सञ्चालकको फोटोसहित ब्यानर टाँस्ने गरेको छ।