सुर्खेतको सिम्ता गाउँपालिकाले असार २६ गते छेडा बजारमा ‘सिम्ता गाउँपालिकामा यहाँलाई स्वागत छ’ भन्ने बोर्ड राख्यो।
तर २७ गते सिम्ताको सिमानामा रहेको जाजरकोटको शिवालय गाउँपालिकाले फालिदियो। त्यही झाेंकमा भोलिपल्ट सिम्ता गाउँपालिकाले शिवालय गाउँपालिकाले पहिले नै राखेको सोही प्रकृतिको बोर्ड फालिदियो।
सिम्ता गाउँपालिकाले छेडा बजारदेखि करिब ६०० मिटर जाजरकोटतर्फको छेडा खोलानजिक बोर्ड राखेको थियो। उसले उक्त ठाउँसम्म आफ्नो सिमाना रहेको दावी गर्दै आएको छ। शिवालय गाउँपालिकाले बजार छेउमा सुर्खेततर्फको भागमा पहिले नै बोर्ड राखेको थियो। उसले त्यहाँसम्म आफ्नो सिमाना भनेर दावी गरिरहेको छ।
यी दुई गाउँपालिकाबीच यो नयाँ विवाद भने होइन, वर्षौंदेखि चलिरहेको छ। स्थानीय तह हुनुअघि साविकको सुर्खेत घोरेटा र जाजरकोटको सिमा गाविसको बीचमा अहिलेको विवादित क्षेत्र पर्छ।
पहिलेदेखि नै दुवै पक्षले ‘छेडा’ आ–आफ्नो जग्गा भएको दावी गर्ने गरेको ठाउँमा ‘स्वागत बोर्ड’का कारण पुरानै विवाद बल्झिएको छ। उक्त ठाउँ शिवालय र सिम्ता गाउँपालिका दुवैका १ नम्बर वडा हो।
शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले विवादित उक्त जग्गा जाजरकोटको भएको दावी गरेका छन्। ‘जग्गा हाम्रै हो, त्यो सिमाना पनि हाम्रो हो,’ अध्यक्ष शाहीले भने, ‘अहिलेसम्म जाजरकोटकै भएको ठाउँ सामान्य कारणले विवादमा आएको छ।’
सीमाभन्दा पाँच/सात सय मिटर अगाडि नै बोर्ड राखेपछि आफूहरुले फालेको उनले बताए। उनले भने, ‘हामीले आफ्नै सिमानामा प्रहरी बीटनजिक बोर्ड राखेका थियौं, भोलिपल्ट त्यही बोर्ड उताको टोलीले फालिदिएको छ, यो कुनै ठूलो विवाद होइन।’
सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले पनि उक्त ठाउँ सुर्खेतमा पर्ने दावी गरिरहेका छन्। ‘त्यहाँ जग्गा भएका मानिस तिरो तिर्न सुर्खेतको मालपोत कार्यालयमा आउँछन्’ केसीले भने।
शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनिराम शर्माले यो विषय साउनको अन्तिममा छलफल गरिने बताएका छन्। त्यहाँ बस्दै आएका बुढापाकाहरुले जाजरकोटकै क्षेत्र भएको बताउने गरेको उनले बताए। शर्माले भने, ‘बुढापाकालाई सोध्ने हो भने उहिले नै जाजरकोटको जग्गा भएको फैसला भएको छ भन्छन्, तर हामी यो विषयमा प्रमाण हेर्दै छौँ’
शिवालय र सिम्ता गाउँपालिकाको बीचमा पर्ने खनेटामा पनि जग्गाको विवाद छ। खनेटा शिवालयको वडा नम्बर २ मा पर्छ भने सिम्ताको १ नम्बर वडा पर्छ। शिवालयका प्रशासकीय अधिकृत शर्माले उक्त क्षेत्रका बारेमा पनि छलफल गरिने बताएका छन्।
‘एउटै कित्ताको जग्गा आधा सुर्खेततिर, आधा जाजरकोटतिर हुन्छ, अहिलेसम्म मानिसहरु मिलेरै बसेका छन्, उचालेपछि विवाद हुने हो, खनेटामा यस्तै भएको छ’ उनले भने।