नेपाली कांग्रेसको १३ औं महाधिवेशन आउन पाँच महिना बाँकी थियो।
तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्रीको कुर्चीबाट ओर्लिएको धेरै दिन भएको थिएन।
२०७२ असोज अन्त्यतिर कोइराला निवास महाराजगञ्जमा गुटको बैठक बस्यो।
बैठकमा कोइराला गुटबाट सभापति को हुने विषयमा छलफल चल्यो।
नेता रामचन्द्र पौडेलले भने- सुशीलजी, तपाईं प्रधानमन्त्री हुनु हुँदैन। प्रधानमन्त्री हुनुभयो, संविधान बनाउनुभयो। अस्ति फेरि प्रधानमन्त्री हुन खोज्दा बदनामी भयो। अब म सभापति उठ्छु, मलाई सहयोग गर्नुस्।
पौडेलजस्तै अरू नेताहरूले पनि उक्त बैठकमा आ-आफ्ना दाबी पेस गरे।
कोइरालाले मनोनित गरेका महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा दाबी गरे- रामचन्द्रजीहरूले हुँदैन सुशील दा, तपाईंको स्वास्थ्य ठीक छैन, मलाई समर्थन गर्नुस्।
निर्वाचित महामन्त्री प्रकाशमान सिंहले पनि आफ्नो दाबी छोड्ने कुरै भएन।
उनले भने, ‘ सुशील दा लड्न हुन्न मैले भन्दिनँ। तर अब तपाईंको आशिर्वादमा म र शशांकको टिम बनाउनु पर्छ। त्यो सबैभन्दा राम्रो हुन्छ।’
सबैका कुरा सुनेपछि सभापति कोइरालाले भने, ‘ तपाईंहरूको कुरा मैले सुनें। अब जिल्ला अधिवेशनमा जानुहोस्। सकेसम्म हाम्रा धेरै साथिलाई जिताएर आउनुस्। तपाईंहरू फर्केपछि हामी फेरि बसेर टिम बनाउँला।’
सहमतिअनुसारै सबै जना जिल्ला गए।
जिल्लाको अधिवेशन सकेर नेताहरू काठमाडौं फर्किने दिन सभापति सुशील कोइरालाको निधन भयो।
सुशील बितेपछि कांग्रेसभित्रको बलियो कोइराला गुट मियोविहीन बन्यो। गुट छरियो।
नेपाली कांग्रेसमा त्यतिबेलासम्म दुई गुट थिए। शेरबहादुर देउवाको गुट र कोइराला परिवारको गुट।
कोइरालाको निधनपछिको महाधिवेशनमा ३ गुट भए।
देउवा, पौडेल र सिटौला आ-आफ्ना गुट बनाएर महाधिवेशनमा होमिए।
त्यो महाधिवेशनमा देउवाले सभापति जिते। प्रतिस्पर्धी गुटबाट शशांक कोइराला महामन्त्री बने।
सुशील बाँचुन्जेल शेखरलाई अघि सारेका पौडेलले उनलाई छाडेर शशांकलाई महामन्त्रीमा उठाएका थिए। शशांकले नछाड्ने भएपछि शेखरले नै चुपचाप उनलाई छाडिदिएका थिए।
उत्तराधिकारी नछानी कोइरालाको बितेपछि सो गुटमा एकछत्र नेता कोही बन्न सकेको छैन। नेतृत्व लिने होड भने तीव्र छ।
अहिले कांग्रेसमा १४ महाधिवेशनको चर्चा छ। सभापति देउवाको कार्याकाल आउने फागुनमा सकिँदैछ। त्यसपछि हुने महाधिवेशनसम्ममा यो गुटको नेतृत्व कसको हातमा जाने टुंगो लाग्नेछ।
अर्को गुटबाट सभापति देउवाले यसपालि पनि चुनाव लड्ने मनस्थिति बनाएका छन्। कुनै समय देउवाबाट नेविसंघ अध्यक्षको उत्तराधिकार लिएका कांग्रेस नेता विमलेन्द्र निधिको पनि देउवाबाट नेतृत्व लिने चाहना छ। तर उनले देउवासँग प्रतिस्पर्धा गर्न भने चाहेका छैनन्। त्यो गुटभित्र अरू कसैले पनि उनलाई चुनौती दिने आँट गरेका छैनन्।
अर्को गुटमा पनि बरिष्ठ नेता पौडेल फेरि सभापति लड्न चाहन्छन्। तर उनलाई यसपालि सभापतिको उम्मेद्वार मान्न गुटमा कोही पनि तयार छैन।
यो गुटमा अहिले ४ जना सभापतिको आकांक्षी छन्- पौडेलसँगै प्रकाशमान सिंह र कोइराला दाजुभाइ।
पौडेल र सिंहले दुबैले मुख खोलेर आफू सभापतिमा उठ्ने सार्वजनिक घोषणा गरेका छैनन्।
शशांक र शेखरले भने सार्वजनिक रूपमै सभापतिका दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेका छन्।
कांग्रेस राजनीतिमा कोइराला परिवारको ठूलो योगदान र स्थान छ। कार्यकर्ताले पनि उनीहरूले कस्तो कदम चाल्छन् भनेर चासोका साथ हेरिरहेका हुन्छन्। देउवाइतर गुटबाट यसपालि सभापतिमा दुई दाजुभाइमध्ये एकजना उम्मेदवार बन्ने पक्का जस्तै छ।
आमकार्यकर्ताको अहिलेको चासो अन्तत: दुई जनामध्ये कसले छाड्छन्, को रहन्छ भन्ने हो।
शेखरले केही दिनअघि सेतोपाटीको कुराकानीमै आफूले सभापति नछाड्ने जनाउ दिए। उनले आफ्नो पेटमा कांग्रेस ‘चलाउने आगो’ भएको बताएका थिए।
पछिल्लो समय शशांक भने चुप छन्। तर दाइलाई सजिलै छाड्ने पक्षमा उनी पनि छैनन्।
अघिल्लो महाधिवेशनमा महामन्त्री जितेका उनी अहिले सभापतिको स्वभाविक दाबेदार भएको उनीनिकट एक नेताले बताए।
शशांकले आमकार्यकर्ता माझ उभिएर सभापतिमा भोट मागे भने उनलाई कसैले रोक्न नसक्ने जिकिर उनले गरे।
‘शशांक बीपीका छोरा हुन्। कांग्रेस राजनीतिमा त्यसले ठूलो प्रभाव र महत्व राख्छ। अहिले शशांक केही बोलेका छैनन्। तर उभिएर म यसकारण सभापति हुन्छु र यसरी पार्टी हाँक्छु मात्र भन्ने हो भने उनलाई कसैले रोक्न पनि सक्दैनन्। शेखरले पनि सक्दैनन्,’ उनले भने।
शशांकको सबैभन्दा ठूलो कमजोरी नै भन्न नसक्ने, बोल्न नसक्ने हो। उनले आफ्ना विचार कहिले पनि कहीँ पनि प्रष्टसँग राख्न सकेका छैनन्।
महामन्त्री छन् तर पार्टीमा राम्रो प्रभाव पार्ने गरी कहिल्यै बोलेका छैनन्। लगातार तीन पटक सांसद निर्वाचित छन्, संसदमा बिरलै बोल्छन्।
विचार वा बोली उनको बलियो पक्ष होइन।
दाजुभाइ सभापति उठ्ने प्रतिवद्ध भएपछि अन्तत: शेखर र शशांकलाई क-कसले साथ दिनेछन् भन्नेमा भर पर्नेछ।
देउवाइतर गुटमा अघिल्लो पुस्ताका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्य, बलबहादुर केसीलगायत नेताहरू अन्तत: कसको पक्षमा उभिन्छन् भन्नेले पनि शेखर र शशांकको भाग्य निर्धारण गर्न भूमिका खेल्नेछ।
त्यस्तै, युवा पुस्ताका चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरे, धनराज गुरूङलगायतको भूमिका पनि यसपालि कम हुने छैन।
तेह्रौं महाधिवेशनमै युवाहरूको ठूलो पंक्ति कांग्रेस महाधिवेशन प्रतिनिधि बनेर आएको थियो। थापाले त महामन्त्रीमा उठेर आफ्नै ससुरा अर्जुन नरसिंह केसी र शशांकविरूद्ध झन्डै ६०० सय मत ल्याएका थिए।
यसपालिको महाधिवेशनमा युवाहरूको प्रतिनिधित्व झनै बढ्नेवाला छ। त्यसैले पनि सभापति छान्न युवा नेताहरूको मत महत्वपूर्ण हुनेछ।
यीमध्ये धेरै युवा नेताहरूको रूझान शेखरतिर देखिन्छ। उनीहरू शेखरसँग धेरै आमसभामा सँगै सम्बोधन गर्न देशका विभिन्न
जिल्ला गएका छन्, जबकी शशांकसँग उनीहरूको त्यो तहको हिमिचिम देखिन्न।
सेतोपाटीसँगको पछिल्लो अन्तर्वार्तामा पनि शेखरले नामै लिएर गगन, प्रदीप, चन्द्र भण्डारी, गुरू घिमिरेजस्ता युवाहरूलाई साथ लिएर अघि बढ्ने बताएका छन्।
यी युवासँगै अघिल्लो पुस्ताका सिटौला र केसी पनि शशांकभन्दा शेखरसँगै बढी नजिक देखिन्छन्।
सिटौला गुटगत हिसाबले पनि शेखरसँग नजिक छन्। उनलाई अघिल्लो महाधिवेशनमा साथ दिएका थापा र पौडेलको रूझान नै शेखरतिर भएपछि उनलाई शंशाकतिर जान सजिलो हुन्न। व्यक्तिगत रूपमा पनि उनी शशांकभन्दा शेखरसँगै नजिक छन्।
केसीले त सिटौला र शेखरलाई सँगै उभ्याउन भूमिका नै खेलेका छन्। कति पटक आफूसहित तीन जनाको भेटको तारतम्य मिलाएका छन्।
प्रकाशमानले अझै पनि बीपीको परिवारबाट धेरै पटक सभापति भैसकेकाले अब गणेशमान सिंहको परिवारबाट हुनुपर्ने दाबी छोडेका छैनन्।
व्यक्तिगत रूपमा उनी शेखरसँग नजिक छैनन्। तर शशांकसँग भने टाढा छन्। पछिल्लो पटक कांग्रेस संसदीय दलको निर्वाचनमा सिंह देउवाविरूद्ध उठेका थिए। आफ्नै गुटमा भएर पनि शशांकले भोट नदिएपछि सिंह उनीसँग रूष्ट छन्।
शशांकसँग को-को छन् भन्ने अझै प्रष्ट छैन। नेता मिनेन्द्र रिजाल, केही समयअघि कांग्रेस प्रवेश गरेका उद्योगपति विनोद चौधरी, दाङका नेता दीपक गिरी शशांक नजिक रहेको एक नेताले बताए।
उनका अनुसार, देउवानजिक रहेका युवा नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई शशांकले आफ्नो टिममा लिन खोजेका छन्।
शेखरले पनि अहिलेसम्म औपचारिक रूपमा टिम निर्माण गरिसकेका छैनन्। अघिल्को पुस्ता वा युवा पुस्ताकै नेताहरू खुल्लमखुल्ला उनको समूहमा देखिएका छैनन्।
देउवाइतर पक्षको सहमति महाधिवेशनको नजिक पुगेर मात्रै आफ्नो गुटको नेतृत्व छान्ने भन्ने छ।
शशांक र शेखरबीचको छनौटमा यो गुटको अघिल्लो र युवा पुस्तासँगै अर्को ‘फ्याक्टर'ले पनि काम गर्नेछ- कोइराला परिवार।
यो परिवारमा अहिले मुख्यत: बीपी, गिरिजाप्रसाद र नोना कोइरालाका सन्तानको बोलीले अर्थ राख्छ।
शशांक र शेखर आफैं प्रतिस्पर्धी छन्। त्यसैले सुजाताले कसको पक्षमा मत दिन्छन् त्यसले माने राख्छ।
सुजाताको मत दुई दाजुभाइले मान्छन् वा आफ्नो प्रतिस्पर्धालाई महाधिवेशनसम्मै लैजान्छन् एकिन छैन।