राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले यही साउन ८ गते संसदमा यस्तो विषय उठाए, जुन विरलै उठ्ने गर्छ। उनी काठमाडौंका सडकमा पैदलयात्रुले झेल्ने समस्याबारे बोल्दै थिए।
संसदमा सडक बेथितिको कुरा उठाउँदै उनले आफ्नो हाउभाउका साथ भने, 'पैदलयात्रु हिँड्ने पेटी ६-७ इन्चको सानो छ। कसरी हिँड्ने त्यहाँ? त्यसमा पनि पसलले भर्याङ राखिदिन्छ। सिँढी हालिदिन्छ। दोकानका सामान प्रदर्शनीमा राखिदिन्छ। अनि खर्लक्क ओर्लन्छ विचरो बटुवा बाटोमा, कालो सिसा हालेको गाडीले ड्याम्म हानेर सिध्याइदिन्छ।'
लामो समयदेखि झेल्दै आएको पैदलयात्रुको समस्यालाई संसदमा उठाइदिएकोमा त्यस दिन उनलाई धेरैले धन्यवाद दिए।
राष्ट्रिय सभाका यी सांसद पछिल्लो समय संसदमा उठाएका विषयवस्तुकै कारण चर्चामा छन्। ठूल्ठूलो स्वरमा चिच्याउँदै बोल्ने, झर्रा शब्द प्रयोग गर्ने र हाउभाउसहित प्रस्तुत हुने उनको शैली अन्य सांसदको भन्दा फरक पनि छ। सत्तापक्षका सांसदहरू सामान्यतया सरकारको आलोचना गर्दैनन्। केही बोल्नै परे नरम भाषा प्रयोग गर्छन्। कतिपय अवस्थामा त सरकारका कामको बचाउसमेत गर्छन्। बिडारी भने सत्तापक्षका यस्ता सांसद हुन्, जो हरेक परिस्थितिमा सरकारमाथि नै व्यंग्य, कटाक्ष र प्रश्न गरिरहन्छन्।
बजेटअघि उनले दिएको भाषण लोकप्रिय भएको थियो। धेरै सांसदहरू आफ्नो नाममा बजेट माग गर्दै कराइरहेका बेला बिडारीले 'सांसदलाई बजेट दिन नहुने' भन्दै तीव्र 'लबिङ' गरे। उनको लबिङ सफल भने भएन।
गम्भीर विषयवस्तु उठान र रोचक प्रस्तुतिलाई लिएर चर्चामा रहेका यी सांसदसँग हामीले यसैबारे कुराकारी गर्यौं।
'सांसदलाई पैसा दिन बन्द गर्नुपर्यो। कानुन बनाउने, संघीयतामा छलफल गर्नुपर्ने सांसदलाई पैसा दिएर के गर्नु?' बिडारीले सेतोपाटीसँग भने, 'मैले संसदमा यसो भन्दा कसैसँग कुरै मिलेन। अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल)सँगै मिलेन। प्रचण्डले पैसा दिनुपर्छ भन्नुभयो। उहाँले भनेपछि म त हार्ने नै भएँ। तर मलाई उहाँले तर्कले जित्नुभएन, शक्तिले जित्नुभयो। किनभने उहाँ 'बिडारीले भनेको नमान्नू' भनेर अरूलाई भन्न सक्नुहुन्छ।'
उनले संसदमा उठाउने प्रश्न कहिलेकाहीँ सरकारका लागि धेरै नै कठोर भइदिन्छन्। गत फागुन ३० को बैठकमा त्यस्तै भयो।
उनलाई त्यस दिन दस मिनेट बोल्ने समय दिइएको थियो। आफ्नो पालो आएपछि बिडारी जुरुक्क उठे र बोल्न थाले, 'अध्यक्ष महोदय, यदि यो कुरा हामीले भनेनौं भने हामीलाई जनताले बेवकुफ भन्नेछन्।'
त्यसपछि उनले सिलसिलेवार केही प्रश्न राखे- 'आज सडकमा मोटर किन चलेन? प्राय: पसल किन बन्द भए? नानीहरू घरमा खेलेर बसे, किन विद्यालय गएनन्? सारा कर्मचारी दौडिँदै हस्याङफस्याङ गर्दै हिँडेर आइरहेका रहेछन्, के भएको हो?'
उनी यतिमा रोकिएनन्। उनको स्वर बढ्दै गयो। थपे- 'सरकारी गाडी चढेर सुरक्षा लिएर हिँड्नेले नदेख्न सक्छ, तर सधैं हिँड्नेलाई त भयंकर देखियो नि यो। कतै यातायात मन्त्रीले गाडी नचलाउनू भनेर सर्कुलर पो गरेछन् कि!'
बिडारी त्यस दिन नेत्रविक्रम चन्द 'विप्लव' समूहले आयोजना गरेको बन्दको प्रभावबारे बोल्दै थिए। तर, उनले न विप्लव समूहको नाम लिए, न बन्दकै प्रसंग उठाए। उनको अभिव्यक्ति र प्रस्तुतिले नै विषयवस्तुको छनक दिइरहेको थियो।
त्यसै रात सत्तारुढ नेकपाकै एक वरिष्ठ नेताले उनलाई फोन गरेर भने, 'अलिक बहकिएको हो कि!'
बिडारीले जवाफ दिए, 'त्यस्तो नहुनुपर्ने हो, मिस अण्डरस्ट्यान्डिङ भयो कि!'
संसदमा मात्र होइन, सार्वजनिक कार्यक्रममा बोल्दा पनि उनी सुधारका कुरा उठाउँछन्। केही दिनअघि एक कार्यक्रममा उनले प्रश्न गरे, 'नाम हुँदाहुँदै किन कसैलाई माननीय भन्ने?'
उनको तर्क छ, 'जनता जाननीय भए मात्र प्रतिनिधि माननीय हुन्छ।'
त्यसो त बिडारीलाई दोस्रो संविधानसभामा पार्टीकै सांसदले माननीय नभनेको भनेर दपेटेका थिए।
'एकदिन मैले सुरक्षा निकायबाट रिटायर भएर सभासद भएका एक जना साथीलाई नामले बोलाएँ। ती सभासद मसँग बम्किए,' बिडारी सम्झन्छन्, 'तपाईंलाई मान्छेको सम्मान गर्न आउँदैन, माननीय भन्नुपर्दैन भने।'
बिडारी आफूले दिनहुँ भोगेका, देखेका र पढेका विषय नै बैठकमा उठाउने गरेको बताउँछन्।
'मैले उठाउने विषय आँखामा छरपस्ट आइरहने विषय हुन्,' उनले भने, 'भैंसी र राँगालाई ट्रकमा लोड गरेर दुःख दिएर ल्याएको देखिन्छ। उसको जीउमा घाउ हुन्छ। शरीर रक्ताम्मे हुन्छ। विचरा त्यो जनावरलाई हुनसम्म दु:ख दिएर लखतरान पारिन्छ, अनि मारिन्छ। त्यस्तो यातना देखेपछि मैले स्वस्थकर मासुको कुरा उठाएँ।'
बिडारीले राष्ट्रिय सभामा भने, 'अबदेखि तराईको सीमानाबाट ज्युँदो भैंसी ल्याउन नदिऊँ। स्लटर हाउस बनाऊँ। पशु डाक्टरले जाँचेर मासु प्याक गर्ने र यहाँ स्वस्थ मासु राम्रो गाडीमा ल्याउने नियम बनाऊँ।'
चर्चाका लागि मात्र विषय छनौट नगर्ने उनी बताउँछन्।
'फुटपाथको विषयले मान्छेलाई यति छुन्छ होला भन्ने अन्दाज थिएन,' उनी भन्छन्।
'एउटा बटुवाले चार किलोमिटर हिँड्दा खाल्डामा परेर खुट्टो भाँचिन सक्ने अवस्था छ। गाडीले ठक्कर दिएर मर्नसक्ने जोखिम मोलेर हिँड्नुपर्ने अवस्था छ,' बिडारीले भने, 'म त गाडी चढ्छु। भित्र बस्दा पनि ड्राइभरलाई बाबु त्यो साइकल कता जान्छ हेर है भन्छु।'
उनलाई नेताहरूले अरू देशबाट नसिकेकोमा भने अचम्म लाग्छ।
'अरू देशमा बाटो हेरियो। नेता त कति गए, गए। त्यहाँ त बटुवा हिँड्दा थाक्छ भनेर मेच राखेको हुन्छ। हिँड्ने बाटो फराकिलो छ। यत्रो वर्ष सरकारमा बस्नेले साइकल गुड्ने यात्रु र फुटपाथ विचार गर्नुपर्दैन,' उनी भन्छन्।
बिडारीको बोल्ने शैलीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले 'कमेडी' को संज्ञा पनि दिएका छन्। उनी आफैं पनि यस्तो टिप्पणीबारे जानकार छन्।
'कोही-कोही मान्छेलाई मैले बोलेको मनपर्दैन। कसै-कसैले नाटक गरेको भनेर कमेन्ट गर्छन्, कमेडी गरेको भनेर लेख्छन्,' बिडारीले भने, 'मेरो शब्द, भाव, विषयवस्तुमा गहिरिएर बुझ्न खोज्नेले राम्रो भन्छन्। जसले मेरो आवाज, आकृति र हाउभाउ मात्र हेर्छ, उसले मेरो कुरै बुझ्दैन।'
उनी आफ्नो शैलीलाई 'कमेडी' भनेर जिम्मेवार निकायबाटै फैलाइएको पनि ठान्छन्।
'थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टलाई कतिपय मान्छेले 'तपाईंको कुरा बुझिएन नि भन्थे,' उनै रुपचन्द्रका चेला बिडारीले सुनाए, 'अनि रुपचन्द्र जवाफ फर्काउँथे- तैंले 'बुझेँ' भनिस् भने त बुझेअनुसार काम गर्नुपर्यो, बुझिनँ भन्यो भने गर्नुपरेन। त्यस कारण यहाँ जालसाजी छ।'
'मैले भनेको कुरालाई गम्भीर रूपमा लियो भने त सरकार वा काम गर्ने ठाउँमा भएका मान्छेले काम गरेर देखाउनुपर्यो नि। बरू यो बिडारीले कमेडीका रूपमा कुरा गर्छ, हाँस्यका रूपमा कुरा गर्छ भनेर प्रचार गर्यो, कामै गर्नुपरेन,' उनी भन्छन्, 'मैले कमेडी गरेको होइन, 'सिरियस' विषयवस्तु उठाएको हो।'
उनी आफ्नो कुराले कहिले सत्तापक्ष त कहिले प्रतिपक्ष खुसी हुने गरेको बताउँछन्।
'मन्त्रीलाई प्रश्न गर्दा प्रतिपक्ष खुसी हुन्छ,' उनले भने, 'राष्ट्रपतिले मेरो सरकार भनेको ठीक हो भन्दा, राष्ट्रपतिदेखि सरकारसम्म खुसी भयो।'
राष्ट्रपतिले 'मेरो सरकार' भन्न हुन्छ कि हुँदैन भन्नेमा विवादमा बिडारीले बैठकबाटै प्रश्न गरेका थिए, 'राजाले जय नेपाल भन्थे। कांग्रेसले किन भनेको? राजाले मेरो सरकार भन्न हुने। जनप्रतिनिधिले किन नहुने?'
उनलाई अलि सानो स्वरमा बोल्नू भन्ने सुझाव पनि नआएका होइनन्। बिडारी भने बच्चैदेखिको बोल्ने बानीका कारण त्यसरी प्रस्तुत हुने गरेको बताउँछन्।
उनी 'थाहा' आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको चेलाका रूपमा विभिन्न ठाउँमा बच्चैदेखि भाषण गर्न पाएका कारण ठूलो र झर्रा शब्द प्रयोग गरेर बोल्न सिकेको बताउँछन्।
'मान्छेको मन-मन्दिर र मन-मस्तिष्क भित्रसम्म पुर्याउने तरिकाले बोल्नुपर्छ भनेर रुपचन्द्र बिष्ट भन्थे। म त्यसैले कडा शब्द राख्छु। मुलुकमारा, बजेटमारा, गरिबमारा, अपराधीहरूले राज्य चलाए, केटी बेचुवा, मूर्ति बेचुवाहरूले शासन गरेर बसे, भनेको छु। त्यो कसलाई भनेको हो, मान्छेले बुझ्छन्,' उनले भने।
'मैले दसौं हजार मान्छेको अगाडि हेटौंडाको हुप्रा चौरमा २०४० सालमै भाषण गरेको थिएँ,' उनले सुनाए, 'कतिपय ठाउँमा म मुख्य वक्ता भएर निर्मल लामासँग पनि भाषण गर्न गएको छु।'
त्यति बेला 'कामका लागि खाद्यान्न' भन्ने विकास निर्माणको काममा भ्रष्टाचार भएको थाहा पाएपछि आफू त्यसविरुद्ध बोल्न थालेको बिडारी सम्झन्छन्।
'काम गरे गहुँ वितरण गर्थ्यो सरकारले,' बिडारी सुनाउँछन्, 'त्यसमा भ्रष्टाचार हुन्थ्यो। म त्यति बेलै सामन्तविरुद्ध बोल्न थालेको हुँ।'
आफ्नो शैली र अभिव्यक्तिको तरिकामा रुपचन्द्र बिष्टको संगतको प्रभाव रहेको उनको भनाइ छ।
'जनमुखी भन्ने एउटा राजनीतिक अभियानका क्रममा २०३१ सालदेखि २०५६ सम्म मैले उहाँको संगत गरेँ,' बिडारीले भने, 'मेरो शैली र हाउभाउमा उहाँको ठूलो प्रभाव छ।'
आफूलाई अहिले चिन्ने मान्छेले वकालतबाट राजनीतिमा आएको ठान्ने गरेको उनको भनाइ छ।
'मेरो पृष्ठभूमि राजनीति नै हो। कानुन जानेको हिसाबले संविधानसभा र अहिले राष्ट्रियसभा सदस्यका म पार्टीको रोजाइमा परेको हुँ,' उनले भने।
बिडारी आफ्नो वकालतमा समेत बोल्ने कलाको प्रभाव परेको सम्झन्छन्।
'एकपटक सर्वोच्चमा बहस गरेपछि अभियुक्त जमानतमा छुट्यो। मैले बाबु कस्तो भयो बहस भनेर सोधेँ। उसले जवाफ दियो- तपाईंको बहस सुनेपछि मैले मान्छे मारेको होइन जस्तो लाग्यो,' बिडारीले सुनाए, 'तर अन्तिममा ऊ जेलमा पर्यो।'
उनी आफूले जानेकै भाषामा बोल्ने बताउँछन्।
'म आफूले बोल्ने ठेट नेपाली भाषा प्रयोग गर्छु। जस्तो जानेको छु, त्यस्तै बोल्छु। नक्कल पारेर बनावटी ढंगले बोलेको होइन,' उनले भने।