नेपाली कांग्रेस अनुशासन समितिले सभापति शेरबहादुर देउवाविरूद्ध परेको उजुरी हेर्न चासो दिएको छैन।
देउवाविरूद्ध महासमिति सदस्य राजेन्द्र बजगाईंले गत चैत १४ गते उजुरी दिए पनि त्यसबारे अनुशासन समितिका बैठकमा छलफल भएको छैन।
सभापति देउवाले सत्तासाझेदार दल तत्कालीन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई भरतपुर महानगरमा मतदान गर्न हँसिया हथौडामा भोट हाल्न लगाएको भन्दै उजुरी छ।
यस्तै, प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको कांग्रेसले सत्तारूढ नेकपाले ल्याएको नीति तथा कार्यक्रम २०७५/०७६ पारित गरिदिएर संसदीय मर्यादामा चोट पुर्याएको र सिंगो पार्टीको साख गिराएको भन्दै बजगाईंले देउवाविरूद्ध विधानअनुसार हदैसम्म कारबाहीको माग गरेका थिए।
उजुरी ११३ नम्बरमा दर्ता भए पनि अहिलेसम्म त्यस सम्बन्धमा छलफल भएको छैन।
२०७४ को स्थानीय, प्रदेश र केन्द्र निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको आरोपमा समितिले दुई सयभन्दा बढी कार्यकर्तालाई कारबाही गरिसकेको छ।
सभापति देउवाविरूद्ध आएको उजुरीमात्र होइन, केन्द्रीय सदस्य शेखर कोइरालाविरूद्ध परेको उजुरीबारे पनि बैठकमा छलफल भएको छैन।
कोइरालाविरूद्ध पुरानो विषयलाई लिएर उजुरी परेको हो। नौ वर्षअघि भएको १२ औं महाधिवेशनका बेला योग्यता नपुगी केन्द्रीय सदस्यमा उम्मेदवार दिएको उजुरीमा दाबी गरिएको छ।
कांग्रेस विधानमा क्रियाशील सदस्यता लिएको १० वर्ष कटेपछि मात्रै केन्द्रीय सदस्यमा उम्मेदवारी दिन योग्यता पुगेको मानिन्छ। योग्यता नपुगेको आरोप लगाउँदै उजुरीमा छानबिन गरी कारबाहीको माग गरिएको छ।
कांग्रेसले गत चैत ४ गते अनुशासन समिति बनाएको थियो। समिति सदस्य पार्टीभित्रको गुटलाई भागबन्डा गरिएको थियो।
सभापति देउवा पक्षबाट संयोजक भीष्मराज आङदम्बेसहित देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर सदस्य छन्।
पाँच सदस्यीय समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट धनराज गुरूङ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी सदस्य छन्।
अनुशासन समितिका संयोजक आङदम्बेले सभापतिलगायत विरूद्ध पनि उजुरी परेको बताउँदै छानबिन हुने बताए।
‘म अहिले बाहिर छु। छिट्टै अनुशासन समिति बैठक बस्छ,’ उनले सेतोपाटीसँग भने, ‘समितिमा आएका सबै उजुरी हेर्छौं।’
समिति सदस्य धनराज गुरूङले भने तत्काल बैठक बस्ने सम्भावना नरहेको बताए।
‘केही प्राविधिक कारणले बैठक कहिले बस्छ अहिले नै भन्न सकिन्न,’ उनले भने, ‘संयोजक राजधानी आएपछि बैठक बस्ला।’
तीनै तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उठेका, प्रस्तावक र समर्थक बनेकालाई समितिले कारबाही गरिसकेको छ।
दुई सय जनाभन्दा बढी कार्यकर्ता कारबाहीमा परेका छन् पार्टी अभिलेखबाट उनीहरूको नाम हटाइएको छ।
कांग्रेसले पार्टी उम्मेदवारविरूद्ध अन्तर्घात गर्ने काठमाडौं, ललितपुर, बाँके, बारा, चितवन, दाङ, धनुषा, इलाम, झापा, कैलाली, कपिलवस्तु, कास्की, लमजुङ, मोरङ, पाल्पा, पाँचथर, नवलपरासी, पर्सा, रसुवा, रौतहट, रूपन्देही, संखुवासभा, ओखलढुंगा, सिरहा र सुनसरी बागी, समर्थक र प्रस्तावक बनेका कार्यकर्ता कारबाही गरिसकेको छ।
अनुशासन समिति गठन हुनुपूर्व नै कांग्रेसले तनहुँका गोविन्दराज जोशीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। वरिष्ठ नेता पौडेलले तनहुँबाट चुनाव हारेपछि उक्त चुनाव हराउन भूमिका खेलेको आरोपमा जोशीलाई पुस २४ मा कांग्रेसले कारबाही गरेको थियो।