विद्यार्थी संगठनहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा लगाएको ताला शनिबार खोलिएको छ।
विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनहरुबीच भएको वार्तापछि आन्दोलन स्थगित गर्दै ताला खोलिएको हो।
वार्ताका क्रममा पदाधिकारीहरुले विद्यार्थीले राखेका माग दुई साताभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि ताला खुलेको स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष झक्क शाहीले बताए।
उनले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको जानकारी दिए। विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरुको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी संगठन र इन्जिनियरिङ संकायका विद्यार्थीसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरेका थिए।