नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालले सचिवालयले वरीयताक्रम मिलाउने हो भने पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु पर्ने माग गरेका छन्।
शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा उनले यस्तो माग गरेका हुन्।
बैठकमा अर्का बरिष्ठ नेता झलनाथ खनालले वरीयताक्रममा आफू पहिलो हुनु पर्ने प्रस्ताव गरेपछि नेपालले यस्तो माग राखेका हुन्।
बैठकमा खनालले पार्टी विधानअनुसार आफू वरिष्ठ नेता हुनु पर्नेमा नेपालमा नभएका बेला माधवकुमार नेपाललाई पहिलो नम्बरको बरिष्ठ नेता दिइएको भन्दै १५ महिनाअघि नै पार्टी सचिवालय बैठकमा लिखित असहमति दर्ता गरेका थिए। त्यसपछि उनको सो प्रस्तावमा कहिल्यै छलफल भएन।
पोहोर जेठमा पार्टी एकीकरण हुँदा नेता नेपाललाई बरिष्ठताको एक नम्बरमा राखिएको थियो। त्यतिखेर झलनाथ खनाल चीनमा थिए। नेकपाको विधानमा दुई बरिष्ठ नेताको व्यवस्था छ। सो अनुसार नेपाल पहिलो र खनाल दोस्रो वरीयतामा छन्।
शुक्रबारको बैठकमा खनालले उही पूरानो प्रस्ताव दोहोर्याएपछि नेपालले पूर्वएमालेका तीन उपाध्यक्षहरू युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई सचिवालय सदस्य बनाउनु पर्ने बताएका थिए।
‘वरीयताको कुरा गर्ने हो भने पूर्वएमालेका जुनियर साथीहरू सचिवालयमा हुनुहुन्छ, सिनियर साथीहरू बाहिर हुनुहुन्छ। पूर्वएमालेका तीन उपाध्यक्षहरूलाई पनि सचिवालयमा राखौं न त,’ नेपालको भनाई उद्धृत गर्दै सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।
नेपालको प्रस्तावमा छलफल भने नभएको सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।
नेकपाको विधानको धारा १८ को घमा ९ जना सचिवालय सदस्य हुने व्यवस्था छ। थप तीन जनालाई सचिवालय सदस्य बनाउन नेकपा विधान परिवर्तन गर्नुपर्नेछ। शुक्रबारकै बैठकमा विधानमा नभएको उपाध्यक्ष पदमा वामदेव गौतमलाई नियुक्त गर्ने प्रस्ताव पनि गरिएको छ।
पूर्वएमालेमा माधव नेपाल पक्षधर रहेका ज्ञवाली, रावल र शाक्य उपाध्यक्ष थिए भने ईश्वर पोखरेल महासचिव र विष्णु पौडेल उपमहासचिव थिए। नेकपाको शुक्रबारको बैठकले स्थानीय तह विभागको प्रमुख युवराज ज्ञवालीलाई बनाएको छ।
रावल यसअघि सुदूरपश्चिम र शाक्य प्रदेश ३ इन्चार्ज तोकिएका थिए।
सचिवालयले नेपालको प्रस्ताव स्वीकार गरेर पूर्वएमालेका तीन उपाध्यक्षलाई सचिवालयमा राख्यो भने पूर्वएमालेका एकमात्र उपमहासचिव घनश्याम भुषाल सचिवालय बाहिर रहनेछन्। भुषालले हालै प्रादेशिक मामला विभागको जिम्मेवारी पाएका छन्।