प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रजातन्त्रको खिलापमा रहेको बताएका छन्।
विभिन्न विधेयक ल्याएर जनताको अधिकार खोस्न खोजेको देउवाको आरोप छ।
मानव अधिकार आयोग, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकहरू एकपछि अर्को गर्दै सरकारले ल्याएको उनले बताए।
‘हाम्रो पार्टी प्रजातन्त्रकै लागि स्थापना भएको हो,’ भैरहवामा सोमबार आयोजित पार्टीको कार्यक्रममा उनले भने, ‘प्रजातन्त्रको खिलापमा यो सरकारले कदम चालेको छ। आन्दोलन गर्नुपर्ने हुनसक्छ।’
प्रजातन्त्रको खिलाप र जनताको अधिकार खोस्ने जो कोहीलाई नछाड्ने उनले बताए।
‘प्रजातन्त्रको खिलाप गर्ने जोसुकै होस्, छोड्ने छैन,’ देउवाले भने।