कपिलवस्तुको तौलिहवामा एक जनाको तीन लाख रुपैयाँ लुटपाट भएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित राष्ट्रिय वाणिज्य बैंकबाट रकम निकालेर लैजाँदै गरेको अवस्थामा अपरिचित समूहले उक्त रकम लुटेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार बुद्धभूमि नगरपालिका वडा नम्बर १० का रामकुँवेर धोबीले बैंकबाट निकालेर लैजाँदै गरेको तीन लाख रुपैयाँ लुटिएको सेतोपाटीलाई जानकारी दिए।
धोबीले तौलिहवामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको उक्त रकम कपिलवस्तु नगरपालिका वडा नम्बर २ बाट लुटिएको प्रवक्ता मल्लले जानकारी दिए।
भारतीय नम्बर प्लेटमा आएको दुई जनाको समूहले उक्त रकम लुटेर फरार रहेको उनले बताए।
प्रहरीले रकम लुटेर फरार हुनेको खोजी गरिरहेको जनाएको छ।
पछिल्लो समयमा कपिलवस्तुका भारतीय सीमावर्ती क्षेत्रहरूमा लुटपाटका घटना बढिरहेको स्थानीयले जनाएका छन्।
केही दिनअघि पनि भारतीय नम्बरको कारमा आएका समूहले गोठमा बाँधेर राखेका खसीबोका समेत लुटेर लगेको बाणगङगाका स्थानीयले बताएका छन्।