निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी सुरू गरेको छ। कर्णालीका दुइटा स्थानीय तहमा उपनिर्वाचन हुने भएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष र सल्यानको कुमाख गाउँपालिका-५ मा वडा अध्यक्षको लागि उपनिर्वाचन हुनेछ।
खार्पुनाथकी उपाध्यक्ष सिन्दु हमाल शाहीको असार ३ गते कर्णाली नदीमा जीप दुर्घटना हुँदा मृत्यु भएको थियो। त्यसपश्चात् यहाँ उपाध्यक्ष पद रिक्त छ। खार्पुनाथमा उपाध्यक्षका लागि उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जगदिश शाहीका अनुसार हुम्लाका पाँच वटा मतदान केन्द्रमा मतदान हुनेछ।
उपनिर्वाचन हुने खार्पुनाथ गाउँपालिकामा ३ हजार २ सय ८७ जना मतदाता रहेको उनले बताए।
मृतक शाही नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्।
उनले एक हजार १८ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी रुपा शाहीले ८३६ मत ल्याएकी थिइन्।
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचित भएपछि त्यहाँ वडाध्यक्षको पद रिक्त छ।
उनी तत्कालीन नेकपा माओवादीबाट ५ नम्बरको वडा अध्यक्षमा निर्वाचित भएका थिए।
उनको ठाउँमा हुने उपनिर्वाचनका लागि त्यहाँ एक ठाउँमा मतदान हुने सल्यानका जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए।
उक्त क्षेत्रमा १ हजार ८ सय ७५ जना मतदाता छन्। तत्कालीन वडाध्यक्ष बुढाथोकीले ७८८ मत ल्याएर विजयी भएका थिए।
उनका प्रतिद्वन्द्वी तत्कालीन नेकपा एमालेका अमृतबहादुर शाहले २२९ मत पाएका थिए। नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बोहराले १८० मत पाएका थिए।
उपनिर्वाचनको मिति तय भएपछि सल्यान र हुम्लामा मतदाता नामावली संकलन रोकिएको छ।