नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टको शासनले राष्ट्र अप्ठ्यारो स्थितिमा पुगेको बताएका छन्।
महाधिवेशन प्रतिनिधीहरुका लागि सुर्खेतमा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वर्तमान सरकारले गरेका गतिविधिका कारण देश नै अप्ठ्यारो अवस्थामा पुगेको बताए।
स्थायी प्रजातन्त्र काँग्रेसको कल्पना भए पनि यसलाई कम्युनिष्टको नेतृत्वमा रहेको सरकारले दबाएको देउवाले आरोप लगाए। सरकारले ल्याएको प्रेस काउन्सिल विधेयकले जनताको समेत मुख थुन्ने प्रयास गरेको टिप्पणी गर्दै उनले प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यतालाई वर्तमान सरकारले विधेयकमार्फत दवाउन खोजेको बताए।
‘समाचार लेखेकै भरमा पत्रकारले लाखौं जरिवाना तिनुपर्ने, जेल जानुपर्ने अवस्था अहिलेको कम्युनिष्ट सरकारले सिर्जना गरिदिएको छ,’ देउवाले भने, ‘यसरी राज्यबाट नियन्त्रित गतिविधीले जनतालाई अप्ठ्यारोमा पारेको छ।’ देशमा निर्वाद स्वतन्त्रताका लागि वर्तमान सरकार हट्नुपर्ने उनको भनाई छ।
पार्टीको आन्तरिक विभाजनको विषयमा देउवाले आफूले चाहँदा चाहँदै पनि पार्टी एक ढिक्का हुन नसकेको बता । पार्टीभित्र एकता असम्भव नभएको बताउँदै देउवाले भने– ‘माओवादी र एमाले मिलेर अहिले नेकपा बन्न सम्भव भएको छ, हाम्रो आन्तरिक एकता पनि सम्भव छ।’
उनले पार्टीभित्र अन्तर्घात गर्नेलाई अनिवार्य कारबाही गर्नुपर्ने औंल्याए । कारबाही नगरिए आउँदो निर्वाचनमा पनि अन्तर्घात हावी हुने देउवाले बताए ।