साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले राजनीतिक दलहरूले पार्टी संगठनका झुण्ड बनाएर समाजलाई अपहरण गरेको आरोप लगाएका छन्।
राजनीतिक दलका भातृ संगठनलाई झुण्डको आरोप लगाउँदै तिनीहरूको खारेजी नभएसम्म मुलुक समृद्ध नहुने उनले दाबी गरे।
‘दलहरूले विभिन्न झुण्ड तयार गरेका छन्। तिनैलाई राजनीतिक छाता ओढाएर समाजलाई अन्यौलमा पार्ने काम भइरहेको छ। यस्ता झुण्ड संगठनहरू खारेज नहुँदासम्म देश समृद्ध हुन सक्दैन’, उनले भने।
‘प्रशासन, कर्मचारी, उपभोक्ता समिति, एनआरएन, डाक्टर, इन्जिनियर, पत्रकार सबैतिर राजनीतिक छाता पुरानो संगठनले ओढाएका छन्’, मिश्रले भने।
बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक मिश्रले तिनै झुण्डहरूको प्रयोग गरेर पुराना राजनीतिक दलहरूले समाजलाई नै अपहरण गरेर राखेको आरोप लगाए।
‘दलहरूका यस्ता गतिविधिले निश्चित व्यक्तिको वा पार्टीको मात्र भलो हुन्छ जनताको भावना समेट्न सकिँदैन सबै अधिकार अपहरणमा परेका छन्’, मिश्रको तर्क गरे।
‘साझा पार्टी सत्ताको नेतृत्वमा आए ती सबै झुण्डहरू भंग गरिने छन्’, मिश्रले भने।
पहिलो मन्त्रिपरिषद् बैठकबाटै सबै भातृ संगठनहरू भंग गर्ने उनको भनाइ थियो।
मिश्रले देशको परिस्थिति गम्भीर भएको भन्दै दुई तिहाइ सरकारले गरेको काम जनताले महशुस गर्न नपाएको समेत दाबी गरे।
सरकारको काम अव्यवस्थित र असफल हुँदा देश लथालिङ्ग अवस्थामा रहेको, व्यापार घाटा बढेको र रोजगारी सिर्जना हुनै नसकेको मिश्रको आरोप छ।
‘मुलुक अस्तव्यस्त छ, लथालिंग छ, व्यापार घाटा बढेको छ, दुई तिहाइ बहुमतको सरकारले केही पनि परिर्वतन दिन सकेन’, उनले भने।
साझा पार्टीको नेतृत्व सरकारमा गए ०४६ सालपछि नेतृत्वमा पुगेका सबै राजनीतिक दलका नेताको सम्पत्ति छानबिन गर्ने, भ्रष्टाचार नियन्त्रणका लागि हरेक कदम चाल्ने समेत उनले बताए।