सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले पछिल्लो समय सोसल मिडियाको दुरुपयोग बढ्दै जाँदा समाजमा अराजकता बढेको बताएका छन्।
सरकारले सोसल मिडियालाई नियमन गर्ने उनले प्रतिबद्धता जनाए। लाइक र भिजिटर संख्या बढाउने नाममा सनसनीपूर्ण शिर्षकका भ्रमपूर्ण समाचार राखेर सोसल मिडियाको दुरुपयोग हुने गरेकोले सरकारले नियमन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री बास्कोटाले सोसल संजाललाई मेनस्ट्रीम मिडिया बनाइयो भने यसले अराजकता निम्त्याउने र त्यसको संकेत केही ठाउँमा देखी सकिएको बताए। उनले भने ‘सोसल मिडियाले मेनस्ट्रीम मिडियालाई गाइड गर्ने होइन त्यो व्यक्तिगत कुरा हुन्छ जसको जवाफदेहिता हुँदैन, एकपटक पोष्ट गरेपछि सकियो त्यसले कसलाई असर पर्छ मतलब हुँदैन।’
टेलिभिजन, रेडियो, छापा लगायतका मिडियाहरु दर्ता भएर संचालन भएजस्तै सोसल मिडिया र युट्युबहरु पनि दर्ता भएर संचालन हुनुपर्ने उनको भनाइ छ। ‘अरु मिडियाहरु दर्ता भएका हुन्छन्, जवाफदेही हुन्छन् सोसल मिडिया, युट्युवहरु पनि दर्ता भएर संचालन हुनुपर्दैन ?’ उनले प्रश्न गरे।
मिडियाहरु पनि गहन अध्ययन र विश्लेषण नगरी सनसनीपूर्ण समाचारतर्फ बढी रुची राख्ने गरेको भन्दै उनले देश र जनताप्रति जिम्मेवार बन्न मिडियाहरुलाई आग्रह गरे। ‘मिडियाहरु, पत्रकारहरु सरकारप्रति जिम्मेवार बन्नुपर्दैन, देश र नागरिक प्रति जिम्मेवार भईदिए पुग्छ’ उनले भने।
उनले पत्रकारहरुलाई मर्यादित र जिम्मेवार बनाउने दायित्व पनि स्वयं पत्रकारसँगै सरकारको पनि भएको बताए। उनले नेपालका मिडिया र पत्रकार सही र सत्य लेख्छन्, सरकार र समाजलाई गाईड गर्छन् भन्ने कुरा स्थापित भएमा मिडियाकै मान बढ्ने बताए।
मन्त्री बास्कोटाले सरकारले दृष्टिकोण स्पष्ट बनाएर नै मिडिया विधेयक ल्याएकोले यो विधेयक पास हुने बताए। ‘यो कानुनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्दैन झनै बलियो बनाउँछ’ उनले भने।
मिडियामा क्लिन फिड सम्बन्धि विधेयक पनि पास गरिएको भन्दै मन्त्री बास्कोटाले अब नेपालको विज्ञापनको बजार ८ अर्बले बढ्ने दावी गरे।