सयौं मान्छेलाई ‘मिटर ब्याज’ लगानी गरी पाँचौं गुना ब्याज असुल्ने सर्लाहीका ‘मिटरब्याजी’ ‘परदेशी’ भनिने श्यामकृष्ण साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
सर्लाही मलंगवा नगरपालिका-१० घर भएका साहलाई उनकै निवासबाट प्रहरीले आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
सर्लाही लालबन्दी नगरपालिका-४ की रुकमिडी चौधरीसमेतको जाहेरी आधारमा साहलाई घरबाटै पक्राउ गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले सेतोपाटीलाई बताए।
‘साहलाई घरबाटै पक्राउ गरी प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ,’ डिआइजी कार्कीले भने।
सर्लाहीका प्रहरी उपरीक्षक गोपाल भट्टराईका अनुसार उनीले १९९ जनालाई पीडित बनाएको थाहा भएको छ। ‘चक्रवर्ती ब्याज लिने कार्यमा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि हामीले नियन्त्रणमा लिएका हौं,’ भट्टराईले भने, ‘को सँग कति परिमाणमा चक्रवर्ती ब्याज असुलीएको हो, यसबारे अनुसन्धान थालेका छौं।’
भट्टराईका अनुसार अहिले एक जनाले मात्र उजुरी दिएका छन्। साहले नक्कली कागजात गरेर ३९ जना मान्छेविरुद्ध पक्राउ पूर्जी जारी गरेको खुलिसकेको छ।
‘बाँकी को कतिलाई ठगी गरेको भन्नेबारे अनुसन्धान भइरहेको छ,’ भट्टराईले भने।
साहले मिटर ब्याज लगानी गरेर सहीछाप गरी अदालतमा समेत मुद्दा दर्ता गरेर पीडितबाट नगद, सरसामान तथा सुनचाँदी जफत गर्दै आएका थिए।
आफ्नो सारा रकम, घरजग्गासमेत लिलामी हुने अवस्था आएपछि पीडितहरू प्रधानमन्त्री कार्यालय हुँदै गृह मन्त्रालयसम्म गुहार गरिरहेका थिए।
पीडितहरू मुलुकको प्रमुख प्रशासनिक निकायसम्म पुगेपछि प्रहरीले साहको खोजी थालेको थियो। ‘उनलाई के-कस्तो कारबाही गर्ने भन्ने विषयमा अहिले हामी सरकारी वकिलसँग परामर्श गरिरहेका छौं,’ डिआइजी कार्कीले भने, ‘जे-जस्तो कानुन आकर्षित हुन्छ हामी कारबाही अघि बढाउँछौं।’