गएको फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पानीजहाज कार्यालयको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा उनले भने, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर अब केही महिना हामीलाई जिस्काउलान्। तर केही महिना पर्खनुस्। टिकट पाइन्छ।’
प्रधानमन्त्रीले वाचा गरेको नेपाल-भारत सीमा हुँदै कलकत्ता पुग्ने पानीजहाजको अहिलेसम्म कुनै छनक छैन। भाषण गरेको छ महिनापछि प्रधानमन्त्री स्वयंले पनि पानीजहाजको कुरा गर्न छाडेका छन्।
सरकारी पानी जहाजको टुंगो नभए पनि स्वप्नदर्शी युवाले नारायणी नदीमा ‘क्रुज सिप’ (मानिस बोक्ने पानी जहाज) चलाउन देखेको सपना भने चाँडै पूरा हुँदैछ।
१५ करोड लगानी गरेर निर्माणाधीन क्रुज सिपको काम सकिने क्रममा छ।
लामो समय लाग्ने ‘पोर्ट’ बनिसकेको छ। अब क्रुज सिपमा मेसिन फिट गर्ने, सिट हाल्ने र छानो हाल्ने काम बाँकी छ।
‘दशैं वा ढिलोमा तिहारसम्म हामी नारायणीमा क्रुज सिप चलाइसक्छौं,’ राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले सेतोपाटीसँग भने।
चितवनको भरतपुर महानगरपालिकास्थित काभ्रेघाटमा ‘पोर्ट’ राखेर पर्यटकीय प्रयोजनका लागि क्रुज सिप चलाइनेछ।
चैतबाट निर्माण थालिएको क्रुज सिपको योजना भने कँडेलको दिमागमा दुई वर्षअघिनै छिरेको थियो।
‘६ तलाको क्रुज चढेर सन् २०१७ मा स्विडेनबाट फिनल्यान्ड जाँदै थिएँ,’ कँडेलले भने, ‘यात्रामा सँगै रहनुभएका मामासँग नारायणीमा पनि क्रुज चलाउन सकिन्छ कि? भनेर सोधें। उहाँले सम्भव छ भनेपछि धेरै दिनसम्म त्यही कुरा सोचेर बसें।’
अध्ययनका लागि युरोप पुगेका कँडेल त्यसपछि नेपाल फर्किए।
नेपाल फर्किएर उनको ध्यान क्रुजतिरै मोडियो। तीन महिना क्रुजकै विषयमा अध्ययन गरे। घरी गुगल गर्थे घरी साथीभाइसँग सल्लाह।
अन्ततः उनी क्रुज सञ्चालन स्वीकृतिका लागि पर्यटन विभाग पुगे। ‘त्यतिबेलासम्म नेपालमा पानीजहाजको कार्यालय समेत खुलिसकेको थिएन। क्रुज सिप साहसिक पर्यटनमा पर्ने भएकाले विभागबाट स्वीकृती लिएर काम अघि बढायौं,’ उनले भने।
पर्यटन विभागमा दर्ता भएपछि सिंगापुर र भारतबाट प्राविधिक ल्याएर कम्पनीले दासढुंगादेखि गोलाघाटसम्म पुष महिनामा नारायरणीको गहिराइ र पानीको बेगको अध्ययन गरायो।
‘अध्ययनबाट नारायणीको गहिराइ डेढ मिटरदेखि १५ मिटरसम्म भेटियो। नारायणीको गहिराइ र बेगमा हाम्रो डिजाइनको क्रुज सिप चलाउन सकिने भएपछि बनाउन थाल्यौं,’ कँडेलले भने।
पुस महिनामा नारायणीमा पानीको बेग सबैभन्दा कम हुन्छ। त्यो बेला पनि त्यहाँ पानीजहाज चलाउन सम्भव देखिएको उनले बताए। कँडेलका अनुसार नारायणीमा २ मिटरभन्दा कम गहिराइमा पनि यस्तो क्रुज सिप चलाउन सकिन्छ।
क्रुज सिप निर्माणको जिम्मा भारतको केरलाको कम्पनीलाई दिइएको छ। प्रविधि भने नर्वेजियन प्रयोग गरिएको छ।
क्रुज सिपका लागिमात्र १५ करोड लगानी गरेको सो कम्पनीले परियोजनाको कुल लागत भने २५ करोड हुने जनाएको छ।
युवाहरूको लगानी रहेको यो परियोजनाको सेयर बाँडफाँट हुन बाँकी रहेकाले सबै लगानीकर्ताको नाम खुलाइएको छैन।
क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ।
क्रुज सिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरित दिशामा चल्न सक्छ। क्रुजमा डबल इन्जिन हुनेछ।
कँडेलले भने, ‘हुन त सिंगल इन्जिनले पनि काम चल्छ तर आपतकालीन अवस्थालाई मध्यनजर गरेर डबल इन्जिन नै प्रयोग गर्ने भनेका हौं।’
क्रुज सिप साढे दुई तल्लाको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० जना यात्रु सयर गर्न सक्नेछन्।
पहिलो तल्लामा एसीसहितको हल हुनेछ। जसमा चालक दलका तीन सदस्यसहित करिब ९० जना यात्रु अट्नेछन्।
यस्तै दोस्रो तल्लामा १ सय १० जना यात्रु बस्न मिल्ने हल हुन्छ।
माथिल्लो भागमा एउटा सानो खुला ठाउँ हुनेछ। जसमा १० देखि १५ जनाले वरपरको दृश्य हेर्न सक्छन्। त्यहाँ भ्यू प्वाइन्ट र मिनीबार पनि हुनेछ।
क्रुज सिपमा वेटर, सेक्युरिटी गार्ड र रेस्क्यु पर्सनसमेत हुनेछन्।
‘सुरुको ६ महिना भारतीय कम्पनीबाट आएका पाइलटले क्रुज चलाउनेछन्। त्यसपछि हामी आफ्नै जनशक्ति तयार गर्छौ,’ कँडेलले भने।
‘केरलाबाट आएका क्रु मेम्बरले छनोट गरेका व्यक्तिलाई तालिम दिनेछन्। त्यसपछि नयाँ चालकले जिम्मेवारी सम्हाल्नेछन्,’ कँडेल भन्छन्, ‘क्रु मेम्बर हुन कम्तिमा स्नातक उत्तिर्ण गरेको, प्रविधि जानेको, पौडी खेल्न जान्ने र सवारी साधन चलाउन सक्ने हुनुपर्छ।’
क्रु मेम्बर बन्न चाहने नेपालीका लागि सार्वजनिक सूचना प्रकाशन गरिने र खुला छनोट गरिने पनि उनले बताए।
क्रुज सिपमा सयर गर्ने यात्रुले विभिन्न मनोरञ्जन लिन सक्छन्। त्यसको लागि विभिन्न प्याकेजको सुविधा रहेको छ।
‘क्रुजमा ३ देखि ४ घन्टा बिताउन मिल्ने प्याकेज ल्याउँछौं,’ कँडेल भन्छन्, ‘थारु कल्चरल सोदेखि डिनरको सुविधा क्रुजभित्रै हुन्छ।’
यीबाहेक क्रुजबाट नारायणी नदीलगायत अन्य मनोरम दृष्य हेर्न सकिन्छ।
‘ज्ञानेश्वर सामुदायिक वनको हरियालीसँगै मौलाकालिका मन्दिर देख्न सकिन्छ,’ उनी भन्छन्, ‘देवघाट पवित्र स्थलसँगै क्रुजबाटै गैंडा पनि देख्न सकिनेछ।’
क्रुज सिप सयर गर्ने पर्यटकको सुरक्षालाई कम्पनीले प्राथमिकतामा राखेको छ। हवाइजहाजमा जस्तै यात्रु क्रुजमा बसेपछि कर्मचारीले सुरक्षा ब्रिफिङ गर्नेछन्।
प्रत्येक यात्रुको लागि लाइफ ज्याकेट हुनेछ।
‘तर लाइफ ज्याकेट सबैले लगाएर बस्न अनिवार्य हुनेछैन,’ कँडेलले भने, ‘मनोरञ्जनका लागि चढ्ने भएकाले लाइफ ज्याकेट लगाउँदा पर्यटकले झन्झट मान्न सक्छन्, त्यसैले प्लेनको जस्तै खुला रूपमा बस्न दिन्छौं,’ उनले भने।
क्रुज सिप चल्ने रूट हिउँद र वर्षामा छुट्टाछुट्टै हुनेछ। वर्षामा पानीको बहाव बढी हुने भएकाले नारायणीको पुलबाट क्रुज छिर्न सक्दैन। त्यसैले क्रुज वर्षामा देवघाट पुग्ने छैन। यो बेलामा क्रुज काभ्रेघाटदेखि गोलाघाटसम्म जानेछ। गोलाघाट नारायणी र राप्तीको संगमस्थल हो।
हिउँदमा भने काभ्रेघाटबाट देवघाटसम्म नै चल्नेछ। हिउँदमा गोलाघाट भने जाने छैन।
‘गोलाघाटमा नारायणी नदी दुईतिर भएर बगेको छ। जसमा सानो भाग गोलाघाटतिर बग्छ। त्यसैले त्यो बेला क्रुज लैजान सम्भव छैन,’ कँडेलले भने।
सुरुआती वर्षमा ९ महिनामात्र क्रुज सिप चलाउने कम्पनीको योजना छ।
‘वर्षामा चलाउन सम्भव भए पनि तीन महिना बन्द गर्छौं,’ कँडेल भन्छन्, ‘बाढी आउने मौसममा पानीको बेग बढी हुने, ठूल्ठूला मुढा बगाएर ल्याउने हुँदा यात्रुले सुरक्षित नमान्न सक्छन्। अनि यात्रुले सुरक्षित नठानेपछि हामीले पनि कसरी चालउने?’ उनले भने।
नारायणीमा बलुवा भरिएर क्रुजसिप चलाउन अप्ठ्यारो त हुन्न भन्ने प्रश्नमा कँडेलले भने, ‘सम्भवत: हुँदैन। नारायणी नदी नेपालकै गहिरो र यही क्षेत्रमा बढी गहिरो भएकाले बलुवा भरिएर चल्न नसक्ने समस्या रहँदैन। यदि कसैगरी भइहाले हामी ड्रेजिङ गर्छौं।’
नदीमा बालुवा बढी भएको बेला मेसिन प्रयोग गरेर बालुवा हटाउने प्रविधिलाई ‘ड्रेजिङ' भनिन्छ।
ड्रेजिङबाहेक पोर्टका लागि तटबन्ध पनि गर्नु पर्नेछ। अहिलेलाई काभ्रेघाटमा रहेको पोर्ट वरपर तटबन्ध गर्न प्रदेश सरकारले १ करोड बजेट उपलब्ध गराएको छ। बाँकी रकम कम्पनीले आफै खर्च गरेको छ।
क्रुज सिप चढ्न चाहनेका लागि दुई थरीको टिकट उपलब्ध गराउने कम्पनीको योजना छ। एकथरी टिकटबाट क्रुजमा चढनमात्र मिल्नेछ भने अर्को टिकटबाट खानासहितको सुविधा रहनेछ।
अहिलेलाई टिकटको मूल्य ७ सय रुपैयाँ प्रस्ताव गरिएको छ। कँडेलले भने, ‘यो प्रारम्भिक प्रस्ताव हो। यसमा केही थपघट हुनसक्छ।’
स्थानीयका लागि भने टिकटमा १० प्रतिशत छुटको सुविधा हुनेछ। बालबालिका र जेष्ठ नागरिकलाई पनि सहुलियत दिइनेछ।
कँडेलले यो परियोजनालाई आफ्नो ‘मुटुको परियोजना’को रूपमा लिएका छन्।
उनी भन्छन्, ‘युवालाई प्रत्सोहन गर्न सबै कुरा छोडेर जल यातायातमा लागिपरेको छु। प्रोजेक्ट सफल भए जल यातायातको क्षेत्रमा कोशेढुंगा सावित हुन्छ।’
परियोजना सफल भए रूटलाई विस्तार गरेर भारतको त्रिवेणीघाटसम्म पुर्याउने उनले सुनाए। जहाँबाट हजारौं भारतीय पर्यटक नेपाल भित्र्याउन सक्ने उनको दाबी छ।
‘त्रिवेणीघाटमा आएका पर्यटकहरुलाई नारायणघाट ल्याउन सक्यौं भने यहाँकै समग्र पर्यटनलाई सघाउ पुग्छ,’ कँडेल भन्छन्, ‘भरतपुर नेपालको पर्यटनका लागि केन्द्र हो। यहाँबाट काठमाडौं, पोखरा, लुम्बिनी जान पनि सहज छ।’
आफ्नो परियोजनमा दृढ रहेका कँडेल पानीजहाज चलाउने सरकारको योजनाका लागि भारतको मुख्य भूमिका हुने देख्छन्।
‘मैले क्रुज सिपका लागि गरेको अध्ययनबाट नेपाल सरकारले नारायणीमा पानीजहाज चलाउने सक्ने देखेको छु। ३-४ अर्ब लगानी गर्ने हो भने भारतबाट नारायरणीपुलसम्म पानीजहाज ल्याउन सकिन्छ, तर यसमा भारतको भूमिका हुन्छ,’ उनले भने।