संविधान दिवस मनाउन कर्णाली प्रदेशमा समिति गठन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा २० सदस्यीय मुल समारोह समिति गठन गर्ने निर्णय गरेको हो।
मुल समारोह समितिका सदस्यहरुमा प्रदेश सभाका सभामुख, उच्च अदालतका मुख्य न्यायाधिस, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समिति सुर्खेतका प्रमूख, प्रदेश सरकारका प्रमुख सचिव छन्।
असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। दिवसमा प्रदेशका मन्त्रालय, मन्त्रालय मातहतका निकाय, स्थानीय तहहरुमा सरसफाई गर्ने, दिपावली तथा राष्ट्रिय झण्डा फहराइने छ।
दिवसका अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट तथा विभिन्न सामाजिक संघसंस्थाहरुले साँस्कृतिक पहिचानसहितको झाँकी प्रदर्शन गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विनोदकुमार गौतमले जानकारी दिए।
यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सामाजिक विकास मन्त्री दल रावलको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप संचालक उपसमिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ।