नेपाली कांग्रेसले आफ्ना नेतालाई लामो समय लिएर भाषण गर्न रोक लगाएको छ।
तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र लक्षित गरेर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गरेको कांग्रेसले केन्द्रबाट खटिएर जाने नेतालाई ‘कम बोल्न, धेरै सुन्न’ निर्देशन दिएको हो।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले बीपीको १०६ औं जन्मजयन्तिको अवसर पारेर भदौ २४ गते दोस्रो चरणको जागरण अभियान सुरू हुने जानकारी दिए।
कांग्रेसले तीन सय ३० निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने उनले बताए। यी प्रतिनिधिको काम गाउँ गएर भाषण गर्नेभन्दा कार्यकर्ता र जनताका कुरा सुन्नुपर्ने शर्माले जानकारी दिए।
‘केन्द्रीय प्रतिनिधिले बोल्ने कम, सुन्ने धेरै गर्नुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘आफूले जिम्मेवारी लिएको प्रदेशसभा क्षेत्रको समग्र अवस्था पछि पार्टीलाई जानकारी गराउनुपर्छ।’
कांग्रेसले हिमाल, पहाड र तराईका क्षेत्रमा गर्न लागेको अभियानको उद्घाटन कार्यक्रमलाई छरितो बनाएको पनि बताएको छ।
‘एक मिनेटमा आसनग्रहणका कार्यक्रम सकिन्छ,’ उनले भने, ‘ब्याच लगाउन पाइने छैन भने नेताहरूलाई किलोका किलो मालाले स्वागत गर्न बन्देज लगाइएको छ।’
पार्टीले जागरण अभियानलाई जनताको कुरा सुन्ने थलो बनाउन खोजेको शर्माले जानकारी दिए।
‘कार्यक्रम अन्तर्क्रियात्मक हुन्छ। नेतालाई कम बोल्न र धेरै सुन्न भनेका छौं,’ उनले भने।
अभियानका क्रममा युवालाई कांग्रेसमा आकर्षित गर्ने योजना पनि कांग्रेसले ल्याएको छ।
‘१५ दिनमा एक लाख युवामाझ कांग्रेस पुग्छ,’ उनले भने, ‘उनीहरूलाई देश, लोकतन्त्र, कांग्रेस, वीपीका विचार र संस्कारबारे जानकारी गराउँछौं।’
कांग्रेसले अरू पार्टीका सदस्यलाई आफ्नो पार्टीमा प्रवेश गराउने र नयाँ सदस्यता विस्तारलाई पनि अभियानको प्रमुख कामको रूपमा राखेको उनले बताए।
‘पहिलो चरणमा वैशाख २५ देखि एक महिना चलेको अभियानमा ३१ हजार छ सय जना कांग्रेसमा प्रवेश गरेका थिए। दोस्रो चरणमा यो संख्या बढ्ने संकेत छ,’ उनले भने, ‘नवप्रवेशीलाई पार्टीले प्रशिक्षण दिएपछि मात्रै आवश्यक जिम्मेवारी दिन्छ।’
कांग्रेसले अभियान अवधिभरमा वडास्तरीय अन्तर्क्रिया, गाउँका जनताको भावना बुझ्ने, वडाको विकास र पार्टीको भूमिकाबारे छलफल गर्ने, स्थानीय सरकारको दुई वर्षे समीक्षा गर्नेजस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ।
‘हामी सहिद परिवार, अग्रज र द्वन्द्वपीडितका आँगनमा पनि पुग्छौं,’ शर्माले भने।
कांग्रेसबाट उम्मेदवार बनेर स्थानीय तहमा चुनाव जितेका ठाउँका प्रतिनिधिसँग कांग्रेस गाउँको विकासबारे र पार्टीबारे पनि आन्तरिक रूपमा छलफल गर्ने तयारी गरेको छ।
अभियानको अन्तिम दिन असोज ७ मा विरोध सभा गर्न कांग्रेसले प्रदेशसभा निर्वाचन क्षेत्रहरूलाई निर्देशन दिएको छ।
‘बढ्दो महंगी, वाइड बडीलगायत भ्रष्टाचार काण्ड, महिला हिंसा, बलात्कारजस्ता घटनाहरू, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारका नराम्रा कामबारे खबरदारी गर्न ७७ वटा जिल्लामै खबरदारी सभा हुन्छ,’ शर्माले भने।
कांग्रेसले पहिलो चरणमा स्थानीय तहहरू लक्षित गरेर गरेको जागरण अभियानमा कार्यकर्ताले नेताहरूलाई नै जागरण चाहिएको प्रतिक्रिया दिएका थिए। नेताहरू मिलेदेखि कार्यकर्ता एक भएर लाग्न तयार रहेको पनि उनीहरूको सन्देश थियो।
पहिलो चरणमा कार्यकर्ताले दिएको सुझाव कत्तिको ग्रहण गरेर दोस्रो चरणका कार्यक्रम घोषणा गरियो? भन्ने प्रश्नमा पार्टीका उपसभापति विमलेन्द्र निधिले विधानअनुसार अन्तरिम संरचना बनाउने काम भएको र नेताहरूबीच मनमुटाव नरहेको दाबी गरे।
‘कार्यकर्ताहरू प्रष्ट हुनुभए हुन्छ नेताहरूबीच झगडा छैन, सहमतिबाटै पार्टीका कामहरू बढिराखेका छन्,’ निधिले भने, ‘समस्याहरू न्यूनिकरण गरेर दोस्रो चरणमा देशैभर पार्टीले अभियान चलाउन लागेको हो।’