परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपयुक्त समयमा चिनियाँ उच्चस्तरीय राजनितिक तहबाट नेपालको भ्रमण हुने बताएका छन्।
आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने चर्चासँगै परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ उच्चस्तरिय राजनीतिक तहबाट नेपालको भ्रमण हुनेमा आफुहरु विश्वस्त रहेको बताए।
प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले सो कुरा बताएका हुन्। मन्त्री ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेश मन्त्री वाङ यीले यसै साता नेपालको तीन दिने औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन्।
सो भ्रमणमा विदेशमन्त्री वाङसंग केरुङ, कर्णाली, कालीगण्डकी करिडोरको निर्माणसँगै चीनको तिव्र विकासको लयसँग नेपालले कसरी लय मिलाउन सक्छ भन्ने विषयमा छलफल भएको उनले बताए।
उनले पछिल्लो समय विदेशमा नेपालको छवि बढ्दै गएको र छिमेकी मुलुकहरुको नेपालप्रतिको रुचि तथा आकर्षण बढ्दै गएको बताए। उनले नेपालसँग अन्तरदेशीय सम्बन्ध सुमधुर बन्दै जाँदा चीन नेपालको विश्वासिलो विकास साझेदार समेत बन्दै गएको बताए।
मन्त्री ज्ञवालीले यसैसाता पुरा भएको पेट्रोलियम पाइपलाईनको उद्घाटनले पनि चिनसँगै नेपाल र भारतको सम्बन्ध पनि सुमधुर बन्दै गएको पुष्टि गरेको बताए। ‘विगतमा जे समस्या थिए ती समस्यालाई सधैका लागि समाधान गर्दै नेपाल दुवै देशसँग सम्बन्ध बढाउन चाहन्छ’ उनले भने।
परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय खुल्ला सिमानाको दुरुपयोग गरी अवाञ्छित कृयाकलाप नबढोस् भन्ने तर्फ सचेत बन्दै सरकारले सिमा निर्धारण र सिमा स्तम्भहरुलाई व्यवस्थित गरिरहेको बताए।
ज्ञवालीले वर्तमान सरकारले धेरै राम्रा कामहरु गरेको भएपनि जनताको अपेक्षाहरु धेरै भएका कारण ओझेलमा परेको बताए। ‘२८ महिनामा पुरा गर्ने लक्ष्य लिएको पेट्रोलियम पाइपलाइन १६ महिनामै सकियो, भेरी बबई डाईभर्सन, गौतमबुद्ध विमानस्थल लगायतका विकास आयोजना पनि लक्ष्य अनुसार निर्माण सम्पन्न भइरहेको छ’ उनले भने।
भ्रष्टाचार पुरै रोक्न नसकिए पनि यसप्रति सरकार निर्मम बनेको उनले बताए। ‘हिजो मालपोत, भन्सार कार्यालय, वैदेशिक रोजगार विभाग जस्ता निकायमा जान लालायित हुनेहरु आज सरकारले त्यहाँका प्वाल बन्द गरिदिएका कारण जान इच्छुक छैनन् यसले पनि सरकार भ्रष्टाचार र अनियमितता प्रति निर्मम बनेको छ भने प्रष्ट हुन्छ’ उनले भने ।
उनले सरकार सही दिशामा रहेको दावी गर्दै अहिले विकासोन्मुख मुलुकबाट विकासशिल बन्दै गएको नेपाल २०३० सम्म मध्यम आय भएको मुलुकको रुपमा स्थापित हुने दावी गरे।