प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न सिंगापुरका डाक्टरलाई सरकारले ‘सुप्रसिद्ध प्रवल जनसेवा’ मानपदवी दिएको छ।
सरकारले शुक्रबार संविधान दिवसका अवसरमा नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरकी डाक्टर अनन्थरमन भाथसालालाई सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकले विभुषण दिएको हो। सरकारले विभुषण पाउनेहरूको सूची शुक्रबार सार्वजनिक गरेको छ।
त्यसमा सबैभन्दा ठूलो महाउजज्जवल राष्ट्रदीप पदक साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन पर्यटन उड्डयन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई दिइएको छ।
सोपछिको दोस्रो मानपदवी पाउनेमा डाक्टर अनन्तरमन पनि छिन्।
अनन्तरमन प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सक हुन्।
प्रधानमन्त्री ओली गत साउन र भदौमा उपचारका लागि सिंगापुर गएका थिए।
दुबै पटक सिंगापुर जाँदा ओलीको उपचारमा अनन्तरमन संलग्न थिइन्।
अन्य तीन जना भारतीय चिकित्सकलाई पनि सोही हैसियतको मानपदवी दिइएको छ।
पदवी पाउने चिकित्सकमा म्याक्स ग्रुप अफ हस्पिटल भारतका अनन्त कुमार, इन्स्टिच्युट अफ एडल्ट रिकन्सट्रक्सन, स्पोर्टस् इन्जुरी एन्ड ज्वाइन्ट रिप्लेसमेन्टका राजीवकुमार शर्मा र एपोलो हस्पिटल दिल्लीका प्रमुख हर्ष दुवा छन्।
१२ वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौला भारतमा प्रत्यारोपण गरिएको थियो। कुमारले नै उनको मिर्गौला प्रत्यारोपण गरेको भन्ने यकिन छैन।
यस्तै, सरकारले प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहलाई पनि सोही मानपदवी दिएको छ। सोही मानपदवीबाट स्वर्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई दिइएको छ।
रक्षामन्त्रीको अध्यक्षतामा विभुषण छनोट समिति गठन गरिएको थियो। उसले अन्तिम नामावली पठाएपछि मंगलबार साँझ मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल राष्ट्रलाई केही न केही योगदान गरेको मूल्यांकन गरेर पदवी दिइएको बताए।
‘केही न केही भएरै सरकारले पदवी दिएको हो। कानुनअनुसारै दिइएको हो। कानुनमा विदेशीलाई पदवी दिन नहुने लेखेको छ र?,’ उनले भने।
संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी, अङ्कार र पदकद्वारा सम्मानित गरिएको छ। यो वर्ष ६३४ जनालाई पदकद्वारा विभूषित गरिएको छ।