नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले शनिबारको सचिवालय बैठकमा औपचारिक रूपमै घोषणा गरे- म कास्की २ बाट चुनाव लड्न चाहन्नँ।
कास्की-२ बाट चुनाव जितेर मन्त्रीसमेत भएका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उनको निर्वाचन क्षेत्र रिक्त छ।
वामदेवले पटक-पटक अधिकारीको क्षेत्रमा आफू नलड्ने बताउँदै आएका थिए।
फागुन १८ गते उनले फेसबुकमा स्टाटस नै लेखे- मृत्युशोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ। जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म क. रवीन्द्रको दु:खद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन।
तर पनि उनको कुरा कसैले पत्याएन। उनी नै अधिकारीको क्षेत्रमा उम्मेद्वारी दिन्छन् भन्ने अड्कल काट्न कसैले छोडेनन्। वामदेव र अधिकारीको निकटताले पनि यो अड्कल काटिएको हुन सक्छ। एमाले फुटाएर वामदेवले अर्को पार्टी माले बनाउँदा अधिकारी उनीसँगै थिए। अधिकारी सधै वामदेवसँग निकट रहे।
तर कास्कीका कतिपय नेताले मात्र होइन नेकपाका दुबै अध्यक्षले समेत उनलाई अधिकारीको ठाउँमा चुनाव लड्न प्रस्ताव गरे।
त्यसको जवाफ उनले केही समय नदिइ बसे। यसैबीच कास्की-२ मा चुनाव लड्दा कस्तो परिणाम आउँछ भन्ने ‘रिसर्च’ गर्न लगाए।
गौतमलाई लामो समयदेखि उनीनिकट रहेका पोखराका दुई नेताले भने कास्कीबाट चुनाव नलड्न सुझाए।
गण्डकी प्रदेश कमिटिका सदस्य पुण्य पौडेल र कास्की जिल्लाका सहइन्चार्ज शारदाप्रसाद सुवेदी करिब १५ दिनअघि काठमाडौं आएका बेला यस्तो सुझाव दिएका थिए।
‘दुई नेताले पोखरामा उठ भनेका छन्, मेरो मन त छैन के गर्ने होला भनेर सोध्नुभएको थियो,’ पौडेलले सेतोपाटीसँग भने, ‘मैले उहाँलाई दुई नेताले भनेर भएन चुनाव जित्ने त तलैबाट होला नि भने।’
त्यो दिन उनीहरूले वामदेवलाई तीन वर्ष सांसद बन्न किन कास्की आउन लागेको भन्ने औचित्य मतदातासामू प्रष्ट पार्नु पर्ने चुनौती हुने बताएका थिए।
‘तपाईं अब तीन वर्षको लागि किन संसदमा जाने भन्ने औचित्य पुष्टि हुँदा चुनाव जितिन्छ, नत्र जितिन्न,’ उनीहरूले भने।
संसदमा केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल हुँदाहुँदै वामदेव निर्वाचित भएर संसदमा आउनै पर्ने कारण यो, यो हो भनेर दुई अध्यक्षले पोखरामा उनको उम्मेद्वारीको औचित्य प्रष्ट पार्नुपर्ने पनि उनीहरूले सुझाए।
‘नत्र’ पौडेलले भने, ‘विद्याजीलाई दिए हुन्छ।’
विद्या दिवगंत अधिकारीको श्रीमती हुन्।
आफ्नानिकट कार्यकर्ताले नै नउठ्न सुझाएपछि उनले कास्की नजाने निष्कर्षमा पुगेका थिए।
वामदेवले बर्दियामा हारेकाले पोखरामा उठ्न सुरूदेखि नै मन गरेका थिएनन्। तर उनले त्यतिबेलासम्म कास्की नजाने निष्कर्ष भने निकालिसकेका थिएनन्।
उनले शनिबार सचिवालयमा दिएको जवाफमा पनि लेखेका छन्-
यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ बाट उम्मेदवार भएको यहाँहरूमा विदितै छ। उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो। तर, म पराजित हुनुपर्यो,’ उनले भनेका छन्, ‘त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो। तर मलाई विश्वास छ मभन्दा अरू कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ।’
झन्डै दुई वर्षअघि भएको प्रतिनिधिसभा चुनावमा उनी नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दिया क्षेत्र-१ बाट चुनाव हारेका थिए।
चुनावमा पराजित भएसँगै उनले फेरि चुनाव लड्ने र सांसद हुने चर्चा चलेको थियो। वर्ष दिनअघि काठमाडौं -७ मा चुनाव लड्न नेकपा सांसद रामवीर मानन्धरले ठाउँ खाली गर्न राजीनामा दिएका थिए। तर पार्टीभित्र र बाहिरविरोध भएपछि उनी पछि हटे।