सरकारले स्थानीय निकायबाट चन्दा उठाएर कलेज सञ्चालन गरिरहेको मोरङ उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानलाई पाँच करोड अनुदान निकासा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न शीर्षकमा संघ-संस्थालाई अनुदान निकासा गर्दै पूर्वएमाले नेताहरूका नाममा खोलिएका प्रतिष्ठानलाई मात्र झन्डै १० करोड बाँडेको हो।
मन्त्रालयले अनुदानको रूपमा विभिन्न ५२ प्रतिष्ठानहरूलाई २६ करोड ३५ लाख रुपैयाँ निकासा गरेको छ।
आर्थिक वर्ष २०७५/७६ को बजेटबाट स्वीकृत भएको अनुदान रकम प्रधानमन्त्री केपी ओलीले पर्यटन मन्त्रालय सम्हालेका बखत गत जेठमा प्रतिष्ठानहरूलाई भागबन्डा लगाएका हुन्।
भण्डारीको नाममा स्थापना भएका दुई संस्था मदन भण्डारी स्मृति फाउन्डेसन र प्रतिष्ठानलाई मात्र ९ करोड २५ लाख रुपैयाँ बाँडिएको छ।
फाउन्डेसनले राजनीतिक र सामाजिक गतिविधि गर्दै आएको छ भने प्रतिष्ठानले गरिब तथा विपन्न समुदायलक्षित पठन-पाठन र कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरिरहेको छ।
विपन्नलक्षित पठन-पाठन गराएको दाबी गरे पनि प्रतिष्ठानले नि:शुल्क शिक्षा भने कसैलाई दिएको छैन।
उसले गरिबका नाममा स्थानीय निकायबाट चन्दा नै उठाउने गरेको छ।
यस्तै, पुष्पलाल स्मृति प्रतिष्ठानलाई २ करोड दिइएको छ।
पुष्पलाल अध्ययन केन्द्रलाई १ करोड रुपैयाँ अनुदान दिइएको छ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नाममा १ करोड, रवीन्द्र अधिकारी प्रतिष्ठानलाई पनि १ करोड रूपैयाँ निकासा गरेको छ।
सरकारले प्रत्येक वर्ष सञ्चालन तथा प्रशासनिक खर्चका लागि भन्दै प्रतिष्ठानहरूलाई अनुदान दिँदै आएको छ।
मन्त्रालयका एक अधिकारीका अनुसार सरकारकै अंगका रूपमा प्रतिष्ठानहरूलाई लिई अनुदान दिँदै आएको हो।
‘सरकारले कि प्रतिष्ठान सञ्चालन गर्नुभएन, कि त त्यस्ता प्रतिष्ठानको आम्दानीबाट राजस्व लिन भएन। नभए तिनीहरूलाई सञ्चालन र प्रशासनिक खर्च दिनुपर्यो, यो वर्षेनि बाँडिँदै आएको अनुदान भएकाले आश्चर्य मान्नुपर्दैन,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने।
हालसालै सरुवा भएर गएका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने मन्त्रालयको यो निर्णयबारे जानकारी नभएको बताए।
मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीले गरिब र असहाय विद्यार्थी पढाउन भन्दै स्थानीय निकायबाट लाखौं रकम चन्दा उठाउने गरेको छ। गरिब तथा विपन्न समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा दिने भन्दै उसले उर्लाबारी नगरपालिकासहित करिब एक दर्जन नगरपालिकासँग लाखौं रूपैयाँ चन्दा उठाएको हो। स्थानीय सरकार गठन भएयता सुरू भएको चन्दा शृंखलाको दायरा फराकिलो पार्दै लगिएको छ।
प्रतिष्ठानका अनुसार यो कार्यक्रमअन्तर्गत यस वर्ष पथरी-शनिश्चरे नगरपालिकासँग पाँच लाखको सम्झौता भएको छ।
दमक नगरपालिकासँग सात लाख रुपैयाँको सम्झौता भइसकेको छ। प्रतिष्ठानको यो कार्यक्रमका लागि सबभन्दा बढी उदयपुरस्थित बेला नगरपालिकाले १० लाख रुपैयाँ कबोल गरेको छ।
प्रतिष्ठानले उर्लाबारी, मिक्लाजुङ, पथरी-शनिश्चरे, बेलबारी, दमक, गौरदह र अर्जुनधारा नगरपालिका, झापाको शिवसताक्षी र कानेपोखरी नगरपालिकासँग चन्दा उठाएको छ। यी नगरपालिकामा दुई लाखदेखि दस लाखसम्म सहयोग सम्झौता छ।
यी पनि :
मदन भण्डारी प्रतिष्ठानलगायत संस्था वर्षौंदेखि मापदण्ड मिचेर नर्सिङ कलेज चलाउँदै
स्थानीय सरकारबाट लाखौं ‘चन्दा’ उठाउँदै मदन भण्डारी प्रतिष्ठान