कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका व्यापारीले नापतौलसम्बन्धी अवैध सामग्री प्रयोग गरेर उपभोक्तालाई ठग्ने गरेको पाइएको छ।
जिल्ला प्रशासन कार्याल सुर्खेतबाट गरिएको दसैं लक्षित अनुगमनका क्रममा यस्तो भेटिएको हो।
अनुगमन टोलीले वीरेन्द्रनगरमा सोमबार गरेको अनुगमनका क्रममा २४ वटा पसल र २० वटा फुटपाथ व्यपारीले तराजुमा ठगेको देखिएको छ।
ती पसलमा तराजु प्वाल परेको, भारतीय ढक प्रयोग गरेको, तराजुमा खिया लागेको, तौल बढी गराउन चुम्बक टाँसिएको अवस्थामा नापतौल सामग्री भेटिएको उनले जानकारी दिए।
‘पसलेले नियम पालना गरेको पाइएन,’ प्रजिअ अधिकारीले भने, ‘केही मासु पसलमा त तराजुनै दुषित पाइयो। खिया लागेको र प्वाल परेको पनि भेटियो।’
अनुगमनका क्रममा एकजना मासु व्यापारीले अनुगमन टोलीमाथि अभद्र व्यवहार समेत गरेको उनले बताए। अधिकारीका अनुसार ढुंगालाई ढकका रूपमा प्रयोग गरेको, तराजुको सन्तुलन बिगारेको, साङ्लो हुनुपर्ने तराजुमा डोरी हालेको अनुगमनका क्रममा भेटिएको छ।
अनुगमनका क्रममा वीरेन्द्रनगरबाट १८ थान दुई पल्ले तराजु, चार थान काउण्टर तराजुसहित ६१ वटा ढक बरामद गरिएको छ।
प्रजिअ अधिकारीका अनुसार वीरेन्द्रनगरमा भेटिएका गुणस्तरहीन नापतौल सामग्री प्रयोग गरेका पसल र पसल सञ्चालकको सूची तयार पारी कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको छ।
यसका लागि गुणस्तर तथा नापतौल कार्यालयलाई निर्देशन दिइएको अधिकारीले बताए।
नापतौलसम्बन्धी कसुरअन्तर्गत यसरी नापतौल सामग्री गुणस्तरहीन, मापदण्डविपरित, नापतौल प्रयोजनका लागि अर्को सामग्री प्रयोग गरे त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन्छ। यस्तै यस्तो सामग्री बनाएको, चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजारसमेत जफत हुने व्यवस्था ऐनमा छ।