गृहमन्त्री रामबहादुर थापा 'बादल'ले नागढुंगा-नौबिसे सडकखण्डमा भइराखेको सवारी जाम हटाउन निर्देशन दिएका छन्।
सडकमा सवारीको जाम बढेपछि गृहमन्त्री थापाले शुक्रबार तत्काल जनताले महशुस हुने गरी जाम हटाउन सरोकारवाला पक्षलाई निर्देशन दिएका हुन्। सडक जाममा परेका रौतहटका एक विरामीको शुक्रबार विहान मृत्यु भएको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेस थापा क्षेत्री र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललाई मन्त्रालयमा बोलाएर गृहमन्त्रीले छिटो जाम हटाउनुपर्ने बताएका हुन्।
जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन्।
जाममा परेका बिरामीहरुको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले जोड दिए। चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी र यात्रुहरुलाई आवश्यक टिकट वितरणमा समेत केही जनगुनासो आएको भन्दै उनले निगरानी र कारबाही बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
सडक सुरक्षा र मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको उनले जानकारी दिए। बैठकमा सरकारी अधिकारीहरुले बिहीबारको जामको तुलनामा शुक्रबार केही सहज रहेको बताएका थिए। धादिङका सम्बन्धित सरकारी अधिकारीहरुलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न गृहले निर्देशन दिएको हो।