कर्णाली प्रदेश सभाका सदस्यहरु प्रदेशसभामा बोल्ने क्रममा गल्ती भएका शब्दहरु रेकर्डबाट हटाउने विषयमा बाझिएका छन्।
प्रदेश सभा नियमावली २०७४ को नियम २० (घ) मा उल्लेख गरिएको ‘अशिष्ट शब्द बोल्न नपाईने’ नियमानुसार गल्ती भएका शब्द रेकर्डबाट हटाउने विषयमा सांसद्हरु बाझिएका हुन्।
प्रदेश सभाको ३३ औं बैठकको सुरुमै समय मागेर बोल्दै नेपाली कांग्रेसका सांसद् हिमबहादुर शाहीले ३२ औं बैठकमा नेकपा सांसदले बोल्ने क्रममा प्रतिपक्षी दलमाथि नियमावली विपरित अशिष्ट शब्द प्रहार गरिएको भन्दै त्यस्ता शब्द रेकर्डबाट हटाउन माग गरेका थिए।
‘सत्तापक्षका सांसद् माननीय ठम्मर विष्ट ज्यूले हिजोको बैठकमा बोल्दा प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि नियमावलीविपरित शब्द प्रयोग गरेर प्रहार गरिएको छ,’ उनले भने, ‘यसरी नियमावली उल्लंघन गरी आलोचना गरिएकाले हाम्रो घोर आपत्ति छ, ती शब्दहरुलाई रेकर्डबाट हटाउन माग गर्दछु।’
३२ औं बैठकमा सांसद् विष्टले बजेट कार्यान्वयनको विषयलाई लिएर प्रतिपक्षी दललाई ‘नकाम’ र ‘नालायक’ शब्द बोलेर आलोचना गरेका थिए। त्यसक्रममा उनले सत्तापक्ष दललाई पनि ‘स्वेच्छाचारी’ भएको आरोप लगाएका थिए।
‘बजेटको कार्यान्वयनको अवस्था पोहोरकै दोहोरिने संकेत देखियो, यो सत्तापक्षको स्वेच्छाचारी र प्रतिपक्षीको नकाम (नजाती) स्थितिले गर्दा भएको हो’ ३२ औं बैठकमा सांसद् विष्टले भने।
शाहीपछि सांसद् विष्टले समय मागेर आपत्ति जनाए। उनले प्रतिपक्षी दलले पनि संसद्मा बोल्ने क्रममा सत्तापक्षमाथि नियमावली विपरित शब्द प्रयोग गरेको बताए।
‘प्रतिपक्षी दलका माननीय ज्यूको माग अनुसार शब्द हटाउने हो भने उहाँहरुले पनि यस्तो शब्द प्रयोग गर्नुभएको छ, सुरुको सदनदेखि नै रेकर्ड भएका त्यस्ता शब्द हटाऔं,’ उनले भने, ‘नियमावलीमा यिनै शब्द बोल्न नमिल्ने भनिएको छैन, कि त कुनकुन शब्द बोल्न नहुने भनेर डिक्सनरी दिनुस्।’
विष्टसहित सत्तापक्षका केही सांसद्ले हटाए सुरुदेखिकै नियमावली विपरित भएका शब्द हटाउनु पर्ने नत्र ३२ औं बैठकका शब्द रेकर्डबाट हटाउन नहुने अडान जारी राखेका छन्।