कर्णाली प्रदेशको प्रदेश सभा नियमावली संसोधनका लागि बनेको समितिले संसद बैठक आवश्यकता अनुसार गोप्य रुपमा सञ्चालन गर्ने प्रस्ताव गरेको छ। सांसद धर्मराज रेग्मीको संयोजकत्वमा गठित तीन सदस्यीय प्रदेश सभा नियमावली दोस्रो संसोधन समितिले यस्तो प्रस्ताव गरेको हो।
यस्तै बजेटमाथिको पूर्व छलफल सदनमा नै गर्नुपर्ने प्रस्ताव पनि समितिले गरेको छ। शुक्रबारको सदनमा नियमावली दोस्रो संसोधनसम्बन्धी प्रस्तावमा छलफल गरिएको छ। छलफलका क्रममा सांसदहरुले गोप्य सदन्, प्रि बजेटमाथि सदनमै छलफलको विषयमा प्रस्ट पार्न आग्रह गरेका थिए।
जवाफमा संसोधन समितिका संयोजक सांसद् रेग्मीले प्रतिनिधी सभाको नियमावलीमा पनि गोप्य वैठकसम्बन्धी व्यवस्था भएकाले सुरक्षा तथा अन्य त्यस्ता खालका विषयमा छलफल गर्नुपरेमा गोप्य सदन आवश्यक पर्ने बताए।
मुख्यमन्त्री र सभामुखले आह्वान गर्न चाहेको खण्डमा गोप्य बैठक बस्न सक्ने भन्दै उनले पूर्व बजेटमाथिको छलफल सदनमै गर्दा सहजता आउने देखिएकाले यस्तो प्रस्ताव गरिएको बताए।