चीनको सियान सिटी र नेपालको बुटवल नगरबीचमा भगिनी सम्बन्धको लागि सम्झौतापत्र आदानप्रदान भएको छ।
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका दुई नगरबीचमा भगिनी सम्बन्धको लागि सम्झौता गरिएको हो।
चीनको सियान सिटी चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सिको गृहनगर हो भने बुटवल नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको गृहनगर हो।
यी दुवै नगर साँस्कृतिक तथा ऐतिहासिक रूपमा आ-आफ्नो देशमा महत्वपूर्ण मानिन्छन्।
सियान चिनियाँ संस्कृतिले भरिपूर्ण नगर हो भने जितगढी, रामापिथेकस र नजिकै रहेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीका कारण बुटवल ऐतिहासिक तथा पुरातात्विक सहर मानिन्छ।
सियान सिटीका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सम्झौता पत्र आदानप्रदान गरेका हुन्।
दुई नगरबीचमा भगिनी सम्बन्ध स्थापित भएपछि एकअर्का सहरको संस्कृति आदानप्रदानमार्फत् पर्यटन विकासमा सघाउ पुग्ने विश्वास गरिएको छ।