नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार चियापान कार्यक्रम गर्यो।
बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर भारतबाट नेपाल आएको एक वर्षपछि हरेक दसैंको कोजागत पूर्णिमाका दिन कांग्रेसले चियापान गर्दै आएको छ।
कांग्रेसले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यसमितिको आयोजनामा पार्टी केन्द्रीय कार्यालयमा र ७५ जिल्ला कार्यालयमा आइतबार चियापान गरेको थियो।
केन्द्रीय कार्यालयमा भएको चियापानमा कांग्रेस नेता, कार्यकर्ताबाहेक सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, बाबुराम भट्टराई, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वामदेव गौतम, सुवास नेम्वाङ, रापप्रा अध्यक्ष कमल थापालगायत सहभागी रहेका थिए।
विगतका वर्षहरूमा भन्दा यसपटक कांग्रेसले कार्यक्रम व्यवस्थित बनाएको थियो। लहरै बसेका केन्द्रीय सदस्यले पाहुनालाई अभिवादन गरे भने स्वागतमा बासुरीको धुन बजाइएको थियो।
पाहुनालाई कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले मञ्चमा उभिएर स्वागत गरे।
विशिष्ट पाहुनालाई एकैछिन मञ्चमै राखेपछि शुभकामना दिनका लागि पोडिएमको व्यवस्था थियो।
कांग्रेसको चियापान शुभकामना आदानप्रदानमा मात्रै सिमित रहेन। २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा पनि केन्द्रित रह्यो। शुभकामना आदानप्रदान गर्दै नेताहरूले सी भ्रमणबारे पनि प्रतिक्रिया दिएका थिए।
नेकपा प्रवक्ता श्रेष्ठले भने, 'राष्ट्रपति सीको भ्रमणले असल छिमेकी र मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाएको छ। नयाँ उचाइमा पुर्याएको छ। यसले नेपाल र चीनको बीचमा आर्थिक समझदारी र साझेदारीका प्रयास पनि अघि बढाएको छ।'
श्रेष्ठले राष्ट्रपति सीको भ्रमण सफल भएको पनि बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले कांग्रेससँग मिलेर चुनाव जितेको प्रसंग निकाल्दै सहकार्यको पाटो केलाए।
'नेपाली कांग्रेसजस्तो जेठो लोकतान्त्रिक पार्टीले समृद्ध नेपालका लागि जिम्मेवारी बहन गर्नेछ भन्ने विश्वास गरेको छु,' उनले भने।
भट्टराईले सी भ्रमण सफल रहेको बताए।
'हाम्रा विदेशी पाहुना आउँदा खाली केटाकेटीका मामा आउँदा मामाले के ल्याइदिए, के-कति मिठाइ दिए, कति दक्षिणा दिए भन्ने सोच राख्नु हुँदैन। मित्रराष्ट्रहरूसँगको सम्बन्ध सामरिक हितमा राखेर हुनुपर्छ।' नेताहरू बोलेपछि प्रष्ट नभएमा र थप प्रश्न गर्नुपरे पत्रकारहरूलाई प्रश्न राख्ने समय पनि दिइएको थियो।
पत्रकारले सोधेको सभामुखबारेको प्रश्नमा भट्टराईले भने, 'संविधानअनुसार नै सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्छ।'
चियापानमा आएका कांग्रेसका पाहुनामध्ये लामो समय मञ्चमा प्रधानमन्त्री ओली बसेका थिए।
प्रधानमन्त्री ओलीले देउवासँग आफ्नो ४५ वर्षदेखिको मित्रता रहेको र जेलमा समेत सँगै बसेको स्मरण गरे।
'शेरबहादुर देउवाजी र म विगत ४५ वर्षदेखि साथी छौं, हामीसँगै जेल पनि बसेका छौं,' उनले भने, 'लोकतन्त्र प्राप्तिका लागि हामीसँगै लडेका छौं। रामचन्द्र पौडेल र रामशरण महतलगायत अरू साथीहरू साढे चार दशकदेखिको लोकतन्त्रको सहयात्रालाई तलमाथि गर्न नदिने यात्रामा छौं।'
प्रधानमन्त्री ओलीले कांग्रेससँग सम्बन्ध राम्रो भएको बताए।
'सम्बन्ध बिग्रियो भने पनि यस्ता कार्यक्रमले सुधार गर्छ। म निम्ता मान्न आएपछि सम्बन्ध बिग्रेको भए पनि सुध्रिन्छ,' उनले भने, 'नेपाली कांग्रेसका सबै मित्रहरूलाई जय नेपाल।'
प्रधानमन्त्रीले पत्रकारहरूले सोधेको प्रश्नको भने जवाफ दिएनन्।
'अहिले शुभकामना आदानप्रदानका बेला धूलो चकमक लगाउने कुरा नगरौं,' यति भनेपछि प्रधानमन्त्रीले पाँच मिनेटको सम्बोधन सके।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जय नेपालबाट शुभकामना आदानप्रदान सुरू गरे।
कांग्रेसले व्यवस्थित चियापान गरेको भन्दै नेता नेपालले भने, 'कार्यक्रम व्यवस्थित भएछ, नभए कांग्रेसका कार्यक्रम व्यवस्थित हुँदैन। यसपटक कम्युनिष्टबाट सिक्नुभयो राम्रै भएको छ। एकअर्काका राम्रा कुरा ग्रहण गरौं।'
नेता नेपालले भने आफैंले पत्रकारहरूलाई कुनै जिज्ञासा छ? भनेर सोधे। अनि उनैले थपे, 'जय नेपाल। जय नेपाल कसले भन्दैन? नेपाली भएर। माधव नेपाल भन्या होइन मैले, जय नेपाल भनेको हुँ।'
उनले राष्ट्रपति सी भ्रमणबारे पनि कुरा निकाले।
'चीनको विकास सिक्नका लागि यस्तो भ्रमण आवश्यक ठानिएको थियो,' उनले भने, 'अनेक सम्झौता कहिले कांग्रेस र कहिले कम्युनिष्ट नेतृत्वको सरकारका पालामा भएको छ। चीनप्रति हाम्रो कुनै दुविधा छैन।'
दसैं, तिहार, छठ लगायतको शुभकामना दिँदै नेकपा अध्यक्ष प्रचण्डले व्यवस्थित र अनुशासित रूपले कांग्रेसले चियापान गरेकोमा प्रशंसा गरे। 'राजनीति यस्तै नै हो। असंभव भन्ने कुरा केही हुँदैन, सहकार्यबाट संभव बनाउन सकिन्छ,' उनले भने, 'कांग्रेसको बीचमा आउँदा मलाई सहयात्रीहरूकै बीचमा आएजस्तो हुन्छ। हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टे फेर्दै जान्छ।'
प्रचण्डले सहयात्रीकै रूपमा कांग्रेससँग सहयात्रा जारी रहने बताएका थिए।
पत्रकारहरूले सरकारबारे सोधेको प्रश्नमा जवाफ दिएका प्रचण्डले भने, 'अहिले दुई तिहाइको कुरा नगरौं, धन्यवाद।'
चियापान कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीलगायत उपस्थित पाहुनालाई धन्यवाद दिए।
पत्रकारहरूले सीसँगको भेटबारे सोधेको प्रश्नमा देउवाले भने, 'राष्ट्रपति सीले चीन भ्रमणको निम्ता दिनुभएको छ, म जान्छु।'
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चियापानको अवसरमा कार्यालय परिसरमा रक्तदान कार्यक्रम पनि गरिएको जानकारी दिए।
कार्यक्रमको कांग्रेसले सामाजिक सञ्जालमा लाइभ गरेको, सिसिक्यामेराबाट कार्यक्रमस्थलको सुरक्षा मिलाएको बताएको छ।