२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस-४ फरहदवामा बम बिस्फोट भयो। त्यसै क्षेत्रबाट कांग्रेस पार्टीका उम्मेदवार मोहम्मद अफ्ताब आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम बिस्फोट भएको थियो।
बिस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो। त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन छैन। बिस्फोट बेला गोठमा कति मान्छे थिए भन्ने पनि थाहा छैन।
बिस्फोटमा परी हराएकामध्ये दुई जनाका परिवारले त्यो बेला जाहेरी दिएका थिए। जाहेरी दिने साबिक सरुअठा गाविस-९ की शेख रुक्सना खातुन र सरुअठा-२ का श्रीनारायणसिंह राजपुत थिए। प्रहरीका अनुसार रुक्सनाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको जाहेरी छ।
कसको जाहेरीले के भन्छ?
रुक्सनाको जाहेरीअनुसार ओसी दुबईमा काम गरेर आएका थिए। उनी घर आउँदा गाउँमा चुनावी चटारो थियो। २०६४ चैत २७ गते आलमका मान्छे आएर उनलाई चुनावी प्रचारप्रसार भन्दै आलमकै मोटरसाइकलमा लगे। गाउँगाउँबाट युवा भेला पारेर मतदान बिथोल्दै बुथ कब्जा गर्ने आलमको योजना रहेको जाहेरीमा उल्लेख छ।
'अफ्ताब आलम र उनका भाइ महताव आलम समेतले भोलिपल्ट हुने चुनावमा मत खसाल्न कोही नआओस् भनेर तर्साउने नियतले मेरो छोरा बसेको गोठघरमा बम पड्काए,' रुक्सनाले दिएको जाहेरीमा छ, 'छोरा घाइते भयो। इलाज गराउनुको सट्टा रहस्य खोल्ला भनेर अफ्ताबकै पक्षका व्यक्तिको इँटाभट्टामा लगेर भुंग्रोमा जिउँदै जलाएर मारेको थाहा पाएँ।'
यो थाहा पाएपछि रुक्सना रुँदैकराउँदै आलमको घरमा पुगेको समेत उनले जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँ सोधीखोजी गर्दा 'तिम्रो छोराको जुत्तासम्म बाँकी होला' भन्दै जुत्ता लिन मोबिन आलमकहाँ पठाइएको जाहेरीमा उल्लेख छ। आलमकहाँ पुगेकी रुक्सनालाई जुत्ता फिर्ता दिएर पठाइएको थियो।
रुक्सनाको जाहेरी चुनावपछि २०६५ वैशाख १८ गते दर्ता भएको देखिन्छ। पछि रुक्सना खातुनको गोली हानी हत्या भयो।
'घर जान्छु भन्दा इँटाभट्टाको चिम्नीमा छिराएर जलाइयो'
नारायणसिंह राजपुतको जाहेरीअनुसार २४ वर्षीय त्रिलोकलाई चुनाव प्रचार गर्न आलमसहितका मान्छे चैत १९ गते घरमै लिन आएका थिए। त्यस दिन नारायणसिंहले रोके।
'यस्तो चुनाव प्रचारप्रसारमा मेरो छोरा जाँदैन, म जान दिन्नँ भनेर रोकेँ,' नारायणसिंहको जाहेरीमा उल्लेख छ, '२० गते म नभएको मौकामा लगेछन्।'
घर फर्किँदा त्रिलोकलाई नदेखेपछि नारायणसिंह खोज्दै आलमको घर पुगे। २१ गते छोरा लिन गएका नारायणसिंहलाई आलमसहितका व्यक्तिले भने, 'हामीले आफ्नो जिम्मामा काममा लगाएका छौं। तिम्रो छोरालाई केही हुँदैन, पछि घरमै ल्याइदिउँला।'
पाँच दिन बित्यो। त्रिलोक घर आएनन्। छैठौं दिन त्रिलोकको मृत्यु भएको खबर आयो।
'ज्यानै जाने गरी घरमा जानीजानी बिस्फोट गराउँदा मेरो छोरा घाइते भएको थियो,' जाहेरीमा भनिएको छ, 'घाइते अवस्थामै त्रिलोकले 'म आफ्नो घर जान्छु, उपचार गराउन दिनुस्' भन्दाभन्दै इँटाभट्टाको दाउरा हाल्ने प्वालमा हालेर जिउँदै जलाएर शव गायब गरियो।'
रुक्सना र श्रीनारायणसिंहका यिनै दुई जाहेरी अस्तित्वमा रहेकाले रौतहट क्षेत्र नम्बर-२ बाट निर्वाचित सांसद आलम घटना भएको १२ वर्षपछि आइतबार आफ्नै निवासबाट पक्राउ परे।
प्रहरीका अनुसार यो घटनामा आलम, उनका भाइ महताव आलम, शेख भदई, मोबिन आलम र शेख सराज गरी पाँच प्रतिवादी छन्। आलम पक्राउ परे पनि अन्य प्रतिवादी फरार रहेको रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले बताए। उनका अनुसार बिस्फोटपछि इँटाभट्टामा मारिएका अन्य व्यक्ति को थिए भन्ने खुलेको छैन।
'नेपाली थिए या भारतीय थिए भन्ने संख्यासमेत यकिन नभएको अवस्था छ,' खत्रीले भने।
यी जाहेरीमा पहिले पनि प्रहरीले छानबिन गरेको थियो। यी सबै प्रतिवादीविरूद्ध २०६५ असार ९ गते जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो। असार ३० गते महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयको निर्णयको पक्ष लिँदै मुद्दा नचलाउने भएपछि रौतहट बमकाण्ड ओझेलमा पर्यो।
यो निर्णयविरूद्धको रिटका आधारमा सर्वोच्च अदालतले उक्त आदेश २०६९ जेठ १६ गते खारेज गरिदियो। यसले कांग्रेस नेता आलमसहितका व्यक्ति पक्रेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुल्यो। तर, राजनीतिक पहुँच र शक्तिसामु प्रहरीले लामो समय आलमलाई समात्न सकेको थिएन।
यसपल्ट भने रौतहट प्रहरीले फैसला कार्यान्वयन निर्देशनालयको ताकेतापछि आलमलाई दायरामा ल्याएको छ। प्रहरीले त्यही पहिलेको प्रतिवेदनका आधारमा कर्तव्य ज्यान मुद्दामा आलममाथि अनुसन्धान थाल्ने भएको छ।
'पहिले भएको अनुसन्धान प्रतिवेदनका तथ्य-यथार्थ केलाई पीडित पक्ष तथा साक्षीको बयान संलग्न गराएर मुद्दा अघि बढाउँछौं,' रौतहट प्रहरी उपरीक्षक खत्रीले भने, 'यी जाहेरीउपर नै कारबाही थाल्छौं।'
रौतहट प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीका अनुसार आलमलाई हिरासतमा राख्ने पूर्जी दिइसकिएको छ। स्वास्थ्य परीक्षण गरी हिरासत लिइसकिएको छ। उनलाई मंगलबार अदालत खुलेसँगै कर्तव्य ज्यानमुद्दामा अनुसन्धान गर्न हिरासतमा राख्ने समय थपका लागि अनुमति मागिने छ।
रुक्सानाको जाहेरी
नारायणसिंह राजपुतको जाहेरी