शेख रुक्सना खातुनले आफ्ना जेठा छोरा ओसी अख्तरलाई न्याय दिलाउने अड्डी लिएकी थिइन्।
२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको ठीक एक दिनअघि रौतहटको फरहदवामा रुक्सनाका जेठा छोरासहित दर्जनभन्दा बढी मारिएका थिए।
उनीहरूलाई कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलमको चुनाव प्रचारका लागि लगिएको थियो।
आलमका काका शेख इद्रिसको गोठमा भएको बम विस्फोटमा घाइते छोरालाई इँटाभट्टामा जिउँदै जलाइएको भन्दै रुक्सनाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
उनले जसै जाहेरी दिइन्, कहिले फिर्ता लिन दबाब आयो, कहिले धम्की। साबिक सरुअठा गाविस-९ स्थित उनको घरमा लगातार आक्रमण भयो। उनलाई आलमका भाइ मोहम्मद महतावले लालच र धम्की दिए।
'कहिले घरको झ्यालमा गोली हानिन्थ्यो, कहिले ढोकामा,' रुक्सनाका सम्धी सम्सुल मियाँले सेतोपाटीसँग भने, 'आलमको भाइ मकहाँ पनि धम्की र लोभ देखाउन आएको थियो।'
उनका अनुसार मोहम्मद महतावले 'जग्गा चाहिन्छ भए जग्गा लिऊ, पैसा चाहिए पैसा लिऊ' भन्दै प्रलोभन दिएका थिए।
रुक्सनाको एउटै जवाफ हुन्थ्यो, 'हामीलाई पैसा चाहिँदैन, न्याय चाहिन्छ।'
प्रहरीले अनुसन्धान गरेर आलमविरूद्ध प्रतिवेदन पठायो। सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गर्यो। साक्षी प्रमाण हुँदाहुँदै मुद्दा रोक्न नपाइने भन्दै रुक्सनाले दुई वर्षपछि २०६७ सालमा सर्वोच्चमा रिट हालिन्।
यसबीच घटना देख्नेहरू डरले चुप थिए। मारिएका व्यक्तिका परिवारसमेत राजनीतिक रूपले बलिया आलमविरूद्ध बोल्न सकेनन्। रुक्सना भने धम्की र लोभलालचबाट डगमगाएकी थिइनन्।
उनीजस्तै न्यायको लडाइँमा लागेका थिए, श्रीनारायण सिंह राजपुत। उनी रुक्सनाका छोरासँगै मारिएका 'पिन्टु' भनिने त्रिलोकप्रतापका बुबा हुन्।
'हामीलाई पनि धेरै धम्की आयो। पहिले दुई लाख दिन्छु भन्थे। नमानेपछि दस लाख दिन्छु भने,' श्रीनारायणले सेतोपाटीसँग भने, 'आलमका भारतीय नातेदारहरू पैसाको लोभ देखाउँदै आएका थिए। हामीले मानेनौं। न्याय चाहिन्छ भन्यौं।'
चारैतिरबाट धम्की आउन थालेपछि रुक्सना हत्तपत्त एक्लै बस्थिनन्। बाहिर हिँड्नुपर्दा सम्धिनी, अर्थात् सम्सुल मियाँकी पत्नीलाई सँगै लिएर जान्थिन्।
२०६७ कै एकदिन रुक्सना तीन किलोमिटर टाढाको माइतीबाट सम्धिनीसँग घर फिर्दै थिइन्। बाटोको उखुबारीमा केही नकाबधारी लुकेका रहेछन्। एक्कासि आक्रमण गरे। बन्दुकको नाल रुक्सनाको टाउकोमा हाने। मियाँकी पत्नी डराएर भागिन्। रुक्सनालाई नकाबधारीले गोली हानेर मारे।
उनलाई मार्न आलमले नै मान्छे खटाएको स्थानीय गाउँले बताउँछन्।
'जो बोल्थ्यो, त्यसलाई ठोक्थ्यो,' मियाँ भन्छन्, 'हाम्रो सम्धिनी बोल्नुभयो, गोली ठोक्यो।'
प्रहरीले रुक्सनाको हत्यामा अनुसन्धान गर्यो। अभियुक्तहरू पहिचान भए, तर पक्रन सकेन। यो मुद्दा जिल्ला अदालतमै विचाराधीन छ।
बरू रुक्सना मारिएको दुई वर्षपछि उनका छोराको हत्यासम्बन्धी रिटमा सर्वोच्चले आदेश दियो। रुक्सनाले नै छोराका हत्यारालाई मुद्दा चलाउन रिट दिएकी थिइन्। तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले प्रतिवादीहरूलाई पक्रेर अनुसन्धान बढाउन आदेश दियो।
सर्वोच्चको आदेशमा उल्लेख भएअनुसार रौतहट प्रहरीले २०६५ जेठ १९ गते नै घटनास्थलबाट बरामद माटो तथा मृतक ओसी अख्तरको लुगा र जुत्ता परीक्षणका लागि पठाएको पाइन्छ।
घटनाका प्रत्यक्षदर्शी सराजुल मियाँका अनुसार बम विस्फोटमा एक-दुई जना मारिएका थिए। घाइतेमध्ये त्रिलोकलाई दुवै हात र दायाँ तिघ्रा र ओसी अख्तरलाई बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको थियो।
'बम विस्फोट भएकै साँझ प्रहरीका दुइटा गाडी बीचको ट्याक्टरबाट बोराको पोका निकालेर इँटाभट्टामा हाल्दै गरेको देखेँ,' प्रत्यक्षदर्शी सराजुलको बयान सर्वोच्चको आदेशमा उल्लेख छ। उनले आफू गहुँबारीमा लुकेर बाँचेको बयानमा भनेका छन्।
ओहिद मियाँ नामका व्यक्तिले पनि 'बम विस्फोटको दिन बिहान ६ बजे अफ्ताब आलमका भाइ मोहम्मद महतावले ओसी अख्तर र शेख सराजलाई मोटरसाइकलमा राखेर पश्चिमतिर गएको' बताएका छन्। शेख सराज मुद्दाका एक प्रतिवादी हुन्।
रुक्सनाले यिनै प्रत्यक्षदर्शीको भनाइ आफ्नो जाहेरीमा लेखेकी थिइन्।
'अफ्ताब आलम र उनका भाइले चुनावमा भोट खसाल्न कोही नआओस् भनेर तर्साउने नियतले मेरो छोरा बसेको गोठघरमा बम पड्काए,' जाहेरीमा छ, 'छोरा घाइते भयो। इलाज गराउनुको सट्टा रहस्य खोल्ला भनेर अफ्ताबकै मान्छेको इँटाभट्टामा जिउँदै जलाएर मारेको थाहा पाएँ।'
आफू रुँदै-कराउँदै आलमको घर पुगेको पनि रुक्सनाले जाहेरीमा उल्लेख गरेकी छन्।
सोधीखोजी गर्दा 'तिम्रो छोराको जुत्तासम्म बाँकी होला' भन्दै जुत्ता लिन मोबिन आलमकहाँ पठाइएको जाहेरीमा छ। मोबिनकहाँबाट रुक्सनालाई जुत्ता फिर्ता दिएर पठाइएको थियो।
श्रीनारायणको जाहेरीमा पनि यस्तै विवरण छ।
उनका अनुसार घरमा जानी-जानी बिस्फोट गराउँदा त्रिलोक घाइते भए। घाइते अवस्थामै त्रिलोकले 'म घर जान्छु, उपचार गराउन दिनुस्' भने। तर, उनलाई इँटाभट्टामा जिउँदै जलाएर शव गायब पारियो।
त्रिलोकलाई आलमका मान्छेले सरुअठा-२ स्थित श्रीनारायणको घरैबाट लगेका थिए। श्रीनारायण छोरा खोज्दै आलमको घर पुगे। त्यहाँ आलमसहित अन्य व्यक्तिले भने, 'हामीले काममा लगाएका छौं। तिम्रो छोरालाई केही हुँदैन, पछि घरमै ल्याइदिउँला।'
छैठौं दिन त्रिलोकको मृत्युको खबर आएको श्रीनारायणको जाहेरीमा छ।
प्रत्यक्षदर्शीको यस्तै बयानका आधारमा सर्वोच्चले अनुसन्धान बढाउन आदेश दिए पनि प्रहरीले आलमलाई पक्राउ गर्न सकेन। बाह्र वर्षपछि गत आइतबार बल्ल आलम पक्राउ परे।
प्रहरी स्रोतका अनुसार १२ वर्षअघि घटना देख्ने प्रत्यक्षदर्शीहरू कागज गर्न तयार भएका छन्।
'पाँच-छ जनाले कागज गरिदिएका छन्,' प्रहरी स्रोतले भन्यो, 'विस्फोटमा घाइते भएका र इँटाभट्टामा हुल्नै लाग्दा भागेका एक व्यक्तिसमेत प्रहरी संरक्षणमा छन्।'
प्रहरीले रुक्सना र श्रीनारायणको जाहेरी, बमकाण्डका घाइते र साक्षीका आधारमा आलमलाई पक्राउ गरेको जनाएको छ। रुक्सनाको हत्यामा पनि आलमकै हात रहेको प्रमाण भेटिएको प्रहरी दाबी छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्याप्त प्रमाण संकलन भएपछि आलमलाई पक्राउ गरिएको सेतोपाटीलाई बताए।
'आलमविरूद्ध जाहेरी दिनेलाई नै गोली हानिएको थियो। अनुसन्धान गर्न पीडितका परिवार बोल्ने अवस्थामा थिएनन्। अहिले समय अनुकूल भयो। अनुसन्धान तीव्र पारेपछि प्रमाण पनि प्राप्त भयो,' महानिरीक्षक खनालले भने।
आलम पक्राउ परेपछि श्रीनारायणलाई ढुक्क भएको छ। रुक्सनाको हत्यापछि न्यायको लडाइँमा उनी एक्लै थिए। उनले १२ वर्षसम्म आलमको डरमा बस्नुपरेको थियो। आफ्नो स्वर ठूलो हुनेबित्तिकै रुक्सनाकै हालत हुने बुझेर बाहिर केही बोल्थेनन्। न्यायको खोजी पनि छाडेनन्।
'हाम्रा छोराहरू मार्ने मान्छे मन्त्री भयो। हाम्रो कुरा कसैले सुनेन,' श्रीनारायणले भने, 'आलम पक्राउ परेपछि न्याय पाएको महशुस भएको छ।'
अबका दिनमा पनि न्यायका लागि बोल्न नछाड्ने उनी बताउँछन्। गाउँलेले पनि उनलाई साथ दिएका छन्। त्यो बेला आलमको डरले चुपचाप साक्षीहरू बोल्न थालेका छन्।
प्रहरीका अनुसार यो घटनामा आलम, उनका भाइ महताव, शेख भदई, मोबिन आलम र शेख सराज गरी पाँच प्रतिवादी छन्। आलम पक्राउ परे पनि अन्य फरार छन्। बिस्फोटपछि इँटाभट्टामा कति र को-को मारिएका थिए भन्ने खुलेको छैन।
छोराको हत्यारालाई सजाय माग गर्दागर्दै ज्यान गुमाएकी रुक्सना र उनका छोरासहित १४ जनाको हत्या अभियोगमा आलमविरुद्ध मुद्दा लैजाने प्रहरीको तयारी छ।