१२ वर्षअघि राजपुरमा बम विस्फोट गराएको र १४ जनाको हत्या गरेको अभियोगमा सांसद मोहम्मद आफताब आलम पक्राउ परेपछि पीडित परिवारले न्याय पाउने आश पलाएको बताएका छन्।
असोज २६ गते पक्राउ परेका आलमलाई प्रहरीले आज रौतहट जिल्ला अदालतमा उपस्थित गराएको थियो।
विष्फोटमा मारिएका त्रिलोकप्रताप सिंहका बुवा ७९ वर्षीय श्रीनारायण सिंह पनि आज अदालत आएका थिए।
'ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णय पछि थाहा हुनेछ। भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरून् भन्नका लागि पनि न्यायालयले दोषीलाई कारबाही गर्नुपर्छ,' उनले भने।
उनले घटनाको १२ वर्षपछि न्याय पाउने आश पलाएको बताए।
असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो।
आलमलाई रौतहट जिल्ला अदालतले अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ।
मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप गर्ने अनुमति दिएको हो।
म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पुर्याइएको छ।