म्यानमारको पाँच दिने राजकीय भ्रमणमा जान राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान शितलनिवासबाट हेलिकप्टर चढेर सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिइन्।
सडकमार्ग हुँदै गाडीमा विमानस्थल जाँदा ‘पिक आवर’ मा ट्राफिक जाम धेरै हुने र गन्तव्यका लागि हिँडेका यात्रुलाई मर्का पर्ने भन्दै राष्ट्रपति भण्डारीलाई हेलिकप्टरबाट विमानस्थल लगिएको थियो।
राष्ट्रपति भण्डारी हेलिकप्टरबाट विमानस्थल पुगे पनि त्यस बेला सडकमा सवारीसाधन सञ्चालन गर्न भने दिइएन। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचना निकालेर १०:१५ देखि ११:१५ बजेसम्म सडकमा सवारीसाधन चल्न दिएन।
ट्राफिक प्रहरीले लैनचौर-गैह्रीधारा-नक्साल-रातोपुल-गौशाला-एअरपोर्ट रूटमा एक घण्टा सवारीसाधन चल्न रोकेको थियो।
राष्ट्रपति हेलिकप्टरबाट सोझै विमानस्थल पुग्दा पनि सडकमा किन सवारी रोकियो?
यसबारे हामीले महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेललाई जिज्ञासा राख्यौं।
उनले उपराष्ट्रपतिको सवारी भएको कारण देखाए।
राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन सडकमार्ग हुँदै लैनचौरदेखि विमानस्थल पुगेका थिए। उपराष्ट्रपति कार्यालय र निवास लैनचौरमा छ। उपराष्ट्रपति पुन विमानस्थल जाँदा र फर्किँदा गरी करिब एक घण्टा सडक खाली गराइएको हो।
‘उपराष्ट्रपतिको सवारीमा पनि सडक खाली गराइन्छ,’ एसपी पौडेलले सेतोपाटीसँग भने, ‘राष्ट्रपति विदेश गएपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिले सम्हाल्नुहुन्छ नि! उहाँको सवारीमा पनि दुवैतर्फ सडक खाली गराइयो।’
एसपी पौडेलका अनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको राजकीय तथा औपचारिक सवारीका बेला सडक खाली गरिन्छ।
‘हामीले चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारी बेला पनि कम समय मात्रै सडक खाली गरिएको हो,’ उनले भने, ‘सकेसम्म छोटो समयका लागि सडक खाली गर्न थालिएको छ।’
राष्ट्रपति भण्डारी शितलनिवासबाट विमानस्थल सडकमार्ग हुँदै गएको भए पनि ती रूटमा एक घण्टा नै सवारीसाधन रोक्नुपर्ने उनले बताए।