स्थानीय तह निर्वाचनको पहिलो चरणको प्रचार-प्रसार हुँदै थियो। दोलखामा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन थियो।
विपक्षीको बलियो गठबन्धनसँग तत्कालीन नेकपा एमाले एक्लै चुनाव लडिरहेको थियो। गौरीशंकर गाउँपालिका वडा नम्बर १ मा २०७४ वैशाख २६ गते दुवै पक्षले आफ्नो समूहको ‘ताकत’ देखाइरहेका थिए।
माओवादीले अघिल्ला चुनावमा त्यो क्षेत्रमा बुथ कब्जा गर्न खोजेका थिए। घटना दोहोरिन सक्ने आँकलन गरी एमाले तर्सिएको थियो। उसैमाथि दुई पार्टीको गठबन्धनले एमाले दबाबमा परेको थियो।
एमालेले तत्कालीन जिल्ला अध्यक्ष हाल सांसद पार्वत गुरुङलाई चुनावी कमाण्डर बनाएर मैदानमा खटाएको थियो। गौरीशंकर-५ मा बसोबास रहेका गुरुङले कांग्रेस-माओवादी गठबन्धनलाई ‘तह’ लगाउन ‘टाइगर ग्रुप’ खटाए।
‘टाइगर ग्रुप’ कथित नाम दिएर एमालेले चुनावमा खटाएको थियो। प्रहरीका अनुसार आपराधिक गतिविधिमा संलग्नसमेत व्यक्ति राखेर सो ग्रुपमा संयोजक सविन तामाङलाई तोकिएको थियो। सागर तामाङ, कर्ण तामाङ, छेसाङ तामाङ, जीवन तामाङ, मीनबहादुर तामाङलगायत त्यसका सदस्य थिए।
२६ गतेको त्यो दिन, टाइगर ग्रुपसहितको एमाले र माओवादी कांग्रेसबीच आमने-सामने र घम्साघम्सी चलिरह्यो। दुवैले जिल्लाभरिका कार्यकर्ताहरू त्यहाँ भेला पारेका थिए।
प्रहरीका अनुसार सोही क्रममा झडप हुँदा टाइगर समूहका कुलबहादुर तामाङको मृत्यु भयो।
यो घटनापछि वैशाख २७ गते पार्वत गुरुङको नेतृत्वले जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दियो। जाहेरीमा वीरध्वज खड्का, विशाल खड्कासहितका झन्डै चार दर्जन व्यक्तिलाई प्रतिवादी बनाइएको थियो।
प्रभाव रहेको सो क्षेत्रका अधिकांश कार्यकर्ताविरूद्ध जाहेरी परेपछि माओवादी कार्यकर्ताको भागभाग चल्यो।
भाग्नेमध्ये एक थिए- वीरध्वज खड्का। उनी तत्कालीन माओवादीमा ‘बाहुबली’ कार्यकर्ता ठानिन्थे।
वीरध्वज एमाले र टाइगर ग्याङको प्रमुख रुपमा निशानामा छँदैथिए। ग्याङको एक सदस्य नै मारिएपछि वीरध्वजलाई तह लगाउने निष्कर्षसाथ टाइगर समूह उनको पछि लाग्यो।
जाहेरी परेपछि वीरध्वज भागेर काठमाडौं आइपुगे। टाइगर समूहले उनको निगरानी गरिरहेको थियो। खड्काको पछि ‘जासुस’ कार्यकर्ता खटाएको थियो।
घटना भएको तेस्रो दिनको दिन वीरध्वज भक्तपुरबाट गाडी चढेर चाबहिल चोक पुगेका थिए। त्यहीबेला टाइगर समूहका सबिन, सागर, कर्ण, छेसाङ, जीवन, मीनबहादुर तामाङ, उर्मिला थामीलगायत ७-८ जनाले बसभित्रैबाट वीरध्वजलाई कपालमा समातेर बाहिर निकाले।
उर्मिला थामी भक्तपुर सूर्यविनायकबाट गाडी चढेकी थिइन्। उनकै सूचनाले टाइगर समूहले चाबहिलमा गाडी रोकेर खड्कामाथि निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ। प्रहरीको अनुसन्धान प्रतिवेदनले पनि थामी खड्काको पछिपछि हुँदै चाबहिल चोकमा गाडीबाट उनलाई झार्दा सँगै उत्रिएको बताउँछ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले अदालतमा दायर गरेको अभियोग पत्र सेतोपाटीले प्राप्त गरेकोछ। सो अभियोग पत्रमा पनि गाडीबाट ओरालेपछि खड्कामाथि कुटपिट सुरू भएको उल्लेख छ। अभियोग पत्र अनुसार कुटपिट गर्दै टाइगर समूहले खड्कालाई चाबहिल नजिकैको एक गल्लीमा लगे। जहाँ पार्वत गुरुङ पनि रहेको बुझिएको साक्षीहरूको बयान छ।
त्यसपछि खड्कालाई जथाभावी कुटपिट भयो। ‘हाम्रो मान्छे मार्ने यही हो, नौ जना त छुटे बाँकी सबैलाई सिध्याउने हाम्रो योजना छ, तँ माओवादीको काल आएछ’ भन्दै कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ। निर्घात कुटपिटपछि सविन तामाङले खुकुरी प्रहार गर्न खोज्दा स्थानीयले ‘मान्छे मार्न पाइँदैन’ भनी प्रतिवाद गरेको उनले जाहेरीमा उल्लेख गरेका छन्।
स्थानीयले रोकेपछि गुरुङसमेत रहेको भनिएको टाइगर समूह पछि हट्यो। स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी भ्यान गएर झण्डै बेहोस अवस्थामा भएका खड्कालाई उठाएर ल्यायो।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा साक्षीको रुपमा शिवराज महर्जन र शर्मिला मोक्तानले कागज गरेका छन्। उनीहरूले पार्वत गुरुङ घटनामा संलग्नता रहेको बुझेको भनी दाबी गरेका छन्।
पीडितको जाहेरी र साक्षीको बयानलाई नै प्रहरीले आधार मानी गुरुङलाई प्रतिवादी कायम गरेको छ।
घाउजाँच प्रतिवेदन, प्रत्यक्षदर्शीको साक्षी बयान, घटनास्थल मुचुल्कासमेतबाट उनीहरूले ज्यान मार्ने कसुर गरेको पुष्टि हुन आएको अदालतमा दर्ता भएको अभियोग पत्रमा उल्लेख छ। सांसद गुरुङसमेतका व्यक्तिलाई सो कसुरमा पाँच वर्षदेखि १२ वर्षसम्म कैद र जरिवाना गर्नुपर्ने अभियोग पत्रमा माग गरिएको छ।
घटना भइरहेकै बेला चाबहिल चोकमा खटिएका महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरीले कर्ण, छेसाङ, जीवन र मीनबहादुरलाई पक्राउ गरे। तर त्यो बेला गौशाला बृत्तले खड्काको जाहेरी लिएन। पक्राउ परेकालाई त्यतिकै छोडिदियो।
दुई दिन काठमाडौंमा उपचार गरेपछि खड्कालाई बृत्तले दोलखा प्रहरीको जिम्मा लगायो। कर्तव्य ज्यान मुद्दामा प्रहरीले उनलाई दोलखा अदालतमा पेश गर्यो। उनको संल्गनता पुष्टि नभएपछि अदालतले उनलाई २०७४ असार १ गते साधारण तारेखमा छोड्यो। खड्काले दोलखामा तामङको हत्या भएको दिन आफू त्यहाँ नभएको र सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन्।
छुटेपछि उनी काठमाडौं आए र महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए। परिसरका अनुसार दोलखा अदालतले साधारण तारेखमा छोडेपछि खड्का २०७४ साउन ४ गते काठमाडौं आएर जाहेरी दिएको देखिन्छ।
अनुसन्धान प्रतिवेदनमा पीडित खड्काको शारीरिक अवस्था निकै चिन्ताजनक देखाइएको छ। ‘प्रहरीले मेरो उद्धार र उपचार गरे पनि देब्रे कान नसुन्ने, कान भित्रैदेखि पोल्ने, दुवै आँखा पोल्ने, नशा दुखेर घाँटी हल्लाउन गाह्रो हुने, टाउको दुख्ने, दाहिनेपट्टिको आँखाले हेर्न कठिन भई चारैतिर झिल्का उडेजस्तो देखिने, आशु आउने,’ खड्काको जाहेरीमा उल्लेख छ, ‘गाला चलाउन, हाई गर्न गाह्रो, मुखभित्रको दुवै गालातिरको मांसपेशी चलाउन गाह्रो हुने, खाना चपाउन नमिल्ने, थुक निल्न गाह्रो हुने, रिंगटा लाग्ने, दिमागको अगाडि र पछाडि दुवैतिरको भागमा असह्य पीडा भई बेहोस होलाजस्तै अशक्त बिरामी छु।’
प्रहरीले घटनाको अनुसन्धान गरिरहे पनि कोही पनि प्रतिवादीलाई पक्रिएन।
‘प्रतिवादीहरू फरार नै रहे, हामीले अहिलेसम्म फेला पार्न सकेका छैनौं,’ परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।
प्रहरीले फेला नपारेका गुरुङ जाहेरी परेकै बेला गुरुङ दोलखाबाट प्रतिनिधिसभा निर्वाचन उठे। चुनाव जिते। सांसद भए। उनको अघिपछि प्रहरी हुन्थे।
यहाँनिर अचम्मको परिस्थिति देखिन्छ। कि त प्रहरीले फौजदारी कसुरमा खड्काले प्रतिवादी बनाएका गुरुङ नै सांसद पार्वत गुरुङ हुन् भन्ने मेसो पाएन। कि त थाहा पाउँदा पाउँदै आँखा चिम्लियो।
घटना भएको दुई वर्षसम्म अनुसन्धान प्रतिवेदन दराजमै रह्यो। जब, दुई वर्ष पुग्न लाग्यो। त्यसपछि मुद्दाको हदम्याद नाघ्ने अवस्था आयो। हदम्यादभित्रै मुद्दा लैजान प्रहरीले २०७६ साल वैशाख २३ गते सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझायो।
अनुसन्धान प्रतिवेदनका आधारमा सांसद गुरुङ ज्यान मार्ने उद्योगमा संलग्न देखिएकाले प्रतिवादी कायम गरी सरकारी वकिल कार्यालयले वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्यो।
गुरुङ संसदमा दिनहुँ गइरहे। उनी प्रतिवादी रहेको मुद्दामा न उनलाई प्रहरीले पक्राउ गर्यो न सोधपुछ नै। अभियोग पत्रमा प्रहरी सहायक निरीक्षक रमणराज खड्काले प्रतिवादीहरू फरार रहेकाले पक्रन नसकेको प्रतिवेदन बुझाएको उल्लेख छ।
‘अभियुक्त फरार रहेको घटनामा दुई वर्षसम्म अनुसन्धान प्रतिवेदन बुझाउने हदम्याद हुन्छ,’ परिसरका एक अधिकृतले भने, ‘हामीले त्यसै गर्यौं।’
ती अधिकारीले गुरुङलाई प्रतिशोधका कारण प्रतिवादी बनाइएको र मुद्दा बलियो नरहेको बताए। तर, प्रहरीकै अनुसन्धान प्रतिवेदनले भने गुरुङसमेतलाई दोषी किटान गरेर १२ वर्षसम्मको सजाय मागेको छ।
फरार अभियुक्तलाई अदालत नै पूर्जी जारी गर्ने हुनाले अदालतको प्रक्रियामा आइहाल्ने भन्दै पक्राउ गर्न प्रहरीले अहिले पनि आनाकानी गरेको छ।
‘अदालत पुगिसकेको मुद्दामा उसले जे निर्णय गर्छ, त्यसपछि प्रहरीमा दायित्व रहन आए हाम्रो अग्रसरता हुने छ,’ ती अधिकारीले भने।
प्रहरीले प्रतिवादी उपस्थित नगराएपछि अदालत आफैं सांसद गुरुङ खोज्ने प्रक्रिया थालेको देखिन्छ। काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार आनन्द श्रेष्ठका अनुसार तीन वर्षभन्दा बढी सजाय माग गरिएको मुद्दामा अदालतले पक्राउ पूर्जी जारी गर्छ। यो मुद्दामा पनि पक्राउ पूर्जी जारी गरेको हो।
बुधबार अदालतले गुरुङको नाममा ३५ दिने म्याद पूर्जी जारी गरेको छ। ‘प्रहरीले प्रतिवादी उपस्थित नगराएपछि अदालतले घरमा गएर म्याद पूर्जी टाँसेको हो,’ श्रेष्ठले सेतोपाटीसँग भने।
मुद्दा दर्तासँगै दुई वर्षअघिको घटनामा निर्वाचित सांसद फौजदारी कसुरमा तानिएका छन्।
अब सांसद गुरुङ यो म्यादमा अदालत जानैपर्छ। यो म्याद नटेरे गुरुङलाई पक्रेर उपस्थित गराउन फेरि प्रहरीलाई आदेश दिनसक्छ।
'त्यो घटना हुँदा म काठमाडौंमै थिइनँ, मलाई प्रहरीले सोधीखोजी गरेको छैन,' सांसद गुरूङले सेतोपाटीसँग भने, 'अदालतले म्याद पूर्जी दिएको छ, म अदालत जान्छु।’
फौजदारी कसुर लागेसँगै सांसदको हैसियतमा पाउने सेवा, सुविधा र अधिकार गुम्नेछ।
यसबीचमा प्रहरीले उनीसहितका प्रतिवादीलाई नपक्रेका कारण अब उनीहरूले अदालतमै गएर बयान दिनेछन्। पीडकको बयान लिनुपर्ने दायित्वबाट पनि प्रहरीले मुक्ति पाएको छ।