कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो तिब्बत भ्रमण फलदायी र महत्वपूर्ण भएको बताएका छन्।
१० दिने तिब्बत भ्रमण सकेर बुधबार स्वदेश फर्किएका मुख्यमन्त्री शाहीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकाहरूसँग कुरा गर्दै भ्रमण सुखद् र महत्वपूर्ण भएको बताएका हुन्।
तिब्बतका विभिन्न प्रदेशहरूमा भ्रमण गरेका मुख्यमन्त्री शाहीले तिब्बत सरकारले हिमालयसँग जोडिएका विभिन्न देशहरूको सहभागितामा आयोजना गरेको बिआरआइसम्बन्धी तीन दिने कार्यक्रममा आफू सहभागी भएको जानकारी दिए।
भ्रमणका क्रममा तिब्बतका विभिन्न सहरमा भएका विकास पूर्वाधारसम्बन्धी भौतिक संरचनाहरूको अवलोकन गरेको उनले बताए।
उनले प्रदेशको राजधानी सुर्खेतको रिङरोड र सुर्खेत-बर्दियासम्मको सुरुङमार्गको लागि नि:शुल्क सर्वे गरिदिन तिब्बत सरकारसँग आफू आग्रह गरेको जानकारी दिए।
‘मैले विशेषगरी कर्णाली प्रदेशको राजधानी सुर्खेतको रिङरोड र सुर्खेतदेखि बर्दियासम्मको टनेल मार्गको निःशुल्क सर्वे गरिदिन त्यहाँको सरकारसँग छलफल गरेँ,’ मुख्यमन्त्री शाहीले भने, ‘यो विषयमा त्यहाँको सरकार सकारात्मक छ।’
यस विषयमा वातावरण बनाएर संघीय सरकारले अनुमति दिएमा तिब्बत सरकारको लगानीमा रिङरोड बनाउने सहमति भएको उनले बताए। तिब्बतका विभिन्न क्षेत्रमा पूर्वाधारसम्बन्धी काम गरेको कम्पनीसँग पनि आफूले छलफल गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए।
उनले भ्रमणका क्रममा समुन्द्रमाथि बनाइएको सबभन्दा लामो सडक, सोही सडकसँग जोडिएको समुन्द्र भित्रको सुरुङमार्ग, एकीकृत बस्ती लगायतको अवलोकन गरेको जानकारी दिए।
‘उनीहरूले एकीकृत बस्तीको विकास गर्न धेरै राम्रा घरहरू बनाएका रैछन्,’ उनले भने, ‘एकीकृत बस्ती विकासको बारेमा संघीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा नेपालमा पनि बनाइदिन सक्ने त्यहाँका कम्पनीहरूले इच्छा देखाएका छन् ।’
कर्णाली प्रदेशमा एकीकृत बस्तीको आवश्यकता रहेको बताउँदै मुख्यमन्त्री शाहीले आफ्नो तिब्बत भ्रमणका क्रममा कर्णाली प्रदेशमा कुन मोडलमा यससम्बन्धी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको पनि जानकारी दिए।
‘एकीकृत बस्तीबारे त्यहाँको सरकारले आफ्नो अनुभवसहित हाम्रो प्रदेशमा काम गर्ने इच्छा देखाएको छ, संघीय सरकारले त्यसको अनुमति दिएमा त्यो सम्भव छ,’ उनले भने ।
आफ्नो भ्रमणका क्रममा कर्णाली प्रदेश र तिब्बतको सान्ताउ प्रदेशबीच भगिनी सम्बन्ध बनाउने बारेमा पनि कुरा भएको मुख्यमन्त्री शाहीले जानकारी दिए।
संघीय सरकारले अनुमति दिएमा यो विषय महत्वपूर्ण हुने उनले बताए। यस्तै प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर शहर र सान्ताउ सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने विषयमा पनि आफूले छलफल गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।
भ्रमणका क्रममा कर्णाली प्रदेशमा लगानी गर्ने विषयमा तिब्बतका विभिन्न कम्पनीहरूसँग पनि छलफल भएको मुख्यमन्त्री शाहीले जानकारी दिए।
ती कम्पनीहरूको चासो पर्यटन, पूर्वाधार, कृषि, एकीकृत बस्ती विकास र जडिबुटीमा रहेको उनले जानकारी दिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणपछि स्वादेश फर्किएकै दिन २६ गते तिब्बत भ्रमणका लागि प्रस्थान गरेका थिए।