१४ जनाको हत्याको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताब आलममाथि अनुसन्धानका लागि रौतहट जिल्ला अदालतले आठ दिनको म्याद थप गरेको छ।
शुक्रबार न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई अनुसन्धानका लागि अझै आठ दिन म्याद थपेको हो।
आलममाथिको अनुसन्धान बाँकी रहेकाले आजैबाट लागू हुने गरी आठ दिन म्याद थप गरिएको स्रेस्तेदार गुणराज पराजुलीले सेतोपाटीलाई बताए।
यसअघि गत आइतबार न्यायाधीश चाणकमणी अर्यालको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ५ दिन म्याद दिएको थियो। म्याद थप पछि आज फेरी उनलाई अदालत लगिएको छ।
आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो। उनलाई प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो।
१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।
विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।
उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ। आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्नेछन्।