काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षामा फेल भएकी रजिष्ट्रार सुबोध शर्माको छोरीलाई भर्ना लिएको छ।
स्कुल अफ साइन्सेस अन्तर्गत डिपार्टमेन्ट अफ फार्मेसीको स्नातकोत्तर तह पहिलो वर्ष अध्ययनका लागि दशैंअघि भएको प्रवेश परीक्षामा रचना शर्मा फेल भएकी थिइन्।
एमफार्म- २०१९ का लागि लिएको प्रवेश परीक्षामा इन्डष्ट्रियल फार्मेसी र फार्मेक्टिकल केयरमा १३/१३ जना गरी कूल २६ जना विद्यार्थीको नाम निस्केको थियो। जसमा शर्मा नाम थिएन।
विश्वविद्यालयले मास्टर्स इन फार्मेसीको इन्डष्ट्रियल फार्मेसीमा शर्मालाई भर्ना गरेर पढ्न दिएको छ।
‘सेप्टेम्बर १९, २०१९ का दिन छोरीले दिएको निवेदन बाबुसमेत रहेका रजिष्ट्रार शर्माले नै हेड अफ डिपार्टमेन्टलाई तोकआदेश दिएर भर्ना गरिदिनू भनिएको छ,’ स्रोतले भन्यो, ‘रजिष्ट्रार कै बलमा प्रवेश परीक्षा फेल भएकी विद्यार्थीलाई भर्ना लिइयो। यहाँ भर्ना गरियो भन्ने मुल कुरा भन्दा पनि इन्ट्रान्स नै फेल भएकीले फार्मेसी कसरी पढ्ने र मेडिकल क्षेत्रमा अदक्ष उत्पादन निस्कने डर भयो।’
नियम मिचेर भर्ना मात्र गरिएको छैन, अरु विद्यार्थीलाई लाग्ने शुल्क भन्दा सहुलियत दरमा भर्ना समेत गरिएकोछ।
सेतोपाटीलाई प्राप्त विवरणअनुसार रजिष्ट्रार शर्माले विश्वविद्यालयको नाममा नेपाल इन्भेष्टमेण्ट बैंकको बनेपा शाखामा रहेको खाता नम्बर ००५०१०३०२५०००९ मा छोरी रचनाको भर्नाका लागि गत असोज २ गते २५ हजार रूपैंयाँ शुल्क बुझाएका छन्।
शर्माले निवेदन दिएर भर्ना शुल्क अहिलेका लागि २५ हजार मात्रै बुझाएको र बाँकी पछि बुझाउने उल्लेख गरेकी थिइन्।
अरू विद्यार्थी भर्नाका लागि विश्वविद्यालयले एक लाख ४० हजार रूपैंया नै जम्मा गर्नुपर्ने बताएको छ।
‘एक रूपैंयाँ पुगेन भने पनि भर्ना लिदैनन्,’ स्रोत भन्छ, ‘रजिष्ट्रारको छोरीले २५ हजार मात्रै बुझाएर भर्ना गर्न मिल्ने गरिबका छोराछोरीले सबै रकम नबुझाइ भर्ना नलिने? विद्यार्थीमाथि विभेद भयो।’
विश्वविद्यालयका डिन कनैया झाले शर्माको भर्ना गरिएको बताए।
उनका अनुसार फार्मेसीका लागि विश्वविद्यालयमा ३० जनाको कोटा भए पनि २६ जनाका लागि मात्रै परीक्षा लिइएको थियो।
‘१५/१५ जना गरी ३० जना फार्मेसी कोटा हो। त्यसमा १३/१३ जना गरी २६ जनाको मेरिट लिष्टमा नाम निकालियो। बाँकी कोटा राखिएको थियो,’ उनले भने, ‘दुई, चार सिट कहिलेकाहीँ स्टाफका छोराछोरी पढाउन राखिन्छ।’
मास्टर्समा भर्ना हुनुअघि विद्यार्थी अनिवार्य प्रवेश परीक्षामा सहभागी हुनुपर्ने पनि उनले बताए।