प्रहरीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।
महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको बताए। ‘हामीले गर्नुपर्ने आवश्यक सबै अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छौं,’ उनले भने।
अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ। मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकारपनि सरकारी वकिलको कार्यालयलाई छ। तर यो काम आज नसकिने जिल्ला सकरकारी वकिल कार्यालय स्रोतले जनाएको छ। आइतबारदेखि तिहार बिदा सुरू हुन्छ। उनको मुद्दा चलाउने नचलाउने निर्णय गर्न सरकारी वकिललाई अझै ६ दिनको समय छ। कात्तिक १४ गते महरामाथि मुद्दा चलाउने नचलाउने निर्णय गरिसक्नुपर्छ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि जबरजस्ती करणी उद्योगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो।
अनुसन्धान प्रतिवेदनमा महरामाथि जबजरस्ती करणी उद्योगमा कैद तथा जरिवाना माग गरिएको प्रहरी स्रोतले बतायो। महराले गत असोज १२ गते शाहीको कोठामा गएर जबरजस्ती बलात्कार प्रयास गरेको जाहेरी प्रहरीमा परेको थियो।यो घटना बाहिर आएपछि महराले सभामुकबाट राजीनामा दिएका थिए।
उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीले भने उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन भनेको थियो। उनले सांसदपदबाट राजीनामा दिएका छैनन्। जाहेरीपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो। चार दिन हिरासतमा बसेपछि उनी विरामी भएको भन्दै नर्भिक अस्पतालमा बसिरहेका छन्।
अनुसन्धानका क्रममा शाहीको कोठामा बरामद भएको महराको फुटेको चश्मा, गिलास, बोत्तल लगायतको फरेन्सिक जाँच गरिएको छ। केही रिपोर्टहरू अझै आइनसकेको प्रहरीले जनाएको छ। ‘केही रिपोर्ट आउन बाँकी छन्, आएपछि बुझाउँछौं,’ एसएसपी सुवेदीले भने।
फरेन्सिकबाट रिपोर्टको आधिकारिकता पुष्टि गर्न महराको डिएनए परीक्षण गर्ने प्रहरीको तयारी छ। जिल्ला अदालत काठमाडौंले महराको रगत झिकेर डिएनए परीक्षण गर्न अनुमति दिइसकेको छ।