प्रहरीले तत्कालीन सभामुख कृष्णबहादुर महराविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँदै उनीमाथि कैद तथा जरिवाना माग गरेको छ।
२० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ।
‘घटनास्थल मुचुल्का, जाहेरी तथा हालसम्म जाँचबाट आएका रिपोर्टहरूले जबरजस्ती करणी उद्योग गरेको देखिन आएको छ,’ प्रहरी स्रोतले भन्यो।
महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ।
प्रतिवेदनमा महरालाई मुलुकी अपराध संहिता २०७४ को बलात्कार प्रयास सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि कारबाही माग गरिएको छ।
तर, महराले भने इन्कारी बयान दिएको प्रहरीले जनाएको छ। पीडकको बयान इन्कारी नै देखिए पनि कसुर स्थापित हुने आधार तयार पारेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरेको छ।
महरा असोज १२ गते बा २०च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेका थिए। त्यसक्रममा महराले जबरजस्ती करणी प्रयास गरेको शाहीले जाहेरीमा उल्लेख गरेकी छिन्।
अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ। मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि सरकारी वकिलको कार्यालयलाई छ।
आइतबारदेखि तिहार बिदा सुरू हुन्छ। उनको मुद्दा चलाउने नचलाउने निर्णय गर्न सरकारी वकिललाई अझै ६ दिनको समय छ। कात्तिक १४ गते महरामाथि मुद्दा चलाउने नचलाउने निर्णय गरिसक्नुपर्छ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि जबरजस्ती करणी उद्योगमा प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो।
अनुसन्धान प्रतिवेदनमा महरामाथि जबजरस्ती करणी उद्योगमा कैद तथा जरिवाना माग गरिएको प्रहरी स्रोतले बतायो। महराले गत असोज १२ गते शाहीको कोठामा गएर जबरजस्ती बलात्कार प्रयास गरेको जाहेरी प्रहरीमा परेको थियो। यो घटना बाहिर आएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए।
उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीले भने उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन भनेको थियो। उनले सांसद पदबाट राजीनामा दिएका छैनन्। जाहेरीपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो। चार दिन हिरासतमा बसेपछि उनी बिरामी भएको भन्दै नर्भिक अस्पतालमा बसिरहेका छन्।
अनुसन्धानका क्रममा शाहीको कोठामा बरामद भएको महराको फुटेको चश्मा, गिलास, बोत्तल लगायतको फरेन्सिक जाँच गरिएको छ। केही रिपोर्टहरू अझै आइनसकेको प्रहरीले जनाएको छ। ‘केही रिपोर्ट आउन बाँकी छन्, आएपछि बुझाउँछौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने।
फरेन्सिकबाट रिपोर्टको आधिकारिकता पुष्टि गर्न महराको डिएनए परीक्षण गर्ने प्रहरीको तयारी छ। जिल्ला अदालत काठमाडौंले महराको रगत झिकेर डिएनए परीक्षण गर्न अनुमति दिइसकेको छ।
मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ। अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।