प्रहरीले २० दिनसम्म गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध आफ्नै कार्यालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ।
सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडिओ रेकर्डलाई देखिन्छ।
प्रहरी स्रोतले सेतोपाटीलाई बताएअनुसार उक्त भिडिओमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन्।
सरकारी वकिल कार्यालयले भने घटनाको रात प्रहरीले लिएको भिडिओ आफूले अभियोगपत्रसाथ अदालतमा पठाएको बताएको छ।
असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको भन्दै रोशनीले प्रहरीलाई बताएकी थिइन्।
‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट पत्रकार अजय बाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी छन्।
त्यसरी हतारहतार निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको छ। यो महरा विरूद्धको दोस्रो ठूलो प्रमाण हो।
'प्रतिवादीले प्रयोग गरेको चस्माको सिसा र डन्डी आइ केयर अप्टिक्समा जाँच गराउँदा प्राप्त भएको लेन्सको थप पावर प्लस २.७५ भएको डी बाइफोकल र पत्र साथ प्राप्त भएको लेन्सको थप पावर प्लस २.७५ भएको डी बाइफोकल भन्ने व्यहोरा उल्लेख भएबाट घटनास्थलमा भेटिएको चस्माको सिसा र चस्माको फ्रेमको डण्डी प्रतिवादीको नै हो भन्ने तथ्य स्थापित भएको छ,' अभियोगपत्रमा भनिएको छ।
महराले भने पुरानो चस्मा देखाएर आफूलाई फसाउन खोजिएको तर त्यो रात आफू रोशनीको कोठा अघि गएर फोन नउठेपछि फर्किएको बयान दिएका थिए।
शाहीले स्वास्थ्य जाँच गर्न जाँदा डाक्टरलाई दिएको बयानलाई आधार मान्दै अभियोगपत्रले महरा त्यहाँ गएको पुष्टि गरेको छ।
'…र मलाई धेरैपटक अनुहारमा हिर्कायो। मैले उसको प्याण्ट पछि तान्दै पुलिसलाई भन्दिन्छु भनेँ त्यसपछि भने ऊ किचनको ढोकाबाट भाग्यो। मलाई यसो गर्दा ऊ रक्सी खाएर मातेको थियो,' भन्दै डाक्टरका सामू उनले भनेको कुरा अभियोगपत्रमा उल्लेख छ।
उनको अनुहार र शरीरको घाउचोट पनि कसैले हिर्काएर भएको कुरा घाउजाँच रिपोर्टमा भएको अभियोगपत्रमा उल्लेख छ।
डाक्टरसामू उनले गरेको बयान, घटनाकै राति प्रहरीलाई रोशनीले भनेको कुरा र जाहेरीमा उल्लेख भएको कुरालाई विश्लेषण गरी महराले नै रोशनीलाई बलात्कार गर्न खोज्दा नमानेपछि कुटपिट गरेको निष्कर्ष सरकारी वकिलले निकालेको छ। घाउजाँचको रिपोर्ट तेस्रो बलियो प्रमाण हो।
महराले आफूलाई बलात्कार गर्न खोजेको नमानेपछि कुटपिट गरेको र त्यसपछि आफूले प्रहरीलाई बोलाएर सबै कुरा भनेको भन्दै रोशनीले त्यही रात साढे ११ बजे आफूलाई बताएकी सांसद उमा रेग्मीले प्रहरीसामू कागज गरिदिएकी छन्। उनले गरेको कागज पनि महराविरूद्धको चौंथो बलियो प्रमाण हो।
त्यस्तै, पत्रकार अजय बाबु सिवाकोटीले गरेको कागज महराविरूद्धको अर्को प्रमाण हो। उनले रोशनीसँग लिएको भिडिओ अन्तरवार्ता, उक्त भिडिओ लिँदालिँदै महराको नम्बरबाट आएको कल,रोशनीले फर्काएको जवाफलाई पनि प्रमाणको रूपमा मिसिल संलग्न गरेको छ।
यी सबै तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको हो।
पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर छ।
'सभामुखको पदमा आसिन यी प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी असोज १२ गते सरकारले उपलब्ध गराएका वरिष्ठ जिम्मेवार सुरक्षाकर्मीहरूलाई निवासबाट बाहिरिँदा सो कुराको यकिन जानकारी नदिइ आफ्नो हैसियतको कुनै हेक्का नराखी, राज्य र आमनागरिकमा पर्ने असरलाई ख्याल नगरी सो संवेदनशीलताप्रति वेवास्ता गरी केही सुरक्षाकर्मीमात्र लिएर साँझ मादकपदार्थ (रक्सी) सेवन गरी साथमा मादकपदार्थ लिइ पीडित एक्लै रहेको निज डेरा/कोठामा गई निजलाई जबरजस्ती मादकपदार्थ सेवन गर्न कर लगाइ/गराइ अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्ती करणी गर्न खोजेको अवस्थामा पीडितले प्रतिकार गर्दा निजलाई कुटपिट समेत गरी घाइते बनाइ जबरजस्ती करणी उद्योगको कसूर गरेकाले,' अभियोगपत्रमा भनिएको छ, 'सम्माननीय सभामुखको गरिमामय पदमा आसिन यी प्रतिवादीले आफ्नो पदको दुरूपयोग गरी मुलुकी अपराध संहिता २०७४को दफा २१९ को उपदफा १ र २ र सोही संहिताको दफा ३४ बमोजिम जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित हुन आयो।'
सभामुखको हैसियतमा रहेका व्यक्तिले कसूर गर्दा कसूरको गम्भीरता बढेको पनि अभियोगपत्रमा उल्लेख छ।
'मुलुकी अपराध संहिता २०७४ को दफा ३८ को देहाय (घ) बमोजिम कसूरको गम्भीरता बढाउने अवस्थाको भएको' भन्दै जबरजस्ती करणी उद्योगमा हुने सजायको डेढी सजाय हुने सरकारी वकिलको माग दाबी छ।
१९ वर्षभन्दा माथिकी महिलामाथि जबरजस्ती करणी (बलात्कार) भए कसूरदारले ७ देखि १० वर्षसम्म कैद सजाय पाउँछन्। जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास)मा भने त्यसको आधा सजाय हुन्छ। अर्थात् साढे तीन देखि साढे पाँचवर्षसम्मको सजाय हुन्छ। त्यसमा डेढी कैद सजाय जोडेर झण्डै साढे पाँचदेखि साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको हो।
महरा असोज १२ गते बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको सिसिटिभी फुटेजमा देखिएको र आफूकहाँ आएर महराले जबरजस्ती करणी प्रयास गरेको संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले जाहेरीमा उल्लेख गरेकी छिन्।
यो घटना बाहिर आएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए।
उनको पार्टी नेपाल कम्युनिष्ट पार्टीले भने उनलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन भनेको थियो। उनले सांसद पदबाट राजीनामा दिएका छैनन्। जाहेरीपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो। चार दिन हिरासतमा बसेपछि उनी बिरामी भएको भन्दै नर्भिक अस्पतालमा बसिरहेका छन्।
अब महराको थुनछेक बयान र बहस हुन्छ। समय अभावको कारण उनको बयान र बहस आज हुन सकेन। भोलिदेखि सुरू हुने जिल्ला अदालतका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
त्यसपछि उनलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने निर्णय अदालतले गर्नेछ।
आज अभियोगपत्र दर्ता भएपछि जिल्ला अदालत काठमाडौंको अभियोग शाखाले महरालाई हिरासतमै पठाएको छ।