संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास र शारीरिक हिंसा गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अदालतमा सुनुवाइ जारी छ।
महराको पक्षमा सबभन्दा बलियो प्रमाण भनेको पीडितले अदालतमै आएर दिएको इन्कारी निवेदन हो। शाहीले अदालतमा दिएको लिखित निवेदनमा भनेकी छन्, 'असोज १५ गते प्रहरीमा दिएको दोस्रो निवेदन नै साँचो हो। त्यसैलाई अदालतले स्विकारोस्।'
उनले घटनाको तेस्रो दिन असोज १५ गते आफ्ना श्रीमान् चित्रजंग शाहीसँग प्रहरीकहाँ गएर महराले अाफूलाई केही नगरेको निवेदन दिएकी थिइन्। डिप्रेसनको औषधि खाइरहेकाले बीच-बीचमा फरक कुरा बोलेको भए पनि असोज १५ गते प्रहरीमा दिएको निवेदनलाई नै आफ्नो आधिकारिक धारणा मान्न उनले अनुरोध गरेकी छन्। न्यायाधीशले शाहीको निवेदन मिसिलसाथ राख्न आदेश दिइसकेका छन्।
महराको पक्षमा देखिएको एउटा मात्र प्रमाण यो निवेदनलाई अदालतले कसरी हेर्छ भन्ने चासोको विषय छ। हाम्रो कानुन र अदालतका नजिर हेर्ने हो भने, शाहीको निवेदनलाई अदालतले ‘होस्टायल’ का रूपमा पनि लिन सक्छ। पीडितले लोभ, लालच वा त्रासमा परेर आफूमाथि भएको अन्याय अस्वीकार गर्दै अदालतमा दिने बयान वा निवेदनलाई कानुनी भाषामा ‘होस्टायल’ भनिन्छ।
शाहीले असोज १७ गते प्रहरीकहाँ दिएको जाहेरीलाई अन्य प्रमाणले पुष्टि गरे 'होस्टायल' बयान वा निवेदन दिने पीडितलाई उल्टै अदालतले जेलसम्म पठाउन सक्ने व्यवस्था कानुनमा छ। यस्ता होस्टायल मुद्दामा पीडितलाई अदालतले सजाय दिएका प्रशस्त नजिर छन्।
२०७४ चैतमा जिल्ला अदालत नुवाकोटले दुप्चेश्वर गाविस- १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखनमा ३७ वर्ष जेल सजाय सुनायो। उनले आफूलाई बेचेको होइन भन्दै जाहेरवाला महिलाले उल्टो बयान दिएकी थिइन्। अदालतले भने उनको यो बयानलाई 'होस्टायल' भन्दै सुनबहादुरबाटै उनको बेचबिखन भएको ठहर गर्यो। ती पीडित महिलालाई झूटो बयान दिएको भन्दै तीन महिना कैद पनि सुनाएको थियो।
शाहीले घटनालगत्तै प्रहरीलाई दिएको बयान र उपलब्ध तथ्य महराविरुद्धका सबैभन्दा बलिया प्रमाण हुन्। घटनाको एक घन्टाभित्रै उनले १०० मा फोन गरेर प्रहरीलाई बोलाइन्। त्यो रात प्रहरीसँगको भिडियो रेकर्डमा उनले भनेकी छन्, 'महरा आएर मलाई 'सेक्सुअल एसल्ट' गर्यो। नमान्दा पिट्यो।'
यो भिडियो रेकर्ड सरकारी वकिलको कार्यालयले अदालतसमक्ष पेस गरेको छ।
यही कुरा उनले घटना भएकै रात सांसद उमा रेग्मीसँग पनि भनेकी छन्। रेग्मीले यसबारे प्रहरीलाई कागज गरिदिएकी छन्। भोलिपल्ट पत्रकार अजयबाबु सिवाकोटीसँग उनले बोलेको भिडियो रेकर्ड पनि अदालतमा पेस भएको छ।
शाहीले असोज १५ गते दिएको निवेदन उल्ट्याउदै असोज १७ गते 'करणी प्रयास गरेको' भन्दै महराविरूद्ध जाहेरी दिएकी थिइन्। जाहेरी दिइसकेपछि महाराजगन्जस्थित टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डाक्टरसँग पनि 'महराले करणी प्रयास र शारीरिक हिंसा गरेको' दोहोर्याएकी थिइन्।
यति धेरै ठाउँका जिम्मेवार मानिसहरूसँग महराले बलात्कार प्रयास र कुटपिट गरेको भन्दै एकैखालको बयान दिएकी छन्। यति मात्र होइन, घटनाको रात प्रहरीले खिचेको भिडियोमा उनको शरीरमा लागेको आलो घाउको चोट देखिन्छ। घटनास्थलको भिडियोले दुवैबीच निकै घम्साघम्सी भएको देखाउँछ।
यी बयान, भिडियो रेकर्ड र साक्षी प्रमाणका कारण शाहीले अदालतमा दिएको निवेदन ‘होस्टायल’ प्रमाणित हुने विश्वास सरकारी वकिलहरूले गरेका छन्।
महराले भने अदालतसामु आफू शाहीको कोठामै नगएको जिकिर गरेका छन्। नजिकसम्म पुगेको तर फोन सम्पर्क नभएको उनको दाबी छ।
महरा असोज १२ गते साँझ आफ्नो निवासबाट तीनकुनेस्थित शाहीको घरनजिक गएको र फर्किएको सिसी क्यामराको फुटेज छ। त्यो फुटेजले महरा जाँदा र फर्किदा एक घन्टाको फरक देखाउँछ। शाहीको घर छिर्ने ठाउँमा भने सिसी क्यामरा नरहेकाले फुटेज छैन। आफू शाहीको घर छिरेको फुटेज प्रहरीसँग छैन भन्ने थाहा पाएरै महराले आफू रोशनी बस्ने घर नजिक गए पनि फोन नउठेपछि कोठामा नपसी फर्केको बयान दिएका हुन्।
उनको यो बयानलाई उनीसँगै गएका सुरक्षाकर्मीको बयानले झूटो पुष्टि गरेको छ।
महरा असोज १२ गते शाहीको घर जाँदा सुरक्षाकर्मीलाई पनि लिएर गएका थिए। उनले सुरक्षाकर्मीलाई गेट बाहिरै छाडेका थिए। प्रहरीले त्यो दिन महराको साथमा रहेका सबैजसो सुरक्षाकर्मीसँग बयान लिएको छ। तीमध्ये तीन जनाले महरा शाहीको घरभित्र गएको आफैंले देखेको 'ठाडो कागज' गरिदिएका छन्। उक्त कागज पनि सरकारी वकिलले अदालतमा पेस गरेका छन्।
महराले अनुसन्धानमा सहयोग नगरेको विषयलाई समेत सरकारी वकिलले उनीविरूद्ध प्रमाणका रूपमा पेस गर्न सक्छ। महराले प्रहरीलाई आफ्नो डिएनए र मोबाइल जाँच गर्न दिएका छैनन्। कानुनमा भने अनुसन्धानका लागि रगत लगायत शरीरको अंग जाँच गर्न दिनुपर्ने उल्लेख छ।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा २१, उपदफा (१) मा कसुर र कसुरदार पत्ता लगाउन प्रमाण पाउन सकिन्छ भन्ने लागे अनुसन्धान अधिकृतले सरकारी चिकित्सक वा मान्यताप्राप्त प्रयोगशालामा रगत, वीर्य, रौँ वा शरीरको कुनै अंग, हातहतियार, चीज, वस्तु, विद्युतीय स्वरूपमा रहेको सामग्री वा अन्य कुनै भौतिक प्रमाण डिएनए परीक्षण गराउन सक्ने उल्लेख छ।
उपदफा (२) मा त्यस्तो परीक्षण गर्न सम्बन्धित व्यक्तिले सहयोग गर्नुपर्ने भनिएको छ। सहयोग नै नगरे के हुन्छ भन्ने व्यवस्था भने छैन।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीका अनुसार कानुनमा लेखेपछि परीक्षण गर्न अनिवार्य दिनुपर्छ, अस्वीकार गरे प्रमाण लुकाउन खोजेको पुष्टि हुन्छ।
'कसुर गरेको आरोप लागेका व्यक्तिले अनुसन्धान क्रममा डिएनए लगायत परीक्षण गर्न नमाने त्यसलाई उसले कसुर गरेको पुष्टि गर्ने प्रमाणका रूपमा अर्थ्याउन सकिन्छ,' उनले भने, 'डिएनए वा शरीरको अंग जाँच गर्न आरोपीले इन्कार गर्छ भने त्यो उसैविरूद्धको प्रमाण हो भन्ने अनुमान गर्न सकिने भन्दै सर्वोच्च अदालतले पनि व्याख्या गरेको छ।'
महराले डिएनए मात्र हैन, आफ्नो मोबाइलसमेत जाँच गर्न दिएका छैनन्। परिवारका सदस्यलाई दिएकाले आफूसँग मोबाइल नभएको प्रहरीलाई बताएका थिए। उनकी श्रीमतीले भने रिसले उक्त मोबाइल फुटाइदिएको बयान दिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।
'आफू विरूद्धका प्रमाण हुने भएरै उहाँले मोबाइल नदिनुभएको देखिन्छ,’ एक सरकारी वकिलले भने।
भोलिपल्टै पत्रकार सिवाकोटीले उक्त घटना सार्वजनिक गरेका थिए। घटना सार्वजनिक भएको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टीले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो। उनले भने सभामुखबाट मात्र राजीनामा दिएका छन्। असोज १७ गते महराविरूद्ध औपचारिक जाहेरी परेको थियो। असोज १९ गते उनलाई प्रहरीले पक्राउ गर्यो।
पक्राउको चार दिन हिरासतमा बसेपछि महरा असोज २३ गते बिरामी भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा गएका थिए। उनी अहिलेसम्म अस्पतालमै छन्।
उनको जाहेरीमा २० दिन लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कात्तिक १४ गते जबर्जस्ती करणीको उद्योगमा उनीविरूद्ध मुद्दा दायर गरेको थियो। उक्त कसुर गरेकोमा महरालाई साढे तीनदेखि पाँच वर्ष सजाय हुनुपर्ने सरकारी वकिलको माग छ।
सार्वजनिक पदमा आसिन हुँदा फौजदारी कसुर गरेको भन्दै त्यसको डेढी सजाय थप हुनुपर्ने अभियोगपत्रमा छ। यी दुवै जोडेर साढे पाँचदेखि साढे सात वर्षसम्म कैदसजाय हुनुपर्ने सरकारी वकिलको माग छ।