जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले बमकाण्डका प्रमुख आरोपी मोहम्मद अफताब आलमसहित १० जनाविरूद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ।
आलमसहित दस जनालाई विभिन्न तीन वटा कसूरमा अलग-अलग सजाय र एक जनालाई मतियार कायम गरी सोमबार अदालतमा अभियोग पत्र दर्ता गरेको हो।
स्रेस्तेदार गुणराज पराजुलीका अनुसार आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दामा सजाय माग गरिएको छ।
उनीहरूलाई विभिन्न तीन कसूरमा ३२ वर्ष सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ। पराजुलीका अनुसार विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ।
अभियुक्तमध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ।
अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई मारेको उल्लेख रहेको पराजुलीले बताए।
‘प्रहरीबाट आएको प्रतिवेदनमा दर्जन बढीलाई जिउँदै जलाई मारेको अभियोग पत्र दायर भएको छ,’ पराजुलीले सेतोपाटीसँग भने।
यो कसूरमा पीडितलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग दाबी पनि गरिएको छ। रौतहट बमकाण्डको कसूरमा आलमसहित शेख भदई, मोबिन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ।
पीडक प्रतिवादीमध्ये कांग्रेस सांसद अफताब पक्राउ छन्। अन्य फरार प्रतिवादीलाई पक्राउ पूर्जी जारी गर्न माग गरिएको पराजुलीले बताए।
समय अभावका कारण सोमबार थुनछेक बहस सुरू हुन सकेन।
मंगलबार अदालत खुलेलगत्तै बहस सुरू हुने पराजुलीले बताए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस-४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।
आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो।
त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन नभएकाले अभियोग पत्रमा दर्जन बढी उल्लेख गरिएको छ।
रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए। तिनै जाहेरी अस्तित्वमा रहेकाले रौतहट क्षेत्र नम्बर-२ बाट निर्वाचित सांसद आलम घटना भएको १२ वर्षपछि गत असोजमा पक्राउ परेका थिए।
रुक्सनाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको अभियोग आलमसहितका व्यक्तिमाथि छ।
केही प्रत्यक्षदर्शी र पीडकसमेतको बयान संलग्न गराई प्रहरीले दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा जलाएर मारिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो।
यो पनि :
आलमको सम्पत्ति छानबिन हुने