सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख छानेको हो।
सिफारिस भएका नयाँ प्रदेश प्रमुखमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादव छन्।
प्रदेश प्रमुख छनोट गर्दा कर्णाली प्रदेशबाट भने कोही पनि परेका छैनन् । कर्णाली प्रदेशबाट प्रमुख छनोट नहुँदा नेकपा नेताहरू असन्तुष्ट भएका छन्।
नेकपाका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा समग्र परिवर्तनका लागि कर्णाली प्रदेशबाट सबैभन्दा योग्दान र बलिदान पुगेको भए पनि यसको कदर नभएको बताउँछन्।
‘बलिदान र योगदानको हिसाबले समग्र परिवर्तनमा कर्णाली प्रदेशबाट धेरै छ, अहिले प्रदेश प्रमुख नियुक्त गर्नेक्रममा यसको कदर गरिएन,’ उनले भने।
शर्मा प्रदेश प्रमुखका आकांक्षी थिए।
सिंगो गणतन्त्रका लागि कर्णाली प्रदेशबाट धेरै बलिदान गरिएको ठाउँमा प्रदेश प्रमुखका लागि योग्यता पुगेको मान्छे नै नभएजस्तै कोहीलाई समावेश नगरिएको उनको भनाइ छ।
‘जो जहाँसुकै प्रतिनिधित्व गरेर गए पनि फरक पर्दैनथ्यो, तर कर्णाली प्रदेशबाट पनि कोहीलाई समावेश गर्नुपर्थ्यो,’ उनले भने, ‘आन्दोलनका हिसाबले अग्र भूमिका निभाएको प्रदेशलाई नै ठाडो अपमान गरियो, यो राम्रो भएन।’
नेकपाका अर्का नेता बालाराम शर्मा पनि सकेसम्म प्रदेशभित्रकै त्यति नभए प्रदेशबाट एकजना समावेश हुनुपर्नेमा त्यसो नगरेर गलत गरिएको बताउँछन्। उनको नाम पनि प्रदेश प्रमुखको लागि चर्चामा थियो।
‘भागबण्डामै ठीक भयो होला, नेता तथा कार्यकर्ताका लागि यो प्रदेशबाट पनि एकजना बन्नु पर्ने हो,’ उनले भने, ‘पार्टीभित्रको आन्तरिक समिकरण मिलाउनु पर्ने भएकोले होला, तर यसो गर्नु हुन्नथ्यो,’ उनले भने।
शर्मा वीरेन्द्रनगर नगरपालिकाका पूर्वमेयर हुन् ।
प्रदेश प्रमुख नियुक्त गर्दा कर्णाली प्रदेशबाट कोही नपर्नुले प्रदेश नेतृत्वबाट आझेलमा परेको महसुस भएको कर्णाली प्रदेश सभाका सदस्य रहेका नेकपाका एक नेताले बताए।
‘संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र जे भए पनि शक्ति पृथकीकरण सिद्धान्त अनुसार सिंहदरबार गाउँगाउँमा भन्ने नेताले हाम्रो प्रदेशबाट पनि एकजना प्रदेश प्रमुख नियुक्त गरिदिएको भए सुनमा सुगन्ध हुन्थ्यो,’ उनले भने, ‘त्यसो नभएकाले हाम्रो प्रदेश नेतृत्वबाट ओझेलमा पर्यो की भन्ने लागेको छ।’
दैलेख घर भएका नेकपाका केन्द्रीय सदस्य एंव विदेश विभागका उपप्रमुख बिष्णु रिजालले पनि प्रदेश प्रमुख नियुक्तिमा कर्णालीको प्रदेश नअटाएकोमा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्- सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ। अन्तका मेयर हारेकाको योग्यता पुग्दोरहेछ। तर, कर्णालीकालाई योग्यता पुग्न के-के चाहिने रहेछ?