गत भदौमा सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकको संरचना निर्माण सम्पन्न भयो। यो चोकमा जनआन्दोलनअघि राजा वीरेन्द्रको शालिक थियो। आन्दोलनका क्रममा शालिक ढलाइयो।
शालिकबिनाको उक्त संरचना पुनःनिर्माण गर्ने विषयमा चलेको लामो समयसम्मको छलफलपश्चात १३ वर्षपछि संरचना निर्माण गरिएको हो।
थुप्रै समय राजा वीरेन्द्रको शालिकसहितको संरचना बनाउनुपर्ने विषयमा पनि छलफल चलेको थियो। यसका लागि हस्ताक्षरसमेत संकलन गरियो। अन्ततः नगरपालिकाले बनाएको यो संरचना शालिकबिनाको बन्यो। तर नाम भने ‘वीरेन्द्र चोक’ नै राखियो।
वीरेन्द्रको शालिकबिनाको ‘वीरेन्द्र चोक’ नाम किन लेखियो भन्ने विषयमा छानबिन गर्न नगरपालिकाले एउटा समित गठन गरेको छ। नगरपालिकाले यो संरचनाबारे छानबिन गर्न बनाएको समितिले नगरपालिकामाथि नै छानबिन गर्नुपर्ने भएको छ।
नगरपालिकाले संरचनामा ‘वीरेन्द्र चोक’ लेखिएको भन्दै असोज २ गते कार्यपालिका बैठक बसालेर चार सदस्यीय छानबिन समिति गठन गरेको हो। वीरेन्द्रनगर–१२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेको संयोजकत्वमा गठित समितिको सदस्यमा वडा नम्बर ८ का अध्यक्ष ध्रुव चपाइँ र एक जना वडा सदस्य छन्। नगरपालिकाका एक जना कर्मचारी सदस्य सचिवका रूपमा छन्।
यो चोक वीरेन्द्रनगरको मुख्य चोकसमेत हो। तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उनले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको गुरुयोजना बनाउन लगाएका थिए। २०४४ सालमा राजा वीरेन्द्रका दाम्पत्ति नै सुर्खेत पुगेर वीरेन्द्रको शालिक राखेर बनाइएको यो चोक अनावरण गरेका थिए।
त्यसबेला नै यो चोकको नाम वीरेन्द्र चोक राखिएको हो। राजा वीरेन्द्र २०२३ सालमा पहिलो पटक सुर्खेत आएका थिए। उनलाई उपत्यका खुब मन परेकाले २०२९ सालमा गुरुयोजना बनाउन लगाएका थिए। त्यतिबेलासम्म कटकुवा नगर पञ्चायतका रुपमा रहेको यो उपत्यकालाई त्यसैबेला वीरेन्द्र चोक नामाकरण गरिएको थियो।
झन्डै २० वर्षसम्म चोकमा ठडिएको राजाको शालिक अहिले छैन। तर, नाम भने वीरेन्द्र चोक लेख्ने वा नलेख्ने भन्ने विषयमा विवाद बढेको छ। यही विवाद हुन थालेपछि छानबिन गर्न समिति गठन गरिएको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए।
‘निर्माण गर्नेक्रममा वीरेन्द्र चोक लेखिएछ, यही नाम लेख्ने कि नलेख्ने भन्ने विवाद हो,’ उनले भने, ‘छानबिनका लागि समिति गठन भएको छ, के रिपोर्ट आउँछ। त्यसअनुसार होला।’
वीरेन्द्रको शालिकबिनाको संरचना बनेकाले भत्काउनुपर्ने कुरा चलेपछि छानबिन समिति आवश्यक ठानेर गठन गरिएको समितिका सदस्य रहेका वडा नम्बर ८ का अध्यक्ष ध्रुव चपाइँ बताए। ‘कार्यपालिकाको बोर्डमा भत्काउनुपर्छ भन्ने कुरा निक्लिएको थियो, अब बनिसकेको संरचना भत्काउनुभन्दा छानबिन समिति गठन गरेर अगाडि बढौं भनेर गठन गरिएको हो,’ चपाइँले भने।
वीरेन्द्रचोक प्रख्यात नाम भएकाले बनाउन जिम्मा लिएको मान्छेले लेखेको हुनसक्ने उनले बताए। उनले पनि छानबिन गर्ने विषयमा समिति विशेषगरी नगरपालिकामाथि नै केन्द्रित हुने बताएका छन्।
वडा अध्यक्ष चपाइँको धारणा भने वीरेन्द्र चोक नै नाम रहनुपर्ने छ। ‘हाम्रो धारणा खासमा वीरेन्द्र चोक नै हुनुपर्छ भन्ने हो, नगरपालिकाको नाम पनि वीरेन्द्रनगर छ,’ उनले भने, ‘कि त तगरपालिकाकै नाम फेर्नुपर्यो, नत्र भने मान्छेको जनजिब्रोमा झुण्डिएको नाम हो।’
डेढ महिनासम्म पनि बुझाइएन प्रतिवेदन
वीरेन्द्रचोक नाम राख्ने/ नराख्ने विषयमा गठित छानबिन समितिलाई नगर कार्यापालिकाले गठन भएको दिन असोज २ गतेदेखि नै लागू हुने गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएको थियो। त्यसअनुसार समितिले असोज ११ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने थियो।
तर, हालसम्म पनि समितिले प्रतिवेदन कार्यपालिकालाई बुझाउन सकेको छैन। समितिका संयोजक लोकप्रसाद चालिसेले बीचमा दसैं, तिहार परेकाले र कार्यालयले आवश्यक डकुमेन्ट नदिएका कारण प्रतिवेदन ढिलाइ भएको बताए। उनले हालसम्म प्रतिवेदन तयारसमेत नभएको बताए।