पूर्वराष्ट्रपति रामबरण यादवले राजमार्ग र विनानस्थल निर्माण गर्दा चुरे क्षेत्र विनाश हुने चिन्ता गरेका छन्।
जनकपुरमा शनिबार आयोजित नेपाल साहित्य उत्सवमा बोल्दै यादवले चुरे विनाश नरोकिएकोमा चिन्ता जनाए।
‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइराखेको छ,’ उनले भने, ‘चुरे संरक्षणमा सरकारीस्तरबाट ध्यान पुग्न सकेन।’
चुरे क्षेत्र विनाश हुने गरी मदन भण्डारी राजमार्ग र बारा निजगढमा विमानस्थल निर्माण गर्न लागिएकोमा पनि उनले चिन्ता गरे। ‘अध्ययनविना रेलवे लाइन पनि विस्तार गर्न हुँदैन,’ यादवले भने।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले पनि चुरे क्षेत्र विनाश हुनबाट रोक्नुपर्नेमा जोड दिए।
चुरेबाट निस्कने एक सय ६४ नदीनालाको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। ‘चुरे संरक्षणका लागि कानून कडाइका साथ लागू गरिनुपर्छ,’ उनले भने।
चुरेसँग मधेशको भाग्य र सिंगो मुलुकको भविष्य जोडिएको नेता नेपालको भनाइ थियो। ‘चुरे संरक्षणका लागि राज्यस्तरबाटै पहल हुनुपर्छ,’ उनले भने। तोकिएको ठाउँभन्दा तीन किलोमिटर तल विमानस्थल सार्न सके चुरे जोगिने उनले बताए।