डिल्लीबजार कारागारको प्रहरीले सुडान घोटालाका दोषी शम्भु भारतीलाई होटल हिमालय पुर्याएको खुलेको छ।
वीर अस्पतालमा उपचार गर्ने कागजात बनाएका भारती कुपण्डोलस्थित होटलसम्म पुगेको देखिएपछि प्रहरीले घटनाबारे छानबिन नै थालेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भारतीलाई उपचार बहानामा होटल हिमालयन लगेर ‘मोज’ गराएको आरोपमा एक जना असईलाई निलम्बन नै गरेको छ।
डिल्लीबजार कारागारका प्रहरी सहायक निरीक्षक प्रकाश ढाँटलाई शनिबार निलम्बन गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार उपचार गर्ने पत्रवाहक भारतीलाई असई ढाँटले हिमालयन होटल पुर्याएको देखिएकाले उनलाई निलम्बन गरिएको हो।
‘ड्युटी इन्चार्ज ढाँट भएको बेलामा भारती होटल हिमालयन पुगेको देखिएपछि असईलाई निलम्बन गरिएको हो,’ थापाले सेतोपाटीसँग भने, ‘यस घटनाबारे थप छानबिन भइरहेको छ।’
ललितपुर प्रहरी परिसरले पनि घटनाबारे छानबिन गर्न प्रहरी उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
परिसर प्रमुख एसएसपी टेकबहादुर राईले शुक्रबार गठन गरिएको समितिलाई तीन दिनभित्र प्रतिवेदन दिन निर्देशन दिइएको बताए।
कात्तिक २१ गते भारती होटल हिमालयन पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरी स्रोतका अनुसार भारती फर्कंदा होटल हिमालयनमा उनले उपचारका लागि कारागारले दिएको कागज छोडे।
सो कागजबारे होटलका कर्मचारीले प्रहरी प्रभाग पुल्चोकमा जानकारी दिएका थिए। प्रभागका प्रहरीले कागज जिम्मा लिएर तुरुन्तै कारागारमा फर्काएका थिए।
पुल्चोक प्रभागले भारतीको कागज हिमालयबाट प्राप्त भएको रिपोर्टिङ उपल्लो निकायमा नगरी किन कारागार पठायो भन्ने पनि छानबिन भइरहेको ललितपुर परिसरले जनाएको छ।
‘मेरो मातहतले मलाई रिपोर्टिङ नगरी किन कारागारमा कागजात पठायो भन्नेबारे छानबिन भइरहेको छ,’ एसएसपी राईले भने, ‘सोमबारसम्ममा छानबिन प्रतिवेदन आउँछ।’
यसरी पुगे भारती हिमालय
डिल्लीबजार कारागार स्रोतका अनुसार भारतीले नियमित जाँचका अस्पताल जान निवेदन दिएका थिए। उनी जेल चलान हुँदा हातको हड्डीमा समस्या रहेको जनाएका थिए।
भारतीको निवेदन आएपछि कारागार प्रशासनले आफ्ना स्वास्थ्यकर्मीलाई बोलाएर जँचायो। भारतीलाई उपचार खाँचो रहेको चिकित्सकले औंल्याएपछि वीर अस्पतालको अर्थो वार्डमा लैजान भारतीलाई अनुमति दिइएको थियो।
जेलर अरूण पोखरेलका अनुसार भारतीलाई १९ गते वीर लगेर उपचार गराउन अनुमति दिइएको थियो।
‘हामीले फलोअप उपचारमा लैजान अनुमति दिएका थियौं, जँचाएर फर्किंदा हिमालयन होटल पुगेको भन्ने सुन्नमा आएको छ,’ जेलर पोखरेलले भने।
२१ गते जँचाएर फर्किने क्रममा भारतीलाई किन हिमालयन होटल पुर्याइयो र त्यहाँ को सँग भेट गराइयो वा खानपिनकै लागि मात्र लगिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
भारती नेपाल प्रहरीको चर्चित सुडान घोटालाका अभियुक्त हुन्। उनलाई गत भदौ १३ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। पक्राउलगत्तै भारती डिल्लीबजार कारागार चलान भएका थिए।
सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो। भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि र भगवती ट्रेडर्सका सञ्चालक हुन्। यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको थियो।
सर्वोच्च अदालतको २०७४ वैशाख १७ गतेको फैसलाअनुसार भ्रष्टाचार मुद्दामा एक वर्ष कैद तथा बिगोको आधा १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ ३ पैसा जरिवाना ठहर भएदेखि दुई वर्ष भारती फरार रहेका थिए।
मुख्य आपूर्तिकर्ता ‘एस्योर्ड रिक्स कम्पनी लण्डन’को तर्फबाट उनी प्रतिनिधि थिए। सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको आवश्यक बन्दोबस्तीका सामान (एपिसी) खरिद गर्न आफैं एजेण्ट भएको उक्त कम्पनीलाई ठेक्का पारी ‘आइएसओ स्ट्यान्डर्ड’को ‘एपिसी’को सट्टामा कोटेशनमा मूल सम्झौताको विपरीतका सर्तहरू थपेर ८ थान पुराना र काम नलाग्ने एपिसी सप्लाई गराएको अनुसन्धानबाट खुलेको थियो।
नेपाल प्रहरीको शान्ति मिसनका लागि आवश्यक बन्दोबस्तीका सामान खरिद तथा ढुवानी गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीसहित पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र ओमविक्रम राणाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।