उद्योगपति पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार केही दिन अघि पक्राउ परेका व्यवसायी रूप ज्योतिका दाजु पद्म ज्योतिलाई सोमबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी जारी गरिएको हो।
पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। उनी ज्योति ग्रुपका अध्यक्ष हुन्।
रूप ज्योतिलाई प्रहरीले कात्तिक २१ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। उनलाई हिरासतमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुई पटक म्याद थपेको छ।
सोही मुद्दामा रूप ज्योतिकी छोरी सुरूची पनि पक्राउ परेकी छन्।
ल्यान्डमार्कको विवाद के हो?
काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित ल्यान्डमार्क डेभलपर्स प्रा.लि. र विजेन्द्रकृष्ण मल्लबीच २०७१ सालमा घर निर्माणसम्बन्धी सम्झौता भएको थियो।
सम्झौतामा ६ आना ३ दाम २.१६ पैसाको जग्गामा घर बनाएर मल्ललाई हस्तान्तरण गर्ने उल्लेख थियो। सम्झौताबमोजिम मल्लले ल्यान्डमार्कलाई अग्रिम एक करोड ३६ लाख रुपैयाँ दिएका थिए।
घर बनाएर हस्तान्तरण गर्दा मल्लले २ करोड १४ लाख १९ हजार ७५० रुपैयाँ बुझाउनुपर्ने सम्झौतामा थियो।
सम्झौता कार्यान्वयन गर्दै ल्यान्डमार्कले एउटा हाउजिङ कम्पनीलाई कामको जिम्मा दियो। बाँसबारीकै सिई कन्स्ट्रक्सन कम्पनीले उक्त जग्गामा घर बनाउने भयो। सिई कन्स्ट्रक्सन सञ्चालक शम्भु फुयाँल हुन्।
ल्यान्डमार्क कम्पनीमा ज्योति एन्ड ग्रुप स्याकार कम्पनीको साझेदारी छ। त्यसहिसाबले ल्यान्डमार्कबाट हुने कारोबारको एउटा जिम्मेवार सदस्य ज्योति एन्डका रूपज्योति थिए।
उनै रूपज्योति सो जग्गामा घर नबनाई मल्लको एक करोड ३६ लाख पैसा ‘पचाएको’ आरोपमा अहिले पक्राउ परेका छन्। बिहीबार पक्राउ परेका उनीसहित छोरी सुरूची ज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी मुद्दामा अनुसन्धान थालेको छ।
परिसरका अनुसार २०७१ सालमा सम्झौता भए पनि लामो समयसम्म मल्लले न घर पाए, न पैसा फिर्ता। ल्यान्डमार्कसँग लामो समय यसबारे विवाद भएपछि मल्लले २०७५ मंसिर १६ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिए।
प्रहरीले उनको जाहेरी कार्यान्वयनमा ल्याउँदै रूपज्योतिलाई पक्राउ गर्न अदालतबाट आदेश लियो।
जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० गते ज्योतिका नाममा पक्राउ पूर्जी जारी गर्न अनुमति दियो। जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जी खारेज गर्न माग गर्दै रूपज्योति मंसिर २५ गते सर्वोच्च अदालत गए।
सोही मुद्दाको फैसला गर्दै यही कात्तिक १८ गते प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले रूपज्योतिको माग दाबी नपुग्ने भन्दै रिट खारेज गरिदिएको थियो।
अदालतले रिट खारेज गरिदिएपछि मल्ल बिहीबार परिसरमा पूरक निवेदन दिन पुगेका थिए। मल्लको पूरक निवेदन पाएपछि सिंगापुरबाट सिल्क एयरमा आएका रूपज्योतिलाई बिहिबार बेलुका ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ पक्राउ गर्यो।
अग्रिमबापत् बुझाइएको पैसा सिई कन्स्ट्रक्सन सञ्चालक फुयाँलको कम्पनीले बुझेको ल्यान्डमार्कको भनाइ छ।
सिई कन्सट्रक्सनका नामबाट एक वर्षअघिसम्म ल्यान्डमार्कको हाउजिङ खरिदका लागि एक करोड ३६ लाख बुझाएको मल्लको दाबी छ।
पैसा बुझाइसकेपछि मालपोत कार्यालयमा गएर बुझ्दा आफूले पाउने भनेको घरजग्गा ल्यान्डमार्कबाट २०७४ साल कात्तिक २४ गते रूपज्योतिकै छोरीलगायतको नाममा भएको क्वालिटी डेभलपर्सको नाममा हस्तान्तरण भइसकेको थाहा पाएको भन्दै मल्ल कानुनी प्रक्रियामा गएका थिए।
तर, ल्यान्डमार्कका साझेदार ज्योतिले भने सिई कन्ट्रक्सनले नै सबै भुक्तानी लिएको र उसैमार्फत जग्गा वा पैसा असुल गराउनु पर्ने बताउँदै आएका छन्।