बुटवलको हिलपार्क गेट नजिकैको सुर्लुक्क परेको आश्रित प्रतिष्ठानको चार तले घर। सिँढी चढेर भुइँतलाबाट पहिलो तला पुगेपछि सिसाको ढोका देखिन्छ। ढोकाभित्र कोठाको चारतर्फ भित्तामा सिसाको दराजमा विभिन्न सामग्री सजाएर राखिएको छ।
२०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीसँगै सो पार्टीका संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भयो।
जीवनको अन्तिम समयसम्म पनि पार्टीको जिम्मेवारीलाई सँगसँगै पूरा गर्दै आएका भण्डारी र आश्रितले मृत्युवरण पनि दासढुंगा दुर्घटनामा एकैपटक गरे।
दुर्घटनामा परी मृत्युपछि पनि मदनको विचार र व्यक्तित्वको चर्चा चुलिए पनि आश्रितको योगदान भने छायामा पर्दै गयो।
गुल्मीको हरेवा गाविसमा जन्मिएर रुपन्देहीबाट राजनीतिक यात्रा सुरू गरेका आश्रितका विचार र योगदानलाई स्मरण गराइराख्न बुटवलमा आश्रित प्रतिष्ठान स्थापना गरिएको हो।
प्रतिष्ठानले आश्रितको ७५ औं जन्मजयन्तीको अवसर पारेर गत साउनमा संग्रहालय सञ्चालनमा ल्याएको हो।
.jpg)
सोही संग्रहालयको ढोका प्रवेश गर्ने बित्तिकै देव्रेतर्फको भित्तामा सिसाको दराजभित्र आश्रितले प्रयोग गरेका सामग्री सजाएर राखिएका छन्।
त्रिशूलीबाट निकालिएको आश्रितको पार्थिव शरीरको गोजीमा फेला परेका एउटा एक हजार र तीन वटा एकएक सय गरी १ हजार ३ सय रुपैयाँ जतन गरी सजाएर राखिएको छ।
.jpg)
आश्रितले लगाएका ज्याकेट, कोट, पाइन्ट, स्वीटर, सर्ट, मफलर र ढाकाको टोपीलाई ह्याङ्गरमा झुण्डाइएको छ।
पहिलो खानामै राखिएको आश्रितले हातमा बाँधेको घडी, उनले सुन्दै आएको हरियो खोल सहितको रेडियो, धागोबाट बुनिएको झोला, टिनको बाकसमा उनले पढेका पुस्तक र सँगै राखिएको आश्रितको तस्बिरले त्यहाँ जाने जो कोहीको पनि मन छुने गर्छ। उक्त रेडियो वर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमिगत कालमा आश्रितलाई उपहार दिएका थिए।
.jpg)
.jpg)
त्यस्तै, आश्रितको नागरिकता र पासपोर्ट र जीवनीलाई फ्रेममा राखिएको छ।
उनको राजनीतिक यात्रा क्रममा खिचिएका तस्बिर, दासढुंगामा दुर्घटनामा परेको जीप, त्रिशूलीमा भेटिएको क्षतविक्षत शव, शवयात्रा र दाहसंस्कारको लागि राखिएका शवले भने स्तब्ध बनाउँछ।
आश्रितले भूमिगतकालमा लेखेका दस्तावेज र चिठीपत्र समेत संग्रहालयमा राखिएका छन्। आश्रितको बारेमा जान्न र बुझ्न चाहने जो कोहीलाई पनि संग्रहालय एउटा पाठशाला बनेको छ।
.jpg)
.jpg)
आश्रितको जीवनीमा आधारित श्रव्यदृश्य वृत्तचित्रसँगै ठिंग उभिएको आश्रितको शालिकले उनी संग्रहालयमै जीवित रहेको आभाष दिलाउँछ। आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे हराउन थालेका जीवराजलाई चिनाउन र बुझाउन संग्रहालय बनाइएको बताउँछन्।
संग्रहालयमा आश्रितसँग सम्बन्धित सामग्रीसँगै मानव विकास क्रम, पर्यटकीय स्थल, नेपाली समाजको विविध जातजातिका भेषभूषा, कला संस्कृति र परम्परासँग सम्बन्धित सामग्रीहरू पनि सजाएर राखिएको छ।
संग्रहालयमा नेपालका पहाडी क्षेत्रमा दैनिक रूपमा प्रयोग गरिने डोको, सोली, गुन्द्री, गुन्द्री बुन्ने हतासो, ढिकी, हलो जुवा, ढकीया लगायतका दर्जनौं सामग्रीहरू राखिएका छन्।
.jpg)
.jpg)
बुटवल उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा संस्कृति मन्त्रालयबाट प्राप्त ८० लाख रुपैयाँ बजेटमध्येबाट ६० लाख रुपैयाँ खर्च गरेर संग्रहालय निर्माण गरिएको हो।
वि.सं २००१ साउन १८ गते आमा चन्द्रकला र बुवा प्रेमराज शर्माका जेठो सन्तानको रूपमा गुल्मी जिल्लाको हरेवा रिठारूखमा जन्मिएका आश्रित विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए।
गुल्मीबाट २०२० सालमा रुपन्देहीको हसनापुरमा बसाइँ सरेका आश्रितले २०२१ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।
.jpg)
.jpg)
आश्रितले विसं २०२६ देखि २०२८ सम्म जेल जीवन बिताएका थिए।
२०२८ सालदेखि भूमिगत भएका आश्रित २०४७ साल वैशाख १३ गते सार्वजनिक भएका थिए। भूमिगत कालमै २०२८ सालमा लुम्बिनी अञ्चल पार्टी ब्युरो सदस्य, २०३० सालमा अर्घाखाँची जिल्ला ईन्चार्ज भएका आश्रित २०४९ सालको पाँचौ महाधिवेशनबाट एमाले पोलिट ब्युरो र संगठन विभाग प्रमुख बनेका थिए।
पार्टीभित्र कुशल संगठकको रूपमा पहिचान बनाएका आश्रितले संगठन विभाग प्रमुख रहेकै बखत दुर्घटनामा परी मृत्युवरण गरे।
२०३२ सालमा माया ज्ञवालीका साथ विवाह बन्धनमा बाँधिएका आश्रितका छोरा सागर न्यौपाने र छोरी उषा न्यौपाने छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)