कर्णाली प्रदेशका दुई ठाउँमा आगामी १४ गते उपनिर्वाचन हुँदैछ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।
खार्पुनाथकी उपाध्यक्षको गाडी दुर्घटनामा मृत्यु भएको थियो भने कुमाख–५ का वडा अध्यक्ष जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचित भएपछि यी दुई पद खाली भएका थिए।
हुम्लामा तीन जना प्रतिस्पर्धी
हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका छन्। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा संयुक्त)बाट उम्मेदवारी परेको छ ।
हुम्लाका जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार नेपाली कांग्रेसबाट तारा कुमारी शाही, नेकपाबाट रुपा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहको उम्मेदवारी परेको छ।
उनका अनुसार मतदानका लागि गाउँपालिकाभित्र पाँच वटा मतदान स्थल रहेका छन् भने पाँचै वटा मतदान केन्द्र तोकिएको छ। गाउँपालिकाभित्र ३ हजार ३ सय ८७ मतदाता रहेको शर्माले जानकारी दिए।
खार्पुनाथकी तत्कालीन उपाध्यक्ष सिन्दु हमाल शाहीको असार ३ गते कर्णाली नदीमा जीप दुर्घटना हुँदा मृत्यु भएको थियो। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्।
सल्यानमा स्वतन्त्रसहित पाँच उम्मेदवार
सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षका पाँच जनाको उम्मेदवारी परेको छ। त्यसमा दुई जना स्वतन्त्र उम्मेदवार छन्। तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपसंयोजकमा निर्वाचित भएपछि त्यहाँ वडा अध्यक्षको पद रिक्त छ।
उक्त पदमा नेपाली कांग्रेसबाट खड्क बहादुर बोहरा, नेकपाबाट धर्मे बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले उम्मेदवारी दिएका छन्।
यस्तै, त्रिबहादुर गिरी र दलवीर बस्नेतले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाले जानकारी दिए।
पछिल्लो तथ्याङ्क अनुसार उक्त वडामा १ हजार ८३९ जना मतदाता रहेका छन् । मतदानका लागि एउटा स्थलमा ‘क’ र ‘ख’ गरी दुईवटा मदतान केन्द्र कायम गरिएको बुढाले जानकारी दिए।
दोहोरिए उम्मेदवार
कर्णाली प्रदेशमा स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनका लागि केही प्रतिस्पर्धी पुरानै दोहोरिएका छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि नेकपाले रुपा शाहीलाई उम्मेदवार बनाएको छ। उनी यसअघि २०७४ मा भएका निर्वाचनमा पनि तत्कालीन नेकपा एमालेका तर्फबाट उपाध्यक्षको उम्मेदवार थिइन्।
यस्तै सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षका लागि हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले खड्क बहादुर बोहरालाई उम्मेदवार बनाएको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनी तत्कालीन वडाअध्यक्ष हरिप्रकाश बुढाथोकीसँग पराजित भएका थिए।