व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रूप ज्योतिले हिरासतमा रहँदा विजेन्द्रकृष्ण मल्ल र आफूबीच कुनै पनि किसिमको सहमति नभएको बताएका छन्।
‘उहाँले जाहेरी फिर्ता लिनुभएछ, त्यो पनि मलाई राम्रोसँग थाहा छैन, मलाई यति थाहा छ, प्रहरीले मलाई छोड्यो,’ रूप ज्योतिले रिहाइपछि सेतोपाटीसँग भने।
उनले मल्ल र आफूबीच बीचमा सम्पर्क-संवाद नभएकोसमेत बताए।
‘म आफू यसमा संलग्न भइनँ, मैले मेरो कोही प्रतिनिधि पनि पठाइनँ,’ उनले भने, ‘उहाँले किन जाहेरी फिर्ता लिनुभयो, उहाँलाई नै जानकारी होला।’
ज्योतिले ‘लेनदेन’ सुल्झाउने सहमति भएको भन्ने कुराबारे आफूलाई जानकारी नभएको बताए।
ज्योतिमाथि जाहेरी दिने मल्लले दुई पक्षबीच लेनदेनमा सहमति भएको दाबी गरेका थिए।