गत साता नेपाल कम्युनिष्ट पार्टीका एक नेताले भने- हाम्रो पार्टीभित्रको शक्ति सन्तुलन पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गरेको छ।
‘प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपाललाई बोलाएर वालुवाटारमा चार घन्टा भलाकुसारी गरेको त्यही कुराको संकेत हो,’ उनले दाबी गरे।
मैले सोधें- कसरी?
उनले अर्थ्याए- पछिल्लो एक वर्षभन्दा धेरै समय प्रधानमन्त्री ओलीले पार्टी र सरकार एकलौटी चलाए। अब त्यो चरण सकियो।
किन?
‘अब प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री ओलीलाई एकलौटी गर्न दिने पक्षमा छैनन्,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि त्यो कुरा बुझ्नुभएको छ।’
नेकपाभित्रको शक्ति संघर्ष नयाँ कुरा होइन। पार्टी एकीकरण भएदेखि नै नेकपामा मुख्य तीन गुट छन्। एमालेदेखिकै ओली र नेपाल गुट र पार्टी एकीकरण भएपछि थपिएको प्रचण्ड गुट।
पार्टी एकीकरण गर्दा झन्डै चालिस प्रतिशत भाग लिएकाले संख्याको हिसाबले प्रचण्डको सबैभन्दा ठूलो गुट छ। सत्ताको बागडोर सम्हालेको र हाराहारी ३५ प्रतिशत संख्या भएको ओलीको सबैभन्दा शक्तिशाली गुट छ। यी दुई गुटमध्ये जता लाग्यो त्यसैको पल्ला भारी पार्ने हैसियत राख्ने नेपालको झन्डै २५ प्रतिशत नेता-कार्यकर्ता भएको तेस्रो गुट छ। तीनमध्ये दुई गुट एक ठाँउमा उभिनेबित्तिकै तेस्रोलाई संख्यात्मक र मनोवैज्ञानिक दबाब पुग्छ।
करिब आठ महिनाअघि नजिक आएर टाढिएका प्रचण्ड र नेपाल अहिले फेरि नजिकिएको छन्।
‘आफूहरू एक नहुदाँसम्म ओलीले पार्टीमा दुबैलाई कुनै हैसियत नदिने र पार्टी, सरकार एक्लै चलाइरहने उहाँहरूले बल्ल बुझ्नुभएको छ,’ नेकपाका अर्का नेताले भने।
पछिल्लो पटक प्रधानमन्त्री ओलीले उपचार गरेर सिंगापुरबाट फर्किएपछि वाचाअनुरूप प्रचण्डलाई पार्टी अध्यक्षको कार्यकारी जिम्मेवारी नदिएपछि उनी ओलीसँग टाढिएका हुन्। प्रधानमन्त्रीबाट ‘धोका’ पाएपछि दाहालले नेपालसँग सामिप्य बढाएका छन्।
सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीले दाहाललाई आफूसँग नजिक्याउने र नेपाललाई थप ‘ह्युमिलेट’ गरेर टाढा पुर्याउने काम गरेका थिए।
उनले अर्का नेता वामदेव गौतम र प्रचण्डलाई सँगै राखेर सिंगापुरबाट फर्केपछि गौतमलाई पार्टी उपाध्यक्ष बनाउने र दाहाललाई पार्टी अध्यक्षको जिम्मेवारी दिने आश्वासन दिए। सचिवालय बैठकमै गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव राखे। त्यसपछि दाहालको सहमतिमा उनले ईश्वर पोखरेललाई स्कुल विभागको नेतृत्व दिए।
पार्टी एकीकरणपछि वरिष्ठतामा माधव नेपालभन्दा आफूलाई पछि पारिएकोमा झलनाथ खनालको असन्तुष्टि थियो। उनले सचिवालय बैठकमा प्रस्ताव राखेर खनालको वरियता बढुवा गरिदिए। नेपाललाई बरियतामा खनाल पछि राखेर ‘ह्युमिलेट’ गरे। नेपालले सो निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखे।
यसरी ओलीले नेपाललाई एक किसिमले पुरै एक्ल्याए। यतिले नपुगेर उनले उपचार गर्न सिंगापुर जानुअघि नेपालले दिएको स्वास्थ्यलाभको कामना पनि अस्वीकार गरे।
‘तपाईंको कामना त म मरोस् भन्ने छ,’ उनले सचिवालय बैठकमा भने।
ओलीले त्यो बेला प्रचण्डलाई आफूतिर तान्न र नेपाललाई पर धकेल्न खोज्नुको कारण छ। उनी खासमा प्रचण्ड र नेपालबीचको बढ्दो हिमचिम तोड्न चाहन्थे।
पार्टी एकीकरण पछि ओलीले पार्टी र सरकार एकलौटी चलाउन थालेपछि ८ महिनाअघि प्रचण्ड र नेपाल पहिलो पटक नजिक भएका थिए।
त्यसपछि प्रचण्डले पार्टी एकताका बेला प्रधानमन्त्री आधाआधा कार्यकाल चलाउँछु भनेर आफूसँग गरेको गोप्य सहमतिबारे सार्वजनिक रूपमै बोले।
उनले त्यतिबेलाको सहमति सार्वजनिक मात्र गरेनन्, नेताहरू नेपाल, झलनाथ खनाल र बामदेव गौतमसँग मिलेर ओलीको एकलौटीविरूद्ध छलफल गरे। त्यही झम्सिखेल बैठकमा वामदेव गौतमले ओलीलाई एक्ल्याउनु पर्ने प्रस्ताव नै राखेका थिए। समय नआइसकेको भन्दै प्रचण्ड र नेपालले थापथुप पारे।
आफूविरूद्ध सबै प्रमुख नेता गोलबद्ध हुन थालेपछि प्रचण्ड र नेपाललाई अलगथलग बनाउन ओलीले उपचारका लागि सिंगापुर जानुअघि प्रचण्ड र गौतमलाई आश्वस्त पारेका थिए।
उपचार गरेर फर्किएपछि पनि प्रधानमन्त्री ओलीले पहिलेका वाचा पूरा नगरेपछि प्रचण्ड, नेपाल, गौतम फेरि नजिकिएका छन्।
गौतमले अब पार्टीको बैठकमै औपचारिक रूपमा प्रधानमन्त्री ओलीसँग कुरा गर्नु पर्ने विचार राखिरहेको एक नेताले बताए।
‘अब सिधै पार्टीको बैठकमा प्रस्ताव लिएर जाऔं, प्रधानमन्त्रीले नमाने त्यहीअनुसार कदम चालौं,’ गौतमलाई उद्धृत गर्दै ती नेताले भने।
प्रचण्ड, नेपाल, गौतमलगायतका नेता फेरि गोलबद्ध हुन थालेपछि प्रधानमन्त्री ओलीले के रणनीति अपनाउँछन् प्रष्ट छैन।
उनले माधव नेपाललाई भेटेर पार्टी मिलाएर जाने मनसुवा व्यक्त गरेका त छन्, तर त्यसमा प्रतिबद्ध छन् भन्नेमा शंका रहेको एक नेताले बताए।
‘आफू एक्लो पर्ने छाँट देखेपछि घरि एउटालाई, घरि अर्कोलाई फकाउने उहाँको पुरानै रणनीति हो,’ उनले भने।
अगाडि कसरी बढ्ने भनेर प्रधानमन्त्री ओलीसँग तीन विकल्प छन्।
पहिलो, प्रचण्ड र नेपालको सामना गर्ने। दोस्रो, दाहाल वा नेपाल एकजनासँग मिल्ने। तेस्रो, अहिले विवाद नचर्काउने, पार्टीमा अलि अलि मिलाएर असन्तोष मथ्थर पार्ने।
केही समयअघिसम्म ओली पक्ष प्रचण्ड र नेपाल दुबै एक ठाउँ उभिए पनि उनीहरूको सामना गर्न सकिन्छ भन्नेमा विश्वस्त देखिन्थ्यो।
गौतमलाई उपाध्यक्ष प्रस्तावसँगै उनी आफ्नो पक्षमा आएको उनीहरूको विश्वास थियो। अहिले पनि स्थायी समितिबाट उनको उपाध्यक्षको पद स्वीकृत नभएकाले मात्र उनी प्रचण्ड र नेपालसँग नजिक देखिएको उनीहरूको दाबी छ।
बरियताको विवाद मिलाएपछि झलनाथ खनाल पनि ओलीसँगै नजिक रहेको प्रधानमन्त्री निकट एक नेताले बताए। त्यसमाथि खनालका आँखा विद्या भण्डारीपछि राष्ट्रपति पदमा रहेकाले पनि उनले ओलीलाई चिढ्याउन नसक्ने उनीहरूको आँकलन छ।
पूर्वमाओवादीका नेताहरू रामबहादुर थापा, बर्षमान पुन र शक्तिबहादुर बस्नेतले पनि मन्त्री रहुन्जेल ओलीलाई छाडेर नजाने उनीहरूको निष्कर्ष छ।
नेकपामा शक्ति सन्तुलन तलमाथि पर्नेबित्तिकै व्यक्तिगत सामिप्य उलटपुलट हुन्छन्। प्राय: नेता कार्यकर्ता शक्ति सन्तुलन जता ढल्किन्छ, त्यतैतिर जान्छन्।
त्यसैले प्रधानमन्त्रीको एकलौटी अव सम्भव नहुने नेपालनिकट एक नेता बताउँछन्।
‘त्यो अब सम्भव छैन,’ उनले भने, ‘उनलाई मात्र चलाउन अब न नेपालले दिनेछन्, न दाहालले।’
ओलीको दोस्रो विकल्प हो- दाहाल र नेपालमध्ये एकलाई साथ लिएर अघि बढ्ने। तर त्यसका लागि पनि दाहाल वा नेपाल एक जना तयार हुनुपर्यो।
पार्टी एकीकरण पछिको झन्डै एक वर्ष दाहाल र नेपाल दुबै ओलीले अन्तत: आफूलाई नै आफ्नो उत्तराधिकारी छान्छन् भन्ने अपेक्षामा बसे।
ओलीसँग मिलेर पार्टी एकीकरण गरेको र आलोपालोको लिखित सहमति पनि गरेकाले दाहाललाई अन्तत: ओलीले आफूसँगै सहकार्य गर्नेछन्, पार्टीको नेतृत्व आफैंकहाँ आउनेछ भन्ने विश्वास थियो।
अर्कातिर नेपाल पनि ओलीले एमालेको मूल प्रवाहभन्दा बाहिर नेतृत्व सुम्पदैनन् भन्ने विश्वासमा थिए।
ओलीले आफूहरूलाई पार्टीको नेतृत्व सुम्पन्छन् भन्नेमा अब दाहाल र नेपाल दुबैको विश्वास छैन। त्यसमाथि भर्खरै प्रधानमन्त्रीबाट धोका पाएका दाहाल र व्यक्तिगत तवरमै ‘ह्युमिलिएट’ गरिएका नेपालले यति चाँडै फेरी ओलीलाई विश्वास गर्ने वातावरण पनि छैन।
‘अब दुईमध्ये एक फर्किएर ओलीकहाँ जाने चरण पनि सकियो,’ एक नेताले भने, ‘तर उहाँहरू दुबै एक भएर प्रधानमन्त्री ओलीको सामना गर्न पुरै आँट गरेको पनि देखिन्न।’
प्रधानमन्त्रीका ओलीका लागि त्यसैले अहिलेको सहज बाटो भनेको तेस्रो विकल्प हो- तत्काललाई पार्टी मिलाएर लैजाने। दाहाल र नेपाल दुबै पक्षलाई पार्टी र सरकारमा समेट्ने र महाधिवेशनसम्म हेर्ने रणनीति बनाउने।
प्रधानमन्त्रीको स्वास्थ्यले पनि उनलाई त्यतैतिर लैजाने स्थिति बन्दैछ।
निकट पार्टी नेता र डाक्टरसँग पनि ओलीले फेरि एक पटक मिर्गौला प्रत्यारोपण गर्न चाहेको संकेत गरेका छन्। त्यसका लागि उनलाई तीन, चार महिनाको समय चाहिन सक्छ।
आफूले सक्रिय रूपले पार्टी र सरकार चलाउन कठिन हुने त्यो समयका लागि पनि उनले पार्टीभित्र तत्काल सुलह गर्नु जरूरी छ।
त्यसकारण केही अघिसम्म एकलौटी रूपमा मन्त्रिमण्डल पुनर्गठन गर्ने सोच बनाएका प्रधानमन्त्री अहिले सबैसँगको छलफलमा मन्त्री फेरबदल गर्ने तयारी गरेका छन्।
मन्त्रिमण्डलको पुनर्गठनसँगै दाहाललाई पार्टी र ईश्वर पोखरेललाई सरकारको कामको जिम्मा दिएर प्रधानमन्त्री उपचारका लागि बाहिर जान सक्ने नेताहरूले बताएका छन्।
यतिले मात्र पार्टीमा ओलीको एकलौटी वर्चश्व सकिएको निष्कर्षमा पुग्न भने हतारो हुन्छ। उपचारपछि उनको स्वास्थ्य ठीक भयो भने त्यसपछि ओलीले कस्तो कदम चाल्छन् त्यसले मात्र पार्टीभित्रको शक्ति सन्तुलनको टुंगो लगाउनेछ।